नारायणगढ–बुटवल सडक विस्तार फेरि सुस्तायो

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ ८ गते ८:१९
नारायणगढ–बुटवल सडक विस्तार फेरि सुस्तायो

नारायण शर्मा/पूर्वी नवलपरासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड फराकिलो पार्ने चिनियाँ ठेकेदारले नवलपरासी खण्डको ४२ किमि सडक क्षेत्रमा दुई वटा मात्रै डोजरबाट कछुवा गतिमा काम गरिरहेको छ । राजमार्गको डन्डादेखि पश्चिम दाउन्नेसम्मको ४२ किमि खण्डमा जम्मा दुई वटा डोजर र ६ जना कामदार राखेर काम गरिरहेको हो ।

त्यति लामो खण्डमा फटाफट काम सम्पन्न गर्न दर्जनौं डोजर श्रमिक खटाउनुपर्नेमा यस क्षेत्रमा चरम लापरबाही भएको छ । अधिकांश क्षेत्र जंगल रहेको त्यस खण्डमा राजमार्ग फराकिलो पार्ने काममा खटेका जनशक्ति र मेसिन देख्नसमेत पाइँदैन ।

राजमार्गअन्तर्गत चोरमारा र अरुणखोलाबीचको गन्डार खोलामा नयाँ पुल निर्माण गर्न दुई डोजरले सडक भत्काउन थालेका छन् । त्यसबाहेक दाउन्नेदेखि पूर्व कावासोतीको डन्डाबजारसम्मको क्षेत्रमा (४२ किमि सडक क्षेत्र) मा कहीँकतै कुनै काम गरेको छैन । सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदारको काम गर्ने तौरतरिका देखेर आफू छक्क परेको मध्यबिन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारी बताउँछन् । ‘सडकमा भइरहेको कामको अनुगमन गर्ने नेपाल सरकारका निकाय होलान्, तिनले के हेरेर बस्छन् ! आश्चर्य छ,’ उनले भने, ‘सडक निर्माणका नाममा जताततै डाइभर्सन बनाएर जोखिम बढाइएको छ । काम गर्ने औजार र मान्छे राजमार्गमा देखिँदै देखिँदैनन् ।’

०७३ मा राममार्ग ठेक्का लिँदा चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम सुरु गरेको ३ वर्षभित्र सडक निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता थियो । काम थालेको ४२ महिनामा २३ प्रतिशत मात्र काम सकिएको चिनियाँ ठेकेदार कम्पनीका इन्जिनियर राकेश झा बताउँछन् । रूख कटान र विद्युत्का पोल सार्न पर्ने सरकारी प्रक्रिया लामो र झन्झटिलो भएका कारण काममा केही ढिलाइ भएको उनको दाबी छ । त्यसमाथि कोरोनाकालमा काम ठप्प भएका कारण राजमार्गको प्रगति नदेखिएको झाको दाबी छ ।

राजमार्गको दाउन्ने गैंडाकोट खण्ड सडक हेर्ने प्रमुख इन्जिनियर रमेश दृष्टि हरेक बैठकमा त्यो क्षेत्रमा काम गराउन आफूले ताकेता गरिरहेको दाबी गर्छन् । ‘ताकेता गरिरहेका छौं । उनीहरू नै चिन्तित हुनुपर्ने हो । हामी दैनिकजसो बैठक गरिरहन्छौं र हरेक बैठकमा त्यो खण्डमा किन काम भएन भनेर दबाब दिएका छौं,’ उनले भने, ‘तर यस विषयमा ठेकेदार आफैं तात्नुपर्ने हो ।’

दाउन्नेदेखि गैंडाकोटसम्म ६५ किमि पर्दछ । यस क्षेत्रअन्तर्गत कावासोतीदेखि पूर्व गैंडाकोटसम्मको क्षेत्रमा ग्राभेल हालेर पुर्ने र सम्याउने काम भइरहेको छ । कावासोतीको डन्डादेखि पश्चिम दाउन्नेसम्म गत जेठदेखि नै काम रोकिएको हो । पहिला वर्षात्पछि सुरु गर्ने भनेको र वर्षात् सकिएपछि (गत भदौबाट) पनि काम हुन नसकेको आयोजनाले जनायो ।

गत साउन २२ मा सकिएको सडक निर्माणको काम आउँदो साउनसम्म म्याद थपिएको छ । बुटवल–नारायणगढ सडक खण्डको १ सय १४ किमि सडक फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनीले १७ अर्ब रुपैयाँमा ठेक्का लिएको हो । वर्षा सुरु भएपछि पानीले काम गर्न दिँदैन भन्दै ठेकेदार कम्पनीले करिब ३ महिना कामै नगरी बस्ने गरेको छ । दाउन्ने पहाडको १४ किमि क्षेत्रको पश्चिमतर्फ (दाउन्ने बजारबाट पश्चिम) सडक भत्काएर अलपत्र पारेको छ । त्यहाँ राजमार्ग भत्काएर ग्राभेलसमेत नगरिएका कारण ठुल्ठूला खाल्डैखाल्डा रहेकाले यात्रा जोखिमपूर्ण छ ।

कावासोती खोलादेखि पश्चिममा पर्ने चोरमारा, अरुणखोला र दुम्कीवासमा पर्ने ठूला खोलामा पुल निर्माणको कामसमेत हुन सकेको छैन । कावासोती–नारायणगढ खण्डमा पर्ने भेंडाबारीमा अघिल्लो साता १ सय २० मिटर सडक कालोपत्र गरेपछि त्यहाँ अन्य काम भएको छैन । राजमार्ग कालोपत्र हुन थाल्यो भनेर हौसिएका स्थानीय फेरि निराश छन् । ‘कामै गर्दैन । सडक अनुगमन गर्ने निकाय पनि निकम्मा रहेछ,’ भेंडाबारीका अर्जुन आचार्यले भने ।

प्रकाशित : २०७९ माघ ८ गते ८:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI