चितवन निकुञ्जमा पर्यटक बढे

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २० गते ११:५०
चितवन निकुञ्जमा पर्यटक बढे

चितवन — वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तब्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्यामा सुधार हुन थालेपछि व्यवसायी उत्साहित छन् । यो आर्थिक वर्ष सुरु भएयता साउन, भदौ र असोज तीन महिनामा ३५ हजार ४ सय ४५ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

गत आर्थिक वर्ष यो अवधिमा जम्मा १० हजार ७ सय १८ जनाले निकुञ्ज घुमेका थिए । यो वर्ष विदेशी पर्यटकको संख्यमा पनि सुधार देखिएको छ । निकुञ्जबाट प्राप्त विवरण अनुसार गत तीन महिनामा भारतीय र अन्य विदेशीसमेत गरेर कुल नौ हजार ८४९ जनाले निकुञ्ज घुमेका छन् । अघिल्लो वर्ष तीन महिनामा ५२१ जना विदेशीले निकुञ्ज भ्रमण गरेका थिए ।
कोरोना कहर सामान्य हुँदै गर्दा निकुञ्जमा विदेशी पर्यटकको आउजाउ बढेको यो विवरणले देखाउँछ । असोजयता पनि पर्यटकको संख्या बढेको सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितेन्द्र तमाङले बताए । पर्व र विदाका कारण कात्तिक १३ आइतबार एकै दिन १५ सय जनाले सामुदायिक वन घुमेको अध्यक्ष तमाङले बताए । यसअघि असोज १८ मा एकै दिन हजार जना आएका थिए ।

निकुञ्ज आडमा भएका कारण यो वनमा हात्ती चढेर डुल्दा गैंडा, चित्तलको बथान लगायतका वन्यजन्तु देख्न पाइन्छ । यो वन र निकुञ्जबीच भएर बग्ने बुढीराप्ती खोलामा डुंगा सयर गर्दा दुर्लभ घडियाल गोही र अनेकौं चराहरू देखा पर्दछन् । सामान्य अवस्थामा यो वनमा हात्ती र डुंगा चढ्न दिनमा औसत तीन सयको हाराहारीमा पर्यटक आउँछन् ।

‘घुम्न आउनेको सख्या पर्वमा र बिदामा बढ्छ, अरु बेला सामान्य रहन्छ’ तमाङले भने । संख्यामा बिस्तारै सुधार आए पनि पर्यटन व्यवसाय कोरोना कालभन्दा अघिको अवस्थामा अझै नफर्केको उनले सुनाए । क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष रहेका होटल सेभेनका सञ्चालक माधव दुवाडीले पनि स्वदेशी पर्यटकको संख्यामा राम्रो सुधार भए पनि विदेशीको संख्या फाट्टफुट्ट देखिएको बताए ।

‘पर्यटन क्षेत्रको अवस्था सुधारोन्मुख छ । तर सन्तोषजनक अझै छैन । यो बेला भारतीयहरू राम्रो संख्यामा आउनुपर्ने हो । तर दसैंका बेलामा भारी बर्खा भयो । भारतीयहरू सुनौली हुँदै आउने बुटवल नारायणगढ सडकको दुरवस्थाले पनि असर गरेको छ’ कोषाध्यक्ष दुवाडीले भने । सौराहाको पार्क सफारी रिसोर्टका सञ्चालक रहेका महेश खनालले पर्यटकको संख्या बढ्न थालेको हुँदा व्यवसायीले राहत अनुभव गरेको बताए ।

‘कोरोना सुरु भएपछिका दुई वर्ष हाम्रा लागि निकै कष्टकर रहयो । महिनौं होटल सुनसान रहे । अहिले संख्या बढेको छ । युरोपियनहरू पनि आउन थालेका छन् । यो सुखद अवस्था हो,’ पर्यटन व्यवसायी खनालले भने । अघिल्ला वर्षमा असोजपछि पर्यटकको संख्या बढ्दै जाने गर्दथ्यो । यो वर्ष पनि बढ्दै जाने व्यवसायी बताउँछन् । निकुञ्ज आएका पर्यटक दुर्लभ वन्यजन्तु बाघ, गैंडा, र अन्य जिव जनावर हेर्न रुचाउँछन् ।

विदेशी पर्यटकलाई निकुञ्ज आडमा बस्ने चितवनका आदिवासी थारु, दराई, बोटे, कुमाल समुदायको संस्कार संस्कृतिले पनि आकर्षित गर्दछ । ‘सौराहामा एकै खाले गतिविधि मात्रै हैन अन्य गतिविधि पनि थपिएका छन् भन्ने सन्देश पर्यटक माझ पुर्‍याउनु छ’ खनालले भने ।

प्रकाशित : २०७९ कार्तिक २० गते ११:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI