फिफा विश्वकपः अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १५ गते ६:५५
फिफा विश्वकपः अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

नवलपुर  । अर्जेन्टिना र पोल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् । अर्जेन्टिना समूह ‘सी’ को विजेता तथा पोल्यान्ड उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोल अन्तरले पराजित गर्‍यो । अर्जेन्टिनालाई जित दिलाउन अलेक्सिस म्याक अलिस्टरले ४६ औँ तथा जुलियन अल्भारेजले ६७ औँ मिनेटमा एक-एक गोल गरे ।

अर्जेन्टिनाले समग्रमा ३ खेलमध्ये २ खेल जित्दै ६ अंक जोड्यो ।

यता अर्जेन्टिनासँग पराजित भएपनि तीनमध्ये एक जित, एक बराबरी र एक पराजयको नतिजा निकालेर पोल्यान्डले समग्रमा चार अंक जोड्यो । पोल्यान्ड उपविजेता बन्यो ।

यता मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरेर तीन खेलबाट ४ अंक जोडेपनि प्रतियोगिताबाट बाहिरिन पुग्यो । गोलअन्तरका आधारमा पोल्यान्ड भन्दा पछि पर्दा मेक्सिको बाहिरिएको हो ।

अर्कोतर्फ ३ मध्ये केवल एक खेल मात्र जितेर ३ अंक जोडेको साउदी अरेबिया पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

साउदी अरेबियाविरुद्ध मेक्सिकोलाई जित दिलाउन हेनरी मार्टिनले ४७ औँ तथा लुइस चाभेजले ५२ औँ मिनेटमा एक-एक गोल गरे । साउदी अरेबियाका लागि सालेम अल्डावासरीले दोस्रो हाफको इन्जुरी समयमा एक गोल फर्काए ।

प्रकाशित : २०७९ मंसिर १५ गते ६:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI