हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ नवलपुरमा मञ्चन हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन ३ गते १३:५८
हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ नवलपुरमा मञ्चन हुँदै

कावासोती (रासस) : साहित्यकार हृदयचन्द्रसिंह प्रधानको उपन्यास एक चिहानमा आधारित नाटक ‘एक चिहान’ नवलपुरको कावासोतीमा मञ्चन हुने भएको छ । पोखरा थिएटरको सहकार्यमा नवलपुरमा रहेको ह्याप्पी एफले नाटक मञ्चनको आयोजना गरेको हो । परिवर्तनको निर्देशन रहेको नाटकमा यही फागुन १६ गतेदेखि तीन दिनसम्म चल्ने तथा दैनिक तीन शो प्रदर्शन गरिने कार्यक्रम संयोजक एवं ह्याप्पी एफका स्टेशन म्यानेजर आदर्श सुशीलले बताए ।

चौध कलाकारको प्रस्तुति रहने नाटक एक घण्टा ४५ मिनेट लामो रहने नाटकका निर्देशक परिवर्तनले जानकारी दिए । नेपाली गरिब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थवादी नाटक रहेको र यसले विसं २०११ आसापासको नेपाली समाजमा रहेको निम्न वर्गीय जीवनका जटिलता र सङ्र्घषलाई चित्रण गर्ने निर्देशक परिवर्तनले बताए ।

उनका अनुसार नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नाटकमा प्रजातन्त्र प्राप्तिपछि विस्तारै मौलाउँदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक समिश्रण, समावेशी र समानताका लागि आवश्यक परेको तथ्य रुढिवादी तथा अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकूल घटनाक्रम र स्वभाविक पात्रको परिवेश देखाउन खोजिएको छ । एक चिहान विद्यालय तहको पाठ्यक्रममा समेत समावेश गरिएको उपन्यास भएकाले उपन्यासको नाट्य रुपान्तरणले विशेष गरेर विद्यार्थी लाभान्वित हुने उनको भनाइ छ ।

साहित्यकार हृदयचन्द्रसिंह प्रधान (विसं १९७२–२०१६) नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचन कथा ब्याकरणजस्ता वाङमयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका साहित्यको उपन्यास विधामा स्वास्नी मान्छे (२०१५) र एक चिहान(२०१७) गरी दुई मात्र कृति प्रकाशित छन् ।

यी उपन्यासका माध्यमबाट प्रधानले लेखनकालीन नेपाली समाजका नारीले भोग्नुपरेका यातना, किसानमाथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्ग निर्देश गर्नुभएको छ । प्रधानको एक चिहान कृति माध्यमिक तहको अनिवार्य नेपाली विषयमा समेत समावेश गरिएको छ ।

प्रकाशित : २०७९ फागुन ३ गते १३:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI