भोलि देखि सुरु हुने नवलपुर महोत्सवको सबै तयारी पुरा

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २ गते १९:३५
भोलि देखि सुरु हुने नवलपुर महोत्सवको सबै तयारी पुरा

कावासोती ।  भोलि फागुन ३ देखि सुरु नवलपुर महोत्सवको सातौं संस्करणको सम्पुर्ण तयारी पूरा भएको छ ।

नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा ’पर्यटन, कृषि, उद्योग र व्यापार– नवलपुर विकासको मुल आधार’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव तयारी सकिएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालले जानकारी दिनु भयो । भोलि फागुन ३ बाट सुरु हुने महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उदघाटन गर्ने अध्यक्ष अर्यालले बताउनु भयो ।

५ लाख दर्शकले अवलोकन गर्ने र करिब १ करोड ८५ लाख रुपियाँ आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव फागुन १३ गते सम्म सन्चालन हुने अध्यक्ष अर्यालले जानकारी दिनु भयो ।

महोत्सवमा जिल्लाको स्थानीय उत्पादन, बहुजातिय सांस्कृतिक,पर्यटकीय गतिविधिको प्रदर्शन व्यवसायिक प्रर्वधनात्मक कार्यक्रम, स्थानीय प्रतिभा प्रस्फुटन विविध कार्यक्रमको आयोजना गरिने छ । त्यसै गरि महोत्सवमा जिल्लामा रहेका आठ वटा स्थानिय तहका कृषि उत्पादन र उद्यमसँग सम्वन्धित प्रत्येक स्थानीय तहका ३÷३ वटा स्टल समेत राखिने अध्यक्ष अर्यालले बताउनु भयो ।

अध्यक्ष अर्यालका अनुसार यस पटक महोत्सवको मुख्य आकर्षणको रुपमा रत्यौली गायन प्रतियोगिता समेत रहेको छ । हराउँदै गएको रत्यौलीलाई संरक्षण गर्न मर्यादित र सिर्जनात्मक तरिकाले रत्यौली गायनको प्रतिस्पर्धा राखिएको अध्यक्ष अर्याल बताउनु हुन्छ ।

यो सँगै महोत्सवमा बाल उद्यान, सास्कृतिक कार्यक्रम, विभिन्न व्यवसायिक प्रदर्शनी, विद्यार्थीहरुद्धारा निर्मित विज्ञान साम्राग्रीको प्रदर्शनी र प्रतियोगिता, टिकटक प्रतियोगिता कृषि प्रदर्शनी र प्रतियोगिता, विभिन्न जातिय सांस्कृतिक झाँकी तथा पहिरन प्रदर्शनी तथा पर्यटकीय गतिविधिका नमूना प्रदर्शनी रहने जनाईएको छ । महोत्सव कावासोती–८ मा रहेको टुबोर्ग खेल मैदानमा सन्चालन हुने छ ।

प्रकाशित : २०७९ फागुन २ गते १९:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI