पुर्वाधार र जनशक्तिको अभावमा जिल्ला अस्पतालको सेवा प्रवाहामा समस्या

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष ७ गते १२:४०
पुर्वाधार र जनशक्तिको अभावमा जिल्ला अस्पतालको सेवा प्रवाहामा समस्या

कावासोती, ७ पुस (रासस) :

पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

१५ शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।

कुल ३१ जनाको दरबन्दी रहेको अस्पतालमा अहिले १३ जना मात्रै दरबन्दीमा कार्यरत रहेका बाँकी करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारीको भरमा सेवा दिँदै आएको सुवेदीले बताउनुभयो ।

सुवेदीका अनुसार हाल अस्पतालमा दरबन्दी, करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारी गरेर एक सय १८ जना कार्यरत रहेका छन् । जसमध्ये ५४ जना दरबन्दी, छात्रवृत्तिमा आएका चिकित्सक र नर्स र विभिन्न कार्यक्रमका प्राविधिक र अप्राविधिक कर्मचारीबाहेक ६४ जनाको खर्च अस्पताल व्यवस्थापन समितिले व्यहोर्नुपर्ने भएकाले पनि अस्पताललाई थप आर्थिक भार परेको हो ।

अस्पतालमा जनशक्ति मात्रै होइन पूर्वाधारको समेत उस्तै समस्या रहेको सूचना अधिकारी सुवेदीको भनाइ छ । अस्पतालसाविकको मध्यबिन्दु सामुदायिक स्मृति अस्पताल जुन धनधाञ्यान्चल ज्ञान महायज्ञ गरेर स्थापना गरिएको थियो त्यसैको पुरानै भवनमै सञ्चालित छ ।

भवन अभावका कारण अस्पतालमा रहेको आइसियु र भेन्टिलेटर सेवासमेत बन्द भएको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणकालमा समेत सञ्चालनमा आएको आइसियु र भेन्टिलेटरका जनशक्ति र भवनको अभावमा बन्द गर्नुपरेको छ ।

अस्पतालमा गत मङ्सिर १३ गतेदेखि मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा सुरु गरिए पनि जनशक्तिको अभावमा एक सिफ्टमा मात्रै सञ्चालनमा आएको छ । डायलाइसिस गर्नुपर्ने ७० जना बिरामी सम्पर्कमा आएको भए पनि जनशक्तिको अभावमा एक सिफ्टमा नौ जनालाई मात्र सेवा दिन सकिएको सुवेदीले बताउनुभयो । अस्पतालले डायलाइसिस गर्ने चार वटा मेसिनमध्ये तीन वटाबाट एक सिफ्ट मात्रै सेवा दिन सुरु गरेको हो ।

यो अस्पताल क्षयरोग बिरामीको रिफरल सेन्टरसमेत हो । यहाँ क्षयरोग लागेका विरामीलाई आवासीय उपचार पनि हुँदै आएको छ । दामिनी फाउन्डेसनको सहयोगमा निर्मित रिफरल सेन्टरमा अहिले क्षयरोगका १६ जना बिरामीले आवासीय रुपमा उपचार गराउँदै आएका छन् ।

जिल्ला अस्पतालमा बिरामीको चाप बढेकाले जनशक्ति र पूर्वाधार थप गर्न प्रदेश र सङ्घीय सरकारसँग आवश्यक पहल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।

“जनशक्ति थप्नका प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ”, अध्यक्ष घिमिरेले भन्नुभयो । जर्मन संस्था र नेपाल सरकारको संयुक्त लगानीमा अहिले भवन बनिरहेको र त्यसलाई पूरा गर्न करिब रु चार करोड बजेट आवश्यक रहेको र त्यसका लागि पनि प्रदेश सरकारसँग माग गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रकाशित : २०७९ पुष ७ गते १२:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI