बिक्रमबाबा मेलामा भक्तजनको घुइँचो, हालसम्म करिव २ लाखको सहभागीता

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत २० गते १३:५५

चितवन- चितवनको कसरामा १५ दिनसम्म सञ्चालन हुने बिक्रमबाबा मेलामा यसवर्ष भक्तजनको उल्लेख्य घुईचो लागेको छ । बिगतको केहि बर्ष कोरोना कहरका कारण सेलाएको मेलामा यसवर्ष भने भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

हरेक वर्ष चैत्र शुक्ल प्रतिपदा देखि पुर्णीमासम्म बिक्रमबाबा मेला लाग्ने गर्छ । यसवर्ष भरतपुर महानगरपालिका वडा नं २३, चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, माडी नगरपालिका १ र पूजा व्यवस्थापन समिति लगाएतको सहकार्यमा मेलाको ब्यबस्थापन गरिएको छ  ।

हालसम्म करिव २ लाख भक्तजनहरुको सहभागिता रहेको भरतपुर महानगरपालिका – २३ का वडा अध्यक्ष दिपक दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो “बिगतको तुलनमा यसवर्ष भक्तजनहरुको उल्लेख्य सहभागीता छ । अष्टमी र नवमीमा दैनिक करिव ८० हजार भक्तजनहरुको सहभागीता रहेको थियो । अझै आउने क्रम पनि जारी छ ।” वडा अध्यक्ष दवाडीले ४ तहको सुरक्षा टोलीले भक्तजनहरुको ब्यवस्थापन गरिरहेको बताउनु भयो । उहाँले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वयमसेवकको टोली ब्यवस्थापनमा खटिएको जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने कसरामा बिक्रम बाबाको मेला बर्षौ देखि चलिआएको हो ।  बिक्रम बाबाको पुजा अर्चना गर्नाले मनोकांक्षा पुराहुने धार्मिक विश्वास छ । सन्तान प्राप्ति, सुख शान्ति लगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रम बाबाको पूजागर्ने प्रचलन छ ।  मनोकाङ्क्षा पुरा हुन्छ भन्ने विश्वासमा बिक्रमबाबाको दर्शनको लागि आएको भरतपुर २१ पार्वतीपुरका लक्ष्मण अधिकारी बताउनु हुन्छ । उहाँले शुरुमा थारु समुदायले मात्रै मान्दै आए पनि पछिल्लो समय अरु समुदायमा पनि विश्वास बढेको बताउनुभयो ।

बिक्रम बाबा पूजामा बिशेष गरि बोका, परेवा, कुखुरा लगाएतका बली दिने पनि प्रचलन छ । धर्मप्रतिको आस्थाले बिक्रम बाबा दर्शनको लागी आएको पूर्वी चितवनका अर्का भक्तजन उमेस चौधरीको भनाई छ । मेलाको अन्तिम दिन २३ गते भरतपुर २३ वडा कार्यालय र सरिता इभेन्ट्सको संयुक्त आयोजनामा साँस्कृतिक साँझको आयोजना गरि समापन हुने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७९ चैत २० गते १३:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI