नवलपुरमा मापदण्ड विपरित मेडिकल र फर्मेसी सञ्चालन

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक ४ गते १५:४०
नवलपुरमा मापदण्ड विपरित मेडिकल र फर्मेसी सञ्चालन

नवलपुर ।
नागरिकबाट औषधी पसल र मेडिकलले लापर्वाही गरिरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरले विहिबार २ वटा मेडिकल र औषधी पसल शिल गरेको छ । भने १ वटा लाई ३ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको टोलीले स्वास्थ्य मापदण्ड विपरित सञ्चालनमा आएको, म्याद गुज्रेका औषधी बिक्री वितरण गरेको सरसफाइमा ध्यान नदिएको साथै प्राबिधिक पक्षमा पनि त्रुटि देखिएकाले औषधी पसल र मेडिकल शिल गरेको होे ।
अनुगमनमा मध्यविन्दु ७ चोरमारामा रहेको जनता हेल्थ केयर क्लिनिक शिल गरिएको छ । २४ औँ घण्टा आकस्मिक सेवा, ओपिडि सेवा, बिशेषज्ञ सेवा उपलब्ध गराउने भनिएता पनि हप्तामा एकदिन मात्र बिशेषज्ञको सेवा उपलब्ध भइरहेको र सो क्लिनिकले म्याद गुज्रेका औषधी बिक्री वितरण गरेको थियो ।
यस्तै सेवा फार्मेसी पनि अनुगमनकै क्रममा शिल गरिएको छ । सुनिता चौधरीको नाममा दर्ता भएको फार्मेसीमा प्रतिनिधिमार्फत सेवा उपलब्ध थियो । साथै विल दिने व्यवस्था नगरिएको सो फार्मेसीमा म्याद गुज्रेका औषधी बिक्री वितरण गरि नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड भएकाले फार्मेसी शिल गरिएको जनाइएको छ ।
यस्तै मध्यविन्दु ७ चोरमाराकै माया स्वास्थ्य क्लिनिकमा चिकित्सकिय सेवा उपलब्ध भएकाले अन्य मापदण्ड पुरा गर्न सचेत गराईएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा ३ दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको बताउनुभयो ।
घिमिरेले नवलपुरमा ३ वटा औषधी पसलको अनुगमनमा २ वटा शिल गर्नुपर्ने र एउटामा सुधार गर्नुपर्ने देखिनु दुखद भएको बताउदै नागरिकको स्वास्थ्यमाथी खेलवाड गर्ने छुट कसैलाई नहुने बताउनुभयो । उहाँले शिल गर्ने देखि कडा भन्दा कडा कारर्वाहि गरिने पनि चेतावनी दिनुभएको छ । उहाँले बढि मात्रामा सरसफाई, ओपिडि व्यवस्थापन जस्तो सामान्य कुरामा पनि ध्यान दिन नसकेको पाइएको बताउनुभयो । जनता हेल्थ केयर क्लिनिक र सेवा फार्मेसीले ७ दिनभित्र उपस्थित भएर मापदण्ड सहित सञ्चालन गर्ने बिधि प्रक्रियामा नगए सधैका लागि शिल हुने उहाँको भनाई छ ।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक भुवनेश्वर तिवारी, जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाई, मध्यविन्दु जिल्ला अस्पतालका डा. अर्जुन महतो, आन्तरिक राजस्व कार्यालय, मध्यविन्दु नगरपालिका प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७९ कार्तिक ४ गते १५:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI