जर्मनी बाहिरिँदा जापान समूह विजेता, स्पेन पनि नकआउट चरणमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १६ गते ११:१२
जर्मनी बाहिरिँदा जापान समूह विजेता, स्पेन पनि नकआउट चरणमा

कावासोती । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘ई’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह चरणअन्तर्गत आज भएका अन्तिम खेलपछि ६ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।

समूह चरणको अन्तिम खेलमा ४–२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरे पनि जर्मनी समूह चरणबाट बाहिरियो । स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो ।

जापन र स्पेनबीचको खेलको ११ औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८ औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसको तीन मिनेटपछि अर्थात खेलको ५१ औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २–१ को अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो ।

सोही समूहको आजै भएको अर्को खेलमा जर्मनी ४–२ गोल अन्तरले  कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको दशौँ मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए ।

खेलको ५८ औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७० औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए ।

जर्मनीका लागि काइ हाभर्टेजले ७३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५ औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३–२ को अग्रता दिलाए । साथै, खेलको ८९ औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे ।

प्रकाशित : २०७९ मंसिर १६ गते ११:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI