विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम ४ हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १६ गते १२:४६
विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम ४ हुँदै

कावासोती । विश्वकप फुटबलमा आज (शुक्रबार) समूह चरणका अन्तिम खेल हुँदैछन्। समूह चरणको अन्तिम खेल अन्तर्गत समूह ‘जी’  र ‘एच’ का दुई–दुई खेल हुँदैछन्।

पहिलो खेल समूह ‘एच’ का चार टोलीबीच राति ८:४५ हुँदैछ। यो समूहका दक्षिण कोरिया र पोर्चुगल आमनेसामने हुँदैछन्। यी दुई टोलीको खेल एजुकेशन सिटी रंगशालामा हुनेछ।

दुई खेलबाट १ अंक जोडेको दक्षिण कोरियालाई अर्को चरणमा जानका लागि आजको खेल जित्नैपर्ने हुन्छ। आफ्नो जितले मात्रै कोरियालाई अर्को चरणमा जाने बाटो खुल्दैन। यही समूहका उरुग्वे र घानाबीचको खेलको नतिजामा समेत भर पर्नुपर्ने हुन्छ। पोर्चुगल भने यसअघिका दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ।

यही समूहको अर्को खेल राति ८:४५ बजे नै उरुग्वे र घानाबीच हुँदैछ। उरुग्वे १ अंक जोडेर पुछारमा छ भने घानाको ३ अंक छ। अर्को चरणमा जानका लागि उरुग्वेलाई पनि जिन्नै पर्ने र पोर्चुगल र दक्षिण कोरियाबीचको खेलको नतिजा समेत कुर्नपर्ने हुन्छ।

घाना भने बराबरी गरेको अवस्थामा समेत अर्को चरण जानसक्ने सम्भावना रहन्छ। त्यसका लागि यही समूहको पोर्चुगल र दक्षिण कोरियाको खेलमा कोरिया हार्नु वा बराबरीमा रोकिनु पर्ने हुन्छ।

आजकै अर्को खेल राति १२:४५ बजे समूह ‘जी’का क्यामरुन भर्सेस ब्राजिल र सर्बिया भर्सेस स्वीट्जरल्याण्डबीच हुनेछ। यसअघिका दुई खेल जित्दै ६ अंक जोडेर ब्राजिल नकआउट चरणमा प्रवेश गरिसकेको छ।

क्यारुनको भने १ अंक छ। अर्को चरण प्रवेश गर्नका लागि क्यामरुनलाई जित्नै पर्ने हुन्छ। जितले मात्रै पनि क्यामरुनको अर्को चरण प्रवेश सम्भव नभएर स्वीट्जरल्याण्ड र सर्बियाबीचको खेलको नतिजा समेत कुर्नुपर्ने हुन्छ।

यही समूहको अर्को खेलमा सर्बिया र स्वीट्जरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। स्वीट्जरल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ भने सर्बिया १ अंकसहित पुछारमा छ।

अर्को चरणमा जान सर्बियालाई जित्नै पर्ने र ब्राजिल र क्यामरुनबीचको नतिजामा भर पर्नुपर्ने हुन्छ। बराबरी खेलेको अवस्थामा समेत अर्को चरण जाने सम्भावना कायम राखेको स्वीट्जरल्याण्डले बराबरी खेलेको अवस्थामा यही समूहका क्यामरुन र ब्राजिलको नतिजा कुर्नुपर्छ।

प्रकाशित : २०७९ मंसिर १६ गते १२:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI