सहिद पार्कमा राखिएका भाइरल पाटेबाघका मूर्तिको वास्तविकता

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २० गते १२:२१
सहिद पार्कमा राखिएका भाइरल पाटेबाघका मूर्तिको वास्तविकता

सुर्खेत- सुर्खेतको सहिद पार्कमा निर्माण गरिएका पाटेबाघका मूर्ति सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

ती मूर्ति निर्माणबारे धेरै रकम खर्चेर अनावश्यक बनाइएको भनेर धेरैले चर्चा गरिरहेका छन् भने कतिपयले यी मूर्ति बनाउन १३ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन् ।

सुर्खेत वीरेन्द्रनगरमा रहेको भैरव सामुदायिक वन क्षेत्रमा रहेको पर्यटकीय स्थल सहिद पार्कमा राख्नका लागि पार्क व्यवस्थापन समितिले पाटेबाघको मूर्ति बनाएको हो । केही समय पहिले बनाएको एउटा मूर्ति टुक्रिन थालेपछि समितिले अर्को मूर्ति बनाएको जनाएको छ ।

उक्त पार्क सञ्चालनको जिम्मा भैरव सामुदायिक वनले लिएको छ । भैरव सामुदायिक वनका अध्यक्ष तथा वीरेन्द्रनगर–४ का वडा सदस्य अम्मरबहादुर कार्कीले अहिले भाइरल बनेको मूर्ति बनाउन ५० हजार रुपैयाँ खर्च भएको बताएका छन् ।

सहिद पार्कको गेटमा राखिएको महिलाको मूर्ति र पछिल्लो पटक बनाइएको पाटेबाघको मूर्ति गरी कूल एक लाख पाँच हजार रुपैयाँ खर्च भएको अध्यक्ष कार्कीले जानकारी दिए । उनले पहिले बनाएको मूर्ति गुणस्तरीय नदेखिएका कारण पछि ५० हजार रकम कालिगढलाई दिएर नयाँ मूर्ति निर्माण गरिएको स्पष्ट पारे ।

सामाजिक सञ्जालमा भाइरल दुई वटा बाघमध्ये सानो (दायाँपट्टी) बाघ वीरेन्द्रनगरको फलाँटे भन्ने ठाउँमा एक जना कालिगढले ४० हजार रुपैयाँमा बनाएका हुन् । उनले आफैँले ‘म बनाउँछु’ भनेपछि वन समितिले उनलाई बनाउने जिम्मा दिएको थियो । उनले बनाएको बाघको मूर्ति त्यत्ति राम्रो नभएपछि अर्काे मूर्ति निर्माण गरिएको कार्कीले बताए ।

वन समितिका अध्यक्ष कार्कीका अनुसार ती कालिगढले ढुङ्गा जोडेर सो मूर्ति बनाएका थिए । ‘तर, पार्कमा राखिएको ४–५ महिनामै भाँचियो । ती कालिगढले पुनः मर्मत गरे पनि दुई महिनामै भाँचियो,’ उनले भने, ‘त्यत्ति राम्रो नभएपछि ३५ हजार मात्रै भुक्तानी गरिएको हो ।’

१३ लाख भनेर गलत सूचनालाई भाइरल गराइएको उनको भनाइ छ । सहिद पार्कमा आउने पर्यटकबाट लिइने शुल्कबाट जम्मा भएको रकमले बाघका दुई वटा मूर्ति समितिले बनाएको अध्यक्ष कार्कीले दाबी गरे । पार्कमा प्रवेशका लागि प्रतिव्यक्ति २० रुपैयाँ लिइन्छ ।

‘हामीले एकैपटक यी दुइटा मूर्ति बनाएका थियौं, यसको जम्मा खर्च १ लाख ५ हजार मात्र छ,’ कार्कीले भने, ‘अहिले त्यो मूर्तिलाई अनावश्यक रूपमा भाइरल बनाइएको छ ।’

उनका अनुसार उक्त पाटेबाघको मूर्ति काँक्रेविहार क्षेत्रमा राखिएको अर्धनारेश्वर स्वरूपको शिवपार्वतीको मूर्ति बनाउन आएका कालीगढले बनाएका हुन् ।

प्रकाशित : २०७९ पुष २० गते १२:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI