सामाजिक सञ्जालमा किन भेटिँदैनन् आमिर खान ?

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख २५ गते १४:०९
सामाजिक सञ्जालमा किन भेटिँदैनन् आमिर खान ?

काठमाडौं । कुनै पनि चर्चित व्यक्तिको व्यक्तिगत र व्यावसायिक जिन्दगीमा के चलिरहेको छ भनेर थाहा पाउने सबैभन्दा सजिलो माध्यम हो ती व्यक्तिहरूको सामाजिक सञ्जालका अकाउन्ट । विशेषगरी कलाकारहरू आफ्नो कामको प्रचार गर्नका लागि अहिले सामाजिक सञ्जालको प्रयोग गर्छन् ।

तर केही यस्ता कलाकार पनि छन् जो सञ्चारको माध्यम सामाजिक सञ्जाल मात्रै होइन भन्ने विश्वास राख्छन् । ती मध्ये एक हुन भारतीय कलाकार आमिर खान ।

विभिन्न सुपरहिट बलिउड फिल्ममा मुख्य अभिनेताका रूपमा अभिनय गरेका नायक खान सामाजिक सञ्जालमा भेटिँदैनन् । पछिल्लो समय ट्वीटर, इन्स्टाग्राम तथा फेसबुक जस्ता प्लेटफर्मले सशुल्क ब्लु भेरिफिकेसन फिचर उपलब्ध गराएकाले उनको नामका आधिकारिक अकाउन्ट भने भेटिन्छन् ।

तर, खान आफै भने सामाजिक सञ्जालमा सक्रिय छैनन् । उनले सन् २०२१ मै आफ्ना सबै सामाजिक सञ्जालका अकाउन्टहरू डिलिट गरेका हुन् ।

यसो त आमिर खानले सन् २०२१ को फेब्रुअरीमा आयोजित एक कार्यक्रममा बोल्दै डिसेम्बर २०२१ सम्म फोन स्विच अन नगर्ने घोषणा गरेका थिए । अर्थात् आफ्नो फिल्म ‘लालसिङ चड्डा’ प्रदर्शनीमा आएपछि मात्र फोन अन गर्ने उनको भनाइ थियो ।

विशेषगरी फोन अन हुँदा त्यसमा आउने फोनकलले कामप्रति केन्द्रित हुन नसकेको भन्दै उनले एक वर्षसम्मका लागि फोन अफ राख्ने घोषणा गरेका थिए ।

त्यसको करिब एक महिनापछि अर्थात् मार्च २०२१ मा उनले आफू सामाजिक सञ्जालमा पनि निष्क्रिय रहने घोषणा गरेका हुन् । आफ्नो ५५ औं जन्मदिन मनाइसकेपछि खानले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा अन्तिम पोस्ट राख्दै सामाजिक सञ्जालबाट टाढिएको जानकारी दिएका थिए ।

आमिर खान धेरै प्रशंसक भएका अभिनेता हुन् । उनको आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा ३६ लाख, ट्वीटरमा दुई करोड ६७ लाख र फेसबुकमा एक करोड ८० लाख बढी फलोअर थिए ।

“हे गाइज, मेरो जन्मदिनमा तपाईँहरूले दर्साएको न्यानो मायाका लागि धेरै धेरै धन्यवाद,” उनले सामाजिक सञ्जालमा राखेको अन्तिम पोस्टमा लेखेका थिए, “यहाँहरूमाझ अर्को समाचार शेयर गर्न आएको छु । यो मेरो सामाजिक सञ्जालको अन्तिम पोस्ट पनि हो । म जे भए पनि ‘सक्रिय छु’ भन्ने कुरालाई ध्यानमा राख्दै सामाजिक सञ्जालबाट टाढिने निर्णय गरेको छु । हामी पहिले जसरी एकअर्कासँग अन्तरक्रिया गर्थ्यौं त्यसरी नै अन्तरक्रिया तथा संवाद गर्न चाहन्छु । आमिर खान प्रडक्सनले अहिले आधिकारिक सामाजिक सञ्जालका अकाउन्ट तयार पारेको छ । म र मेरा फिल्मसँग सम्बन्धित अपडेट त्यहाँ फेला पार्न सक्नुहुन्छ । यहाँ आधिकारिक ह्यान्डल छ ! @akppl_official। सधैंझैँ यहाँहरूलाई धेरै माया ।”

खानले आफू सामाजिक सञ्जालबाट टाढिने निर्णय गरेसँगै उनका समर्थक चकित भएका थिए । वर्षौंदेखि सामाजिक सञ्जालमा सक्रिय उनी उक्त प्लेटफर्मबाट आफ्ना गतिविधि शेयर गर्दै आइरहेका थिए । त्यस्तै उनका सामाजिक सञ्जालका ह्यान्डललाई लाखौ व्यक्तिले फलो गरेकाले उनी समाजिक जनचेतनासँग सम्बन्धित पोस्ट पनि गरिरहेका हुन्थे ।

सामाजिक सञ्जालभन्दा अगाडि पनि मानिसहरू एकअर्कासँग अन्तर्क्रिया गर्न सक्थे भन्दै फेरी उही पुरानै माध्यम प्रयोग गर्ने उनको भनाइ थियो । धेरै फलोअर हुँदा पनि त्यसको कुनै प्रवाह नगरी सामाजिक सञ्जालबाट टाढिने उनको निर्णयले खानको स्टार्डमलाई थप उचाइ दिएको छ ।

आफ्नो जिन्दगीलाई आफ्नै तरिकाले जिउनुपर्छ वा अरूको प्रभावमा पर्नु हुँदैन भन्ने मान्यता राख्ने खान अहिले ध्यान गर्न नेपाल आएका छन् । खान आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्नका लागि काठमाडौं आएको बताइएको छ ।

प्रकाशित : २०८० वैशाख २५ गते १४:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI