कावासोतीका सामुदायिक विद्यालयमा दिवा खाजामा आफ्नै करेसाबारीको जैविक तरकारी

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष ८ गते १३:४३
कावासोतीका सामुदायिक विद्यालयमा दिवा खाजामा आफ्नै करेसाबारीको जैविक तरकारी

कावासोती, ८ पुस (रासस) : पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका सामुदायिक विद्यालयले दिवा खाजामा विद्यालयकै करेसाबारीमा उत्पादन भएका तरकारीको प्रयोग गर्ने गरेका छन् । नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भएका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका जैविक तरकारीको प्रयोग बढाएका हुन् ।

कावासोती–१ मा अवस्थित महाराजा आधारभूत विद्यालयले नगरपालिकाको सहयोगमा करिब दुई कट्ठामा तरकारी खेती गरेको प्रधानाध्यापक बिमला श्रेष्ठले बताउनुभयो । विद्यार्थीको प्रयास तथा शिक्षकको निगरानीमा उत्पादन गरिउको तरकारी नै दिवा खाजामा प्रयोग हुने उहाँले बताउनुभयो । गतवर्ष करेसाबारीमा उत्पादित तरकारी दिवा खाजामा प्रयोग गरी बाँकी रहेको तरकारी बिक्रीबाट विद्यालयले रु चार हजार पाँच सयको बिक्री गरेको उहाँले बताउनुभयो । उक्त रकम कोषमा जम्मा गरिएको छ । करेसाबारी कार्यक्रमबाट उत्पादन भएको तरकारीले दिवा खाजालाई सहयोग पु¥याएको र विद्यार्थीलाई जैविक तरकारी खेतीको महत्व बुझाइएको प्रअ श्रेष्ठको भनाइ छ । करेसाबारी कार्यक्रमबाट कक्षा ५ मा पढने युवराज थापा र मनिसा सिञ्जालीले घरमा समेत विद्यालयबाट सिकेको सीप घरमा प्रयोग गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कावासोती–३ मै रहेको अर्को विद्यालय जीवनज्योति माविले पनि करिब डेढकट्ठा क्षेत्रफलमा गत वर्षबाट करेसाबारी बनाएर तरकारी खेती सुरु गरेको थियो । गतवर्ष उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गरेर करिब रु १२ हजारको तरकारी बिक्री गर्न सफल भएको विद्यालयकी प्रधानाध्यापक सुमित्रा लम्सालले बताउनुभयो । करेसाबारी निर्माण तथा तरकारी खेतीमा विद्यार्थी नै सक्रियपूर्वक सहभागी हुने गरेको र यसले विद्यार्थीलाई माटो तथा श्रमसँग जोड्न सफल भएको उहाँको भनाइ छ ।

नगरपालिकाको शिक्षा शाखाले विद्यालयबाट प्रस्ताव मागअनुसार स्वीकृत भएका विद्यालयलाई बिउ पुँजीका रुपमा रु २५ हजार अनुदान दिने गरेका शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । नगरपालिकाले पहिलो वर्ष दुई विद्यालय र दोस्रो वर्ष आठ विद्यालयमा यो कार्यक्रम सुरु गरेको छ । साथै यस वर्ष १० विद्यालयमा कार्यक्रममा सञ्चालन हुने पाण्डेले बताउनुभयो । प्रस्तावना स्वीकृत नभएका अन्य विद्यालयले पनि आफ्नै व्यवस्थापनमा करेसाबारी बनाएर तरकारी उत्पादन सुरु गरेको उहाँको भनाइ छ । कृषि ज्ञान केन्द्र र नगरपालिकाको कृषि शाखाको प्राविधिक सहयोगमा विद्यालयमा करेसाबारी निर्माणलाई अगाडि बढाइएको हो । कृषि प्राविधिकले विद्यालयमै पुगेर शिक्षक र विद्यार्थीेलाई करेसाबारी निर्माणमा सहयोग गर्ने गरेको अधिकृत पाण्डेले बताउनु्भयो ।

जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा सञ्चालन भएको विद्यालयमा करेसाबारी कार्यक्रमले शिक्षक र विद्यार्थीलाई अध्ययनसँगै श्रमसँग जोड्न सफल भएको छ । विद्यालयमा खुवाइने दिवा खाजामा आफैले उत्पादन गरेको जैविक तरकारी प्रयोग हुँदा खाजाको गुणस्तरमा समेत वृद्धि भएको सरोकारवाला बताउँछन् । नगरपालिकाभित्र ४० सामुदायिक विद्यालय छन् ।

प्रकाशित : २०७९ पुष ८ गते १३:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI