राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले दिए संविधान दिवसको शुभकामना, कसले के भने ?

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ३ गते ८:१४
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले दिए संविधान दिवसको शुभकामना, कसले के भने ?

काठमाडौँ – नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।

दिवसको अवसरमा राष्ट्रपतिदेखि प्रधानमन्त्री र सभामुखसम्मले शुभकामना दिएका छन् । दलका नेताहरूले पनि दिवसका अवसरमा शुभकामना आदान प्रदान गरिरहेका छन् ।

संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति उनले सम्मान प्रकट गरेकी छन् ।

संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य सर्त : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य सर्त भएको बताएका छन् । संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले संविधान पालनमा केही चुनौतीहरु देखापरे तापनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था बताएका छन्।

संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने बताए। उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षका रुपमा रहेका आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई महान् उत्सवका रुपमा लिएर सहभागिता जनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गरेका छन् ।

उनले संविधानको पूर्ण पालना गर्दै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती, राष्ट्रिय एकताको सुदृढी र समतामूलक समाजसहितको समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई प्रेरणा देओस् भनी कामना गरेका छन्।

संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिँदै नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेको उल्लेख गरिन् ।

संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पणसमेत गरेका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।

कांग्रेस नेतृत्वको सरकार मुलुकमा सङ्घीय लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनको भनाइ छ ।

संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम् समझदारी आवश्यक : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम् समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विवादलाई संवादमा रुपान्तरण गर्न, राष्ट्रिय एकता कायम गर्न र संविधानको निष्ठापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले संविधानमा लिपिबद्ध हकअधिकार कार्यान्वयनका लागि पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह गरेका छन् । नेपाली जनताको दशकौँ लामो अनवरत सङ्घर्षको परिणामका रुपमा प्राप्त भएको नेपालको संविधान लागू भएको सात वर्ष पूरा भएको जनाउँदै उनले संविधान जारी गरिएको यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवम् विभिन्न कालखण्डमा भएका सङ्घर्षमा जीवन अर्पण गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण रेका छन् ।

संविधान जारी भएपछि सङ्घीय संसद्, प्रतिनिधिसभाको पहिलो कार्यकाल पूरा हुने चरणमा रहेको जनाउँदै उनले भनेका छन्, ‘यस अवधिमा संविधान रक्षाका लागि अनेक पहल पनि भए । हामीले लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन पनि गरेका छौँ । संविधानमा मूलभूत लोकतान्त्रिक मूल्यमान्यता समेटिएका छन् । यसबीचमा भएका कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध हुँदै जाने नै छ ।’

प्रकाशित : २०७९ असोज ३ गते ८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI