सीमा रक्षक गुरुङको शवलाई सुस्ताबासीको सम्मान

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ ११ गते १८:१०
सीमा रक्षक गुरुङको शवलाई सुस्ताबासीको सम्मान

नारायण शर्मा/पूर्वी नवलपरासी — सुस्ता बचाउ आन्दोलनका मुख्य अभियन्ता गोपाल गुरुङको शवमा सुस्ताबासीले राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका छन् । एक महिनाअघि मस्तिष्कघातले थलिएका गुरुङको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मंगलबार निधन भएको हो ।

उनको शवलाई बुधबार स्थानीयले सुस्तामा ल्याएर सम्मान स्वरुप राष्ट्रिय झन्डा ओढाएका थिए । उनको पार्थिव शरीरमा फूल चढाउन र सम्मान व्यक्त गर्न सुस्ता र आसपासका स्थानीयको भिड थियो । त्यहाँका प्रदेशसभा सदस्य देवकरणप्रसाद जयसवालले उनको शवमा राष्ट्रिय झन्डा ओढाएका थिए । उनको चाहनाअनुसार जन्मथलो तनहुँमा अन्त्येष्टि गरिने स्थानीय रवीन्द्र जयसवालले जानकारी दिए । उनको शवलाई आजै तनहुँ लगिँदै छ । तनहुँको शुक्लागण्डकीमा पुग्दा धेरै अबेर हुने भएकाले बिहीबार उनको अन्त्येष्टि गरिने पारिवारले जनाएको छ ।

तनहुँमा जन्मेका गोपाल गुरुङ नेपाल प्रहरीमा जागिरे थिए । सुस्ता प्रहरी चौकिबाट सेवा निवृत्त भएपछि उनी सुस्ताकै ऐलानी जग्गामा घरजम गरेर जीवन बिताएका थिए । उनले सुस्ता जोगाउन नागरिक तहबाट समिति बनाएर सीमा सुरक्षामा लागेका थिए । उनले स्थानीय परिचालन गरेर सीमा सुरक्षाको पहरेदारी गर्दै आएका थिए । उनी राष्ट्रप्रेमी थिए ।

भारतले सुस्तामा ४ दशकदेखि गर्दै आएको थिचोमिचोको सशक्त प्रतिरोध गर्ने नागरिक आन्दोलनका अगुवा थिए गुरुङ ।

भारतीय सीमामा रहेको सुस्ताको भूभाग जोगाउन उनी २४ वर्षभन्दा बढी भारतीय सुरक्षाकर्मीको आखाँमा तारो बनेर सुस्ता जोगाउने अभियानमा लागेका थिए । उनको उपचारमा आर्थिक अभाव भएपछि सुस्ताबासीले गोपाल गुरुङ बचाउ अभियान सुरु गरेर घरघरै नगद सहयोग मागेका थिए । ।

नेपाल भारतको सीमानामा रहेको नारायणी नदी पारी सुस्ता रहेको छ । सिंगो सुस्ता गाउँपालिका नै २०३४ सालको बाढीले बगाएपछि त्यहाँ २ वटा वडा मात्र बाँकी रहेको थियो । सुस्तामा करिब ५ सय घर परिवार नेपाली बसोबास गर्छन् । त्यहाँ नेपाल-भारतको बीचमा सीमा स्तम्भ र दशगजा छैन । २०३० साल अघि ६४ हजार हेक्टर क्षेत्रफल रहेको सुस्तामा हाल ४ हजार हेक्टर जमिन छ । त्यसबाहेक सबै भूभाग भारतले आफ्नोतर्फ गाभिसकेको छ ।

प्रकाशित : २०७९ माघ ११ गते १८:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI