खगराज अधिकारीः स्ववियु सभापतिदेखी मुख्यमन्त्रीसम्म

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २६ गते १०:००
खगराज अधिकारीः स्ववियु सभापतिदेखी मुख्यमन्त्रीसम्म

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित अधिकारीले सोमबार दिउँसो प्रदेश प्रमुसमक्ष दाबी पेश गरेका थिए । दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गरेका उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा प्रदेश प्रमुख समक्ष सोमबार साँझ नै पद तथा गोपनीयताका सपथ लिए । सपथ समारोह सिमलचौरस्थित प्रदेश प्रमुख निवासमा भएको हो ।नवनियुक्त मुख्यमन्त्री अधिकारीले सोमबार नै ४ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट ४ मंसिरको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी पूर्व गृहमन्त्री समेत हुन् ।

मुख्यमन्त्री अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३३ जनाको समर्थन छ ।

केन्द्रमा एमाले–माओवादी लगायत दलको गठबन्धनको बैठकले गण्डकीमा एमाले नेतृत्वमा पूरै ५ वर्ष काम गर्ने भागबण्डा लगाएका हुन् । गण्डकीमा तेस्रो ठूलो दल माओवादीले सभामुख प्राप्त गरेको छ ।

२०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसँगै सक्रिय राजनीतिका रहेका खगराज अधिकारी लामो समय भूमिगत राजनीतिक जीवन बिताएका छन्

संघीयतापछि गण्डकीमा मुख्यमन्त्री बन्ने अधिकारी तेस्रो व्यक्ति हुन् । यसअघि एमालेकै पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको नेतृत्व गरेका थिए । हाल गण्डकीको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भने २७ सिट छ ।

.२०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसँगै सक्रिय राजनीतिका रहेका खगराज अधिकारी लामो समय भूमिगत राजनीतिक जीवन बिताएका छन् । २०३६ सालमा विद्यार्थी आन्दोलनका अगुवाइ गरेका उनी २ पटकसम्म पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बने । स्ववियु सभापतिलाई राजनीतिको टर्निङ प्वाइन्ट मान्छन् ।

पञ्चायतविरुद्धको आन्दोलनका अग्रमोर्चामा रहेर नेतृत्व गरेका अधिकारीले ५ वर्ष जेल जीवन बिताएका छन् । अधिकारी २०४६ सालमा नेकपा एमाले कास्कीको सचिव र २०५० देखी ५३ सम्म पार्टी अध्यक्षको जिम्मेवारीमा थिए ।

एमालेको आठौं महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्य र पोलिटव्युरो सदस्य समेत बने । नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा १ मतले मात्रै पराजित उनी एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय सदस्य बनेका थिए ।

तत्कालीन गण्डकी अञ्चल कमिटीको सचिव हुँदै संयोजक बनेका अधिकारी पहिलोपटक २०५१ सालमा कांग्रेसका प्रभावशाली नेता तारानाथ रानाभाटलाई हराउँदै कास्की क्षेत्र १ बाट निर्वाचित भई प्रतिनिधिसभा सांसद बनेका थिए । राजधानी दैनिकबाट

प्रकाशित : २०७९ पुष २६ गते १०:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI