राष्ट्रपति कांग्रेसलाई, प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ ९ गते ७:५७
राष्ट्रपति कांग्रेसलाई, प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री

कावासोती । नजिकिएको राष्ट्रपतिको निर्वाचनले वर्तमान सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच संशय उत्पन्न गरेको छ।

राष्ट्रपतिको उम्मेदवार चयन गर्ने विषयमा सत्ता साझेदार दलभित्र तीव्र रस्साकस्सी चलिरहेको छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि फागुन महिनाको २८ गते सकिँदैछ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम पदावधि सकिनुभन्दा एक महिना अगावै दुवै पदको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ। यस्तै राष्ट्रपतिको निर्वाचन भएको १५ दिनभित्र उपराष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।

सत्ता गठबन्धनकै प्रमुख दल एमालेको राष्ट्रपतिमा दाबी र प्रधानमन्त्री प्रचण्डको कांग्रेस रिझाउने आकांक्षाले सत्ता गठबन्धनलाई राष्ट्रपति निर्वाचन थप चुनौतीपूर्ण बन्दै गएको छ।

आगामी राष्ट्रपतिको निर्वाचनले सत्ता गठबन्धनको भविष्य निर्धारण गरेको समेत बताइन्छ। राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा गठबन्धनभित्र यस विषय थप पेचिलो बन्दै गएको हो। यसले गठबन्धनभित्रैका दलहरुबीच आशंकासमेत बढाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धोका हुने आशंका माओवादीका नेताहरुमा ब्याप्त छ। तर तत्काल गठबन्धन तोडेर जाँदा सबैतिरबाट अविश्वसनीय भइने भयले सशंकित रहेको माओवादीलाई कांग्रेसले पाँचै वर्ष साथ दिने दाबी गर्दै आश्वस्त पार्ने प्रयत्न जारी राखेको छ।”

एमाले कुनै हालतमा राष्ट्रपति नछाड्ने पूर्ववत अडानमा यथावत रहेको छ। कांग्रेसले यही बुझेर माओवादीलाई विश्वस्त तुल्याए आफ्नो भागमा राष्ट्रपति आउने आशयले भरमग्दुर प्रयत्न जारी राखेको छ।

गत पौष २६ गते कांग्रेसले दिएको विश्वासको मतले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा प्रचण्ड बहुमत पुगेको थियो। प्रधानमन्त्री प्रचण्ड त्यसको बदलामा कांग्रेसप्रति थप उदार बनेका छन्।

उनले कांग्रेसलाई सकेसम्म चिढाउन चाहेका छैनन्। यसैलाई आधार मानेर कांग्रेस प्रधानमन्त्रीलाई थप गलाउने रणनीतिमा लागेको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री प्रचण्डसँग निरन्तर सम्पर्कमा रहेको छन्। उनले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति दिन सहमत तुल्याउन प्रयत्न जारी राखेका छन्।

सोही अनुसार प्रचण्डले कांग्रेसविरुद्ध कठोर निर्णय लिन नसकेको बताइन्छ। यसै कारण पछिल्लो समय उनका अभिब्यक्तिमा लचकता आएको र सहमतिकै आधारमा राष्ट्रपति चयन गरिने बताइरहेका छन्।

विगतको सत्ता साझेदारी र कांग्रेससँग गरिएको सहकार्यको बदलामा राष्ट्रपति दिन तयार रहेपनि वर्तमान गठबन्धन कायम रहेसम्म एमाले तयार नहुने हुँदा प्रधानमन्त्री प्रचण्ड निर्णय लिन चरम संकटमा रहेका छन्।

विश्वस्त स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपति दिए प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री दिन कांग्रेस तयार रहेको छ। थप विश्वसनियता प्रदान गर्न लिखित सहमतिसमेत गर्न कांग्रेस तयार रहेको छ।

माओवादीका कतिपय नेताहरुले सबै महत्वपूर्ण संवैधानिक पद एमालेलाई दिए भोलि पुनः विगतमा जस्तै धोका हुने भन्दै अध्यक्ष तथा पधानमन्त्री प्रचण्डलाई सचेत गराइरहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धोका हुने आशंका माओवादीका नेताहरुमा ब्याप्त छ। तर तत्काल गठबन्धन तोडेर जाँदा सबैतिरबाट अविश्वसनीय भइने भयले सशंकित रहेको माओवादीलाई कांग्रेसले पाँचै वर्ष साथ दिने दाबी गर्दै आश्वस्त पार्ने प्रयत्न जारी राखेको छ।

सरकार बाहिर रहेका माधव नेपालसमेत अहिलेको गठबन्धन तोड्न लागि परेको बताइन्छ। उनीे प्रचण्डलाई एमालेसँगको सहकार्य टुटाएर पुनः पुरानै गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेका छन्।

उनले आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा गएर भेटवार्ता गरेका छन्। उनले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गरेर पुरानै गठबन्धनलाई निरन्तरता दिन आग्रह गरेको बताइएको छ।

बिहीबार सम्पन्न सभामुखको निर्वाचनमा पनि कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको माधव नेपालको नेकपा (एकीकृत समाजवादी) एमालेसँग सहकार्य गरुञ्जेल सरकारमा सहभागी नहुने बताएको छ।

एमालेसँग सहकार्य जारी राखे वर्तमान गठबन्धनको राष्ट्रपति उम्मेदवारलाई सहयोग नगर्ने अडानमा एकीकृत समाजवादी रहेको छ। यसर्थ माधव नेपाल गठबन्धनबाट माओवादीलाई अलग्याएरै कांग्रेससँग सहकार्य गर्न जोड दिइरहेका छन्।

एमालेसँग सहकार्य तोड्न लगाएर राष्ट्रपति निर्वाचनसम्म पुरानै गठबन्धनलाई निरन्तरता दिने उनको भूमिका रहेको स्रोतले बताएको छ। उनले आगामी राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सहयोग गरी पूर्ववत गठबन्धनलाई पुनर्जिवित तुल्याउने प्रयत्न जारी राखेको स्रोतले जनाएको छ।

प्रकाशित : २०७९ माघ ९ गते ७:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI