एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत १८ गते १६:०३
एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने

कावासोती । नेकपा एमालेले वैशाख १० मा हुने उपनिर्वाचनका लागि २ क्षेत्रमा उम्मेदवार छनोट गरेको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको हो ।

बैठकले चितवन २ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार उठाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । बारामा भने एमाले उम्मेदवार छानेको छैन । बाराको उम्मेदवारबारे छलफल गरेर टुङ्ग्याउने एमालेले जनाएको छ ।

यसअघि गत मङ्सिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा खनाल काठमाडौँ क्षेत्र नम्बर ६ बाट उनी पराजित भएका थिए । उनको पुर्ख्यौली घर तनहुँको भानु नगरपालिका हो । खनाललाई एमालेले दोस्रो पटक उम्मेदवार बनाउन लागेको हो ।

वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । चितवन २ मा रास्वपा अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उक्त क्षेत्र खाली भएको थियो । त्यस्तै बारा २ बाट निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपति र तनहुँ १ बाट निर्वाचित कांग्रेसका रामचन्द्र रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन पुगेको थियो । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित : २०७९ चैत १८ गते १६:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI