गण्डकीमा आज सभामुखको निर्वाचन हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष ३० गते ८:४९
गण्डकीमा आज सभामुखको निर्वाचन हुँदै

कावासोती  । गण्डकी प्रदेशमा आज सभामुखको निर्वाचन हुने भएको छ । सभामुख चयनका लागि प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजेका लागि बोलाइएको छ ।

प्रदेशसभाको शुक्रवारको बैठकमा प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्न आज बैठक बोलाउनुभएको हो ।

सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुहुने भएको छ ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ । यहाँ नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागबन्डा गरिएको थियो ।

सोहीअनुसार नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसका २७, नेकपा (एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य हुनुहुन्छ ।

प्रकाशित : २०७९ पुष ३० गते ८:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI