मन्त्रालय नतोकिँदा गण्डकीका मन्त्री कामविहीन, कहिले पाउँला सरकारले पूर्णता ?

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ ६ गते ८:१४
मन्त्रालय नतोकिँदा गण्डकीका मन्त्री कामविहीन, कहिले पाउँला सरकारले पूर्णता ?

पोखरा । गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसक्दा मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँट समेत भएको छैन ।

मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ कुनै टुङ्गो छैन । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले केही दिनभित्रैमा सरकारले पूर्णता पाउने बताइन् । ‘मन्त्रालयको संख्या घटाएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ, मुख्यमन्त्री ज्यूले सुरुदेखि नै यसैमा जोड दिइरहनु भएको छ’, उनले भनिन् ।

सत्तारुढ दलबीच मन्त्रालय घटाउने र मन्त्रीको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल भइरहेको प्रवक्ता सुन्दासले उल्लेख गरिन् । दुई–तीन दिनभित्रैमा यो विषय टुङ्गोमा पुग्ने उनको भनाइ छ । हाल रहेका १२ मन्त्रालयलाई घटाएर सातमा पु¥याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तयारी छ ।

यसअघि प्रदेशसभाका उपसभामुखको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि त्यसो हुन सकेन । उपसभामुख निर्वाचित भएको पनि चार दिन बितिसकेको छ । मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरू कामविहीन स्थितिमा छन् । विभागीय मन्त्री नहुँदा मन्त्रालयका काम कारबाही पनि प्रभावित हुने देखिएको छ ।

गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए । बिना विभागीय मन्त्रीको हैसियतामा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन् ।

प्रकाशित : २०७९ माघ ६ गते ८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI