`गजलसँग…´८औं शृङ्खला गुञ्जिए गजल

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २४ गते १९:२२
`गजलसँग…´८औं शृङ्खला गुञ्जिए गजल

भरतपुर । नियमित गजल वाचन कार्यक्रम `गजलसँग…´ को ८औँ शृङ्खलामा आदर्श सुशील, ऋद्धिमा रिजाल, परिविक्रम र प्रतीक्षा पोखरेल प्रस्तुत भएका छन् ।

गजल मञ्च चितवनले शनिबार चितवन साहित्य परिषद् नारायणगढमा आयोजना गरेको कार्यक्रममा ४ जना स्रस्टाले गजल प्रस्तुत गरे ।

तिमी एकपटक मुस्कुराएको हेर्ने रहर छ
आँखा बन्द गर्नु अगाडि यो संसारबाट ।

नवलपरासीका स्रस्टा आदर्श सुशीलले गजलका शेरहरूमार्फत माहोललाई गुञ्जायमान गराए । सुशीलले पहिलो चरणमा तीन, दोस्रो चरणमा दुई र अन्तिममा एउटा गजल प्रस्तुत गरे । सुशील गजल लेखनसँगै पत्रकारितामा सक्रिय छन् । ४ जना स्रस्टाले कार्यक्रममा ६/६ वटा गजल प्रस्तुत गरे ।

म्याग्दीबाट आएकी अर्की स्रस्टा ऋद्धिमा रिजालले पनि गजलमार्फत माहोललाई आफ्नो कब्जामा पारिन् । रिजालले प्रेममय भाव र सामाजिक विसयमा लेखिएका गजल प्रस्तुत गरिन् ।

छैन आफ्नै घर सुरक्षित, जन्मिँदै बैरी छ संसार
आजकल सीता हरणकै निम्ति रावण चाहिँदैन

कास्की, नागडाँडाका परिविक्रमले पनि ६ वटा गजल सुनाए । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत उनलाई स्रोता दर्शकले पनि गजलमा सँगसँगै गुनगुनाएर साथ दिएका थिए ।

टन्नै भरेर आँसु आँखा दियो नबिर्सी
सम्झेन ओठलाई हाँसो थमाउनेले ।

नवलपरासी कै स्रस्टा प्रतीक्षा पोखरेलले पनि केही गजल वाचन गरिन् भने केही गुनगुनाइन् । पोखरेललाई पनि स्रोताले उत्तिकै साथ दिएका थिए । पोखरेल नेपाल टेलिकम भरतपुरमा कार्यरत छन् ।

स्वतन्त्रता छैन त्यो नदीलाई पनि
हेर दुई किनार कसले बनायो ।

वि.सं. २०६३ सालमा स्थापना भएको गजल मञ्च चितवन यस क्षेत्रमा गजल गतिविधि गर्नमा क्रियाशील छ । कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष धनराज गिरी र किसान प्रेमीले पनि बोलेका थिए । कार्यक्रमको सुरुवातमामा उपाध्यक्ष रामकृष्ण अनायासले स्वागत मन्तव्य राख्दै दिवंगत पूर्वअध्यक्ष द्वारिका नेपाललाई स्मरण गर्दै उनको गजल वाचन गरेका थिए । सचिव सरगम पारुले सञ्चालन गरेको कार्यक्रम लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : २०७९ मंसिर २४ गते १९:२२
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI