STEM शिक्षामा STEM ल्याबको फाइदा र महत्व

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ ३ गते १६:३२
STEM शिक्षामा STEM ल्याबको फाइदा र महत्व

तेजचन्द्र खनाल-

विषय प्रवेशः

सामान्यतयाः शिक्षा भन्नाले व्यक्तिमा रहेको अन्तरनिहित प्रतिभाको उजागर गर्ने माध्यमलाई बुझिन्छ । जसले व्यक्तिको सर्वाङगीण विकासमा टेवा पुर्‍याउँछ । शिक्षाले नै व्यक्ति, समाज, देश र विश्वलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउँछ । शिक्षाको इतिहास केलाउँदा सुरुमा गुरुकुल शिक्षा प्रणाली थियो । जसमा गुरुले चेलालाई सिमित विषयवस्तुमा मात्र रटान लगाउने, बढी घोकाउने चलन थियो । फलस्वरुप सिकाइमा प्रभावकारीता, नयाँपन आउन सकेको थिएन । प्राचिन समयको शिक्षाप्रणाली २१ औँ शताब्दीमा आएर सुहाउने कुरा पनि भएन । समय गतिशिल छ । समयको गतिशिलता अनुसार नै नयाँ-नयाँ विधि, पद्दति, प्रविधि र नवप्रवर्तन हुनु अति आवश्यक रहेको छ । त्यस्तै निरन्तर रुपमा विद्या आर्जन गरिरहने वर्ग विद्यार्थी भएकाले यिनीहरुको मनोभावना बुझी शिक्षण गर्नु अति चूनौतिको विषय हो । त्यसैले शिक्षण सिकाइ लाई व्यवहारिक, बैज्ञानिक, कलात्मक र कुशलरुपमा सिकाउनका लागि विभिन्न अवधारणा हरुको विकास भएको पाइन्छ ।

 

स्टेम (STEM) शिक्षा र स्टेम (STEM) ल्याबको अवधारणा:

संक्षिप्त रूपमा STEM को अर्थ विज्ञान (Science), प्रविधि (Technology), इन्जिनियरिङ्ग (Engineering)  र गणित (Mathematics) हो । अर्को शब्दमा भन्नुपर्दा यो एक शैक्षिक अनुशासन हो जसले विद्यार्थीहरूलाई मनोरञ्जनात्मक र व्यावहारिक रूपमा चार आधारभूत स्तम्भहरूमा तालिम दिने प्रयास गर्दछ । जुन विज्ञान (Science), प्रविधि (Technology), इन्जिनियरिङ्ग (Engineering) र गणित (Mathematics) मा आधारित छ ।

यो अवधारणा DIY (Do It Yourself), Play-based Learning, Experiential Learning, वा Project-based Learning, को ढाँचामा आधारित छ । यस बाट धेरै कुराहरु गर्न सकिन्छ । जस्तै यसले बालबालिकाहरुमा नयाँ परियोजनाहरू सिर्जना र आविष्कार गरेर रुचि जगाउने, नवीनता ल्याउने र रचनात्मक क्षमता बढाउने जस्ता कार्यहरुमा विशेष सहयोग गर्दछ ।

हाल यो STEM अवधारणालाई कक्षाकोठामा पनि एकीकृत गरिदै लगिएको छ, किनकि यो विद्यार्थीहरुको निष्क्रिय, घोकन्ते र सिद्धान्तमा आधारित शिक्षाको पुरातन प्रणालीलाई पछाडी छाडि एक अब्बल र कुशल व्यावहारिक सिकाइमा एक नायकझै बनी अगाडि बढिरहेको छ । यसले मूलभुतरुपमा तिमीले गरेर सिक्छौ वा तिमिले गर्न सक्छौ (You learn by doing or You can do it) भन्ने अवधारणालाई आत्मसात् गरेको छ ।

STEM ल्याब STEM शिक्षा लागू गर्ने आधारभूत आधार हो जहाँ विद्यार्थीहरूले वैज्ञानिक परियोजनाहरू, रोबोटहरू, ड्रोन र नवीनतम प्रविधिहरूका लागि काम गर्न सक्छन् । STEM ल्याबले बालबालिकाहरुमा समस्या समाधान गर्ने योग्यता विकास गर्न मद्दत गर्छ, तिनीहरूलाई STEM को सैद्धान्तिक पक्षहरूमा थप ध्यान केन्द्रित गर्न उत्प्रेरित गर्छ । तिनीहरूलाई राम्रो क्यारियर (Career) छनौट गर्न सक्षम बनाउँछ । STEM ल्याबले बच्चाहरूलाई उनीहरूको हात फोहोर गरेर वा स्वयं प्रयोग गरेर उनीहरूलाई सक्षम नेता, आविष्कारक र समस्या समाधानकर्ता बन्न मद्दत गर्ने सीपहरू विकास गर्न मद्दत गरेर सक्रिय शिक्षार्थी बन्न प्रोत्साहित गर्दछ ।

 

विशेष गरी STEM ल्याब 3C को लागि तयार गरिन्छ ।

Curiosity (जिज्ञासा)

Capacity (क्षमता)

Creativity (रचनात्मकता)

 

त्यस्तै गरी STEM ल्याबले बालबालिकाहरुमाः

Innovation (नवीनता)

Entrepreneurship (उद्यमशीलता)

Team Work (टिम वर्क)

Leadership (नेतृत्व)

Skilled Workforce (दक्ष जनशक्ति)

Sustainable Development (दिगो विकास)

जस्ता सक्षमताहरुको विकास गराउँछ ।

 

STEM शिक्षा र STEM ल्याबको प्रार्दुभाव

१९६० को दशकमा अमेरिकाबाट शुरु भएको ‘स्टिम’ शिक्षामा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स समावेश गरिएको थियो, जसलाई स्टेम भनिन्थ्यो । सन् २००६ मा भएको मोमेन्टले ARTS विषयको पनि आवश्यकता भएको निष्कर्ष निकालेपछि विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र म्याथम्याटिक्स लाई समेत जोड्न आर्टस् थप गरेपछि स्टेम शिक्षामा रुपान्तरण भएको हो । विश्व जगतमा इन्टरनेटको विकाससँगै ICT, हिसाब गर्ने तरिका र साइन्सको प्रिजेन्टेसन गर्ने शैलीमा व्यापक परिवर्तन आयो जसका कारण स्टेम शिक्षाको अवधारणा आएको पाइन्छ । पढाउनका लागि विज्ञान र कला महत्त्वपूर्ण हुन्छ । त्यसैले स्टेम शिक्षामा आर्ट्सलाई समावेश गरिएको हो । स्टेम शिक्षा नेशनल साइन्स फाउन्डेसन अमेरिकाबाट सन् २००१ मा सुरुमा ल्याइएको एउटा एकिकृत कार्यक्रम हो । सन् २००५ मा संघिय शिक्षा नीतिमै STEM समावेश भएपछि अमेरिकाका सबै राज्यहरुमा यो विस्तार भयो । त्यसपछि क्रमशः विश्वका अन्य मुलुकहरु जस्तैः अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, बेलायत, फ्रान्स, ताइवान, युके सिंगापुर, फिनल्याण्ड नर्वेजस्ता मुलुकहरुमा फैलिएको पाइन्छ ।

 

नेपालमा STEM शिक्षा र STEM ल्याबको अवधारणाः

विज्ञानको संसारले आधुनिक संसारमा मानवजातिको लागि दैनिक जीवनयापन सहज बनाउन ठूला ठूला परिवर्तनहरू गरेको छ; चाहे त्यो सञ्चार होस्, यातायात होस् वा मानव विचारको अन्वेषण होस् । भर्चुअल संसार, रकेट यात्रा, म्याग्लेभ सुपर-ट्रेन, हरित ऊर्जा, डिजिटल क्रान्ति मार्फत पेपरलेस अभ्यास, AR, VR, ML, AI, RL, रोबोटिक्स, स्वचालन र सबै वैज्ञानिक आविष्कारहरू आधुनिक विश्व क्रान्ति हुन् जसले यस ब्रह्माण्डको भविष्यलाई आकार दिन्छ । मानव चासो र एक्सो-ग्रह (Exoplanet) को अन्वेषण भविष्यको लागि गम्भीर खोज भएको छ । अर्कोतर्फ, विज्ञानलाई सबैका लागि पहुँचयोग्य बनाउनु गाह्रो काम हो । जब विज्ञान र प्रविधि जनताको पहुँचमा हुँदैन, कमजोर शासन र भ्रष्टाचारको सम्भावना उच्च हुन्छ । परिणामस्वरूप असफल राज्यले आगामी पुस्ताका लागि उज्यालो दृश्य छोड्न सक्दैन र यो तेस्रो विश्वका विकासशील र अल्पविकसित देशहरूको दुर्भाग्य हो ।

सामुदायिक तथा निजी विद्यालयका अधिकांश उच्च दक्ष जनशक्तिहरू उच्च शिक्षा र अवसरका लागि अष्ट्रेलिया, युरोप, अमेरिकातर्फ जाँदैछन् भन्ने तथ्यलाई परिवर्तन गर्नु हाम्रो प्रमुख चुनौती हो र अधिकांश सार्वजनिक विद्यालयका शिक्षित र पढाइबाट बञ्चितहरू जीविकोपार्जनका लागि खाडीतिर लागिरहेका छन् । हाम्रा ५०% भन्दा बढी नेपाली युवाहरू शिक्षा, अवसर वा जागिरको खोजीमा देशबाहिर छन् ।

राष्ट्रिय शिक्षा नीति २०७६ ले स्टेम शिक्षालाई सम्पूर्ण शिक्षा प्रणालीको अंगको रुपमा विकास र बिस्तार गर्ने लक्ष्य राखेको छ । विद्यालय तहको गणित र विज्ञानमा देखिएको कमजोर स्थितिमा सुधार गरि आगामी दिनहरुमा नतिजा सुधार गर्ने, सम्पूर्ण विद्यार्थीहरुको रुची र क्षमताका आधारमा धेरै भन्दा धेरै सिक्ने अवसर प्रदान गर्न, विद्यार्थीहरुमा श्रृजनसिलता एवं नवप्रर्वतन क्षमता विकास गराउने उद्येश्य राखी हाल माध्यमिक तहमा स्टेम शिक्षा लागू गरिएको छ ।

राष्ट्रिय शिक्षा निती, २०७६ को उदेश्य नं ८.१३ मा ‘‘व्यक्तिमा बैज्ञानिक चिन्तन र व्यवहार विकास गर्न विज्ञान तथा प्रविधिलाई शिक्षा प्रणालिमा एकिकरण गर्दै परम्परागत एवम् आधुनिक प्रविधिलाई राष्ट्रिय विकासको लागि उपयोग गर्न सक्ने क्षमता विकास गर्नु’’ रहेको छ जुन उदेश्य पुरा गर्न रणनीति नम्बर ९.३३ मा ‘‘सबै तहको शिक्षामा विज्ञान प्रविधि इन्जिनियरिङ्ग र गणित शिक्षा (STEM-Education) लाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइने’’  रणनीति लिइने कुरा उल्लेख छ । सोही धारणा अनुरुप नेपालमा पनि स्टेम एजुकेशन (STEM-Education) ले स्थान पाउँदै गएको छ ।

त्यस्तै यस कार्यक्रमलाई प्रभावकारी बनाउन राष्ट्रिय शिक्षा नीति २०७६ को दफा १० मा निम्न नीति तथा कार्यनीतिहरुको व्यवस्था गरिएको छ

नीति १०.५५: उपयुक्त नीति, लगानी, जनशक्ति विकास, पाठयक्रम समायोजन र शिक्षण पद्धतिको आधुनिकीकरण गरि विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग तथा गणित शिक्षा (STEM Education) लाई समग्र शिक्षा प्रणालीको अभिन्न अंगको रुपमा विस्तार गर्ने,

कार्यनिति १०.५५.१: विद्यालय तहको पाठ्यक्रम प्रारुप निर्माण र पाठ्यक्रम विकास गर्दा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित (STEM) लाई विषय वस्तुको रुपमा समावेश गर्दै पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामाग्रीलाई डिजिटाइजेशन गरि सिकाइ प्रक्रियामा सुधार गरिनेछ,

कार्यनिति १०.५५.२: पाठ्यक्रम र पाठ्यसामाग्रीलाई परिवेश सापेक्ष परिमार्जन र अद्यावधिक गर्दा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित (STEM) जस्ता विषयलाई उचित स्थान दिइनेछ,

कार्यनिति १०.५५.३: स्टेम (STEM) को प्रवर्धन गर्न समुदाय, संघसंस्था, उद्योग र आम संचारका साधनहरुसँग शिक्षण संस्थाहरुले सहकार्य गरि असल अभ्यासहरुलाई प्रचारप्रसार र विज्ञान प्रविधि सम्बन्धि साक्षरताको कार्यक्रमहरु संचालन गरिनेछ,

कार्यनिति १०.५५.४: प्रारम्भिक तह देखि नै विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग तथा गणित (STEM) सँग सम्बन्धित विषयहरुमा बालबालिकाहरुको रुची, सहभागिता, संलग्नता र क्षमता विकास गर्न कक्षा र स्तर हेरी पाठ्क्रममा यसको मात्रालाई पचास प्रतिशतसम्म पुर्याइनेछ,

कार्यनिति १०.५५.५: विद्यालय शिक्षाका विभिन्न विषयहरुमा (भाषा, साहित्य, कला, संस्कृति, इतिहास, भूगोल) आदि समेत स्टेम (STEM) को अवधारणालाई एकीकृत गरिनेछ,

कार्यनिति १०.५५.६:  स्नातक र स्नाकोत्तर तहमा राज्यका लागि आवश्यक क्षेत्र पहिचान गरि स्टेम (STEM) मा आधारित पाठ्यक्रम निर्माण गरिनेछ,

कार्यनिति १०.५५.७: स्टेम (STEM) सम्बन्धि शिक्षाको प्रवर्धन गर्नका लागि संघिय र प्रादेशिक स्तरमा विज्ञान, प्रविधि केन्द्र, अनुसन्धान तथा आविष्कार केन्द्र र प्लानेटोरियम निर्माण गरिनेछ ।

राष्ट्रिय शिक्षा नीति २०७६ मा यि कुराहरु उल्लेख गर्नुले पनि अब नेपालमा पनि स्टेम (STEM) शिक्षाले महत्व पाएको बुझ्न सकिन्छ ।

STEM ल्याबहरू विश्वका धेरै विकसित र विकासशील देशहरूमा एक मानक बनेको छ । तथापि, आजभोलि यो नेपाली विद्यालयहरूमा पनि नियमित प्रयोग भएको छ । STEM विद्यार्थीहरूलाई विज्ञान र प्रविधि, इन्जिनियरिङ्ग र गणित चार विशेष विषयहरुमा शिक्षा दिने सम्बन्धमा आधारित पाठ्यक्रम हो । यि चार विषयहरुलाई छुट्टाछुट्टै विषयको रुपमा सिकाउनुको सट्टा  STEM ल्याबहरुले तिनीहरुलाई वास्तविक विश्व परिवेशमा आधारित माटो सुहाउँदो रुपमा एकिकृत गरेर सिकाउँछन् । नेपालमा परम्परागत शिक्षा अझै पनी पाठ्यपुस्तकमा केन्द्रित छ जबकी यी सिद्धान्तको व्यवहारिक कार्यान्वयनलाई थोरै महत्व दिइन्छ ।  यो सबै पुरा स्टेम (STEM) ल्याबले गर्दछ । जुनसुकै प्रयोगशालालेपनि विद्यार्थीहरुलाई स्वतन्त्र रुपमा सोच्न र आफैले केही सिर्जना गर्ने ठाउँ दिन्छ ।

 

STEM शिक्षा र STEM ल्याबका फाइदाहरुः

STEM शिक्षाले मूख्य गरी विद्यार्थीका समस्याहरु बुझ्ने, समाधान सिर्जना गर्ने, परीक्षण गर्ने र त्यसमा पुनरावृत्ति गर्ने, एकपटक सिद्ध भएका ज्ञानहरुलाई व्यवहारमा उतार्ने र पछि यसलाई संसारसामु परिचित गराउने अवधारणा सिकाउँछ ।

·  विज्ञान र गणितलाई प्रविधि र इन्जिनियरिङ्ग विधासँग जोडेर शिक्षण गर्दा विद्यार्थीहरुमा कौतुहलता जाग्ने र सिकाइप्रति आकर्षण बढ्ने, रमाई रमाई सिक्ने, केही नविन चीजको खोजी गनुपर्छ भन्ने भावना जागृत गराउँछ ।

.विज्ञान र गणित जटिल विषय हुन भनि कम महत्व दिने परम्परागत विभेदको अन्त्य हुन्छ ।

· शिक्षण सिकाइ बाध्यात्मक नभई विद्यार्थीहरुको रुचि, इच्छा, चाहाना र क्षमताका आधारमा आफै गरेर नयाँ कुरा सिक्न पाउने भएकाले नतिजामा उल्लेखनिय सुधार भै सिकाइ उपलब्धि वृद्धिको सुनिश्चितता हुन्छ ।

.यसले नियमित कक्षाहरूमा सिकाइने सिद्धान्तहरूमा आधारित व्यवहारिक सिकाइ र समस्याहरुको रचनात्मक समाधानमा सहयोग गर्दछ ।

.ICT को प्रयोग गरी विश्व परिवेश सुहाउँदो सिकाइको लागि तयारी गर्दछ ।

.यसले विद्यार्थीको आत्म-सम्मानको वातावरण सिर्जना गर्नुको साथै उनिहरुमा आत्मविश्वास र तार्किक भावनाहरूको स्तरीय व्यवस्थापनमा सहयोग गर्दछ ।

.यसले तार्किक सोंच, रचनात्मकता र कल्पना शक्तिलाई बढाउँछ ।

.यसले संचार कौशल र व्यवहार कौशल सिपको विकास गर्दछ ।

.हाम्रा विद्यार्थीहरूमा नयाँ नयाँ चीजहरू सिर्जना गर्न, निर्माण गर्नमा उत्सुकता जगाउने कार्य गर्दछ ।

·  स्टेम (STEM) शिक्षालाई यसको उद्येश्य बमोजिम लागू गरिएमा हाम्रा विद्यार्थीहरुमा जुनसुकै समस्याहरु प्रति विभिन्न तर्कहरु गर्ने, नविन सोंच र श्रृजनाहरु गर्ने, नव प्रवर्तनहरु गर्ने, विभिन्न अविष्कारहरु गर्ने जस्ता असाधारण क्षमताहरुको विकास गराउन सकिन्छ ।

 

निष्कर्षमा,

राष्ट्रिय शिक्षा नीतिमा नै STEM शिक्षा र STEM ल्याबको अवधारणा र प्रयोग पाठ्यक्रममा क्रमशः समेट्दै लैजाने कुरा स्पष्ट लेखिनुले पनि अबको शिक्षण सिकाई गतिविधी स्टेम (STEM) मा आधारित भई अगाडि बढाउनुको विकल्प छैन । STEM ल्याबमा विद्यार्थीले आफ्ना समस्याहरू आफैं समाधान गर्न, प्रयोगशालामा बसेर विभिन्न विकास, डिजाइन, प्रयोग र नतिजा परीक्षण गरी आफैं निष्कर्ष निकाल्न सिक्नेछन् । यसले बालबालिकामा आत्म- विश्वासका साथ सिक्ने वातावरण सिर्जना गर्ने भएकाले यो व्यवहारिक सिकाइको सबैभन्दा उत्तम तरिका हुनेछ । यसका लागि सरोकारवाला निकायहरु लाई प्रशिक्षित गर्ने, व्यवस्थित ल्याबहरु स्थापना गर्ने, विश्व परिवेश सुहाउँदो पाठ्यक्रम तयार गरी लागु गर्ने र उदेश्य अनुरुपको सिकाइ प्रक्रिया अगाडि बढाउनु आजको प्रमुख आवश्यकता रहेको छ । स्टेम (STEM) शिक्षाको लक्ष्य प्रातिका लागि शिक्षक तथा प्रशिक्षकहरु सक्रिय रुपले लाग्नु पर्ने हुन्छ । अबका दिनहरुमा स्टेम (STEM) शिक्षाले प्रयोगात्मक सिकाईबाट  विज्ञान र गणितमा देखिएको कमजोर नतिजामा पक्कै पनि सुधारको छनक देखिनेछ जसले यो स्पष्ट हुन्छ कि अबको समयमा बहु प्रतिभाशाली, सीपयुक्त र विश्व परिवेश सुहाउँदो विद्यार्थीहरुको उत्पादन हुने निश्चित छ । जसले नेपाल सन् २०३० सम्ममा विकासशिल राष्ट्रमा स्तरोन्नती गर्ने लक्ष्य तथा दिगो विकास लक्ष्य ४ गुणस्तरी शिक्षा अन्तरगतको सूचक ‘सन् २०३० सम्ममा रोजगारी, मर्यादित काम तथा उद्धमशीलताका लागि प्राविधिक तथा व्यावसायिक सिप लगायतका सान्दर्भिक सिपहरू हासिल गरेका युवा तथा प्रौढहरूको संख्यामा उल्लेख्य वृद्धि गर्ने’ लाई समेत पुरा गर्ने देखिन्छ ।

 

सन्दर्भ सामग्रीहरुः

राष्ट्रिय शिक्षा नीति २०७६, नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौँ  ।

https://www.edukhabar.com/news/13538

प्रभावकारी सिकाइमा स्टेम शिक्षा

https://edupatra.com/news/the-use-of-stem-education-in-nepals-education-system-and-its-relevance/

STEM Labs

https://education.vex.com/

लेखक हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत हुन ।

प्रकाशित : २०७९ माघ ३ गते १६:३२
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI