सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म वर्षा र हिमपातको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ ११ गते ७:१३
सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म वर्षा र हिमपातको सम्भावना

कावासोती  । नेपालको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेपछि पश्चिम नेपालबाट वर्षा शुरु भएको छ । जसको प्रभावका कारण आज (बुधबार) देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदे–१ मा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चार वटा प्रदेशमा वर्षाको सम्भावना र तीन वटा प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

प्रकाशित : २०७९ माघ ११ गते ७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI