सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख २६ गते १४:२६
सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने

कावासोती । सामाजिक विषयको पठनपाठन र परीक्षा नेपाली कि अंग्रेजीमा भन्ने विवाद देखिए पनि अन्ततः पठनपाठन र परीक्षाको माध्यम भाषा नेपाली नै हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषयको माध्यम भाषा नेपालीमात्र हुने तय गरेको छ ।

कक्षा १२ को परीक्षा सुरु हुनुअघि राष्ट्रिय परीक्षा बोर्डले सामाजिक अध्ययन विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारेपछि विद्यार्थी, शिक्षक र अभिभावक द्विविधामा परेका थिए ।

निजी र अंग्रेजी माध्यममा पठनपाठन गराउने विद्यालयले सामाजिक विषय पनि अंग्रेजी माध्यममा नै पठनपाठन हुनुपर्ने र परीक्षा पनि अंग्रेजी माध्यमबाटै दिन पाउनुपर्ने माग राख्दै आएका छन् । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मालगायत बोर्डका केही कर्मचारीले विद्यालयहरूलाई अंग्रेजीमा पनि परीक्षा दिन पाउने बताएका कारण झनै विवाद देखिएको एक शिक्षकले गुनासो गरे ।

पाठ्यक्रम, पाठ्यपुस्तक, माध्यम भाषा तय गर्ने जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रले पाएको छ । बोर्डका कर्मचारीले निजी विद्यालयको दबाबमा नमुना प्रश्नपत्र अंग्रेजीमा पनि बनाएको आरोप शिक्षकहरुले लगाएका छन् । गत वर्षको परीक्षामा अंग्रेजी माध्यममा परीक्षा दिने विद्यार्थीको उत्तरपुस्तिकालाई पनि बोर्डले मान्यता दिँदै आएको छ ।

केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले सामाजिक विषयको पठनपाठन र परीक्षा नेपाली भाषामा नै हुने जनाए । केन्द्रले सामाजिकको पठनपाठन र परीक्षा नेपाली वा अंग्रेजीमा हुने प्रस्ताव राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकमा पेस गरेको थियो ।

शिक्षामन्त्री अशोक राईको अध्यक्षतामा गत बुधबार बसेको बैठकले उक्त प्रस्ताव अस्वीकृत गरेको हो । विदेशमा सञ्चालित नेपाली विद्यालय र स्वदेशी विद्यालयमा पढ्ने विदेशी विद्यार्थीले मात्र सामाजिक विषयको परीक्षा अंग्रेजी माध्यममा दिन पाउने अर्यालले जनाए ।

कक्षा १ देखि १२ सम्म सामाजिक अध्ययन विषय नेपाली भाषामा पठनपाठन गराउनुपर्ने र परीक्षा पनि नेपाली भाषामा नै सञ्चालन हुनुपर्ने व्यवस्था गरिएको छ । निजी विद्यालयका धेरै विद्यार्थी सामाजिक विषयमा ‘नन् ग्रेडिङ’ मा परेपछि माध्यम भाषा अंग्रेजी पनि बनाउनुपर्ने दबाब बढेको थियो ।

आगामी शुक्रबार हुने कक्षा १२ को सामाजिक अध्ययन विषयको परीक्षा देशभर सञ्चालनमा छ । उक्त परीक्षामा नेपाली भाषामा नै परीक्षा दिनुपर्ने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । ‘विद्यार्थीले प्रश्नपत्र बुझेनन् भन्ने गुनासो रहेको छ । प्रश्नपत्र बुझ्न सजिलो होस् भनेर नमुना प्रश्नपत्र अंग्रेजीमा पनि बनाएका थियौं,’ उनले भने । बोर्ड स्रोतले शुक्रबार हुने परीक्षामा भने सामाजिक विषयको प्रश्नपत्र नेपाली भाषामा मात्रै हुने जनाएको छ ।

उनले भने, ‘तल्लो कक्षामा अंग्रेजी माध्यममा पढेर आएका विद्यार्थीलाई माथिल्लो कक्षामा नेपालीमा मात्र प्रश्नपत्र सोध्दा नबुझेको अवस्था छ । पाठ्यक्रम प्रारुपले नै माध्यम भाषा नेपालीमात्र भनेपछि नेपाली नै हुन्छ ।’

नेपाली कला, संस्कृतिका साथै भाषा प्रवर्द्धनका लागि भन्दै सामाजिक विषयलाई अनिवार्य गर्दै माध्यम भाषा नेपाली कायम गरिएको थियो । यसमा शिक्षा मन्त्रालयका अधिकारीहरूबीचमै मतभेद रहेको छ ।

केहिले अंग्रेजी माध्यम लाँद्दा नेपाली विद्यार्थी आफ्नै भाषामा कमजोर हुने गरेको गुनासो गरेका छन् भने केहीले भाषालाई बाध्यात्मक बनाउन नहुने बताएका छन् । नेपाली कला, संस्कृतिलगायत विषयमा नेपाली भाषामा नै अध्ययन गर्नु उचित हुने र यी कुरा अंग्रेजीमा अध्ययन गर्दा पनि फरक नपर्ने तर्कहरू अघि सारिएको छ ।

शिक्षाविद्को सुझावको आधारमा ४ वर्षअघि सामाजिक विषयलाई अनिवार्य गर्दै नेपाली भाषामा पठनपाठन र परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको थियो । मंगलबारदेखि बोर्डले एक हजार ४ सय ५६ परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन गरेको छ । जेठ ५ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थीले परीक्षा दिँदै छन् ।

प्रकाशित : २०८० वैशाख २६ गते १४:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI