तनहुँ अदालतले सफाई दिए पनि पल शाह जेलमै

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ ४ गते ६:१७
तनहुँ अदालतले सफाई दिए पनि पल शाह जेलमै

कावासोती । नाबालिका जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)ले जिल्ला अदालत तनहुँबाट सफाइ पाएका छन् । मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहविरुद्ध लागेको बलात्कार अभियोगमा दाबी नपुग्ने फैसला गर्दै सफाइ दिएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताए । तर, सोही प्रकृतिको मुद्दामा नवलपुर अदालतले २१ भदौमा दुई वर्ष ६ महिना कैदको फैसला सुनाएकाले शाहले भुक्तानका लागि जेलमै बस्नुपर्नेछ ।

शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएको उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए । ‘तनहुँमा पललाई नाबालिका करणी गरेको भनेर जुन अभियोग लगाइएको थियो, तनहुँ जिल्ला अदालतबाट त्यो पुष्टि भएन,’ उनले भने, ‘त्यसैले शाहले सो अदालतबाट पूर्ण रूपमा सफाइ पाउनुभएको छ ।’ फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । त्यसका लागि केही समय लाग्ने वाग्लेले बताए ।

शाहविरुद्ध १७ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी ११ फागुनमा तनहुँ प्रहरीमा परेको थियो । शाह प्रहरी कार्यालयमा आफैँ उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले १० चैतमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

नवलपुर जिल्लाअदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन
पल शाहलाई नाबालिका बलात्कार अभियोगमा दोषी ठहर गर्दै साढे दुई वर्षको जेल सजाय सुनाएको नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता भएको छ ।

शाहका कानुन व्यवसायी वाग्लेले उच्चबाट आउने फैसलाका आधारमा शाह जेलमुक्त हुने–नहुने टुंगो लाग्ने बताए । ‘उच्च अदालत पोखराबाट सफाइ पाउनुभयो भने मात्र उहाँ कारागारबाट छुट्नुहुन्छ, नत्र कारागारमै बस्नुपर्छ,’ उनले भने ।

प्रकाशित : २०७९ माघ ४ गते ६:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI