भारतमा ‘मोका’ चक्रवातको चेतावनी, नेपालमा पर्छ असर ?

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख २७ गते ९:४५
भारतमा ‘मोका’ चक्रवातको चेतावनी, नेपालमा पर्छ असर ?

काठमाडौं । देशमा पश्चिमी र स्थानीय वायुको समान्य प्रभाव रहेकोले आज बुधवार कोशी, कर्णाली र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरुमा सामान्य हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको पहाडी भू–भागमा मौसम आंशिक बदली हुनाले गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

भारतमा ‘मोका’ चक्रवातको चेतावनी
यता भारतीय मौसम विभागले ‘मोका’ चक्रवातको चेतावनी जारी गरेको छ । विभागका अनुसार बंगालको खाडी माथि बनेको चक्रवात शक्तिशाली आँधीमा परिवर्तन हुन सक्ने छ । यसमा हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ ।सोमबार दक्षिण पूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ । मोका चक्रवात बंगलादेश र म्यानमारको तटतर्फ अगाडि बढ्ने बताइएको छ । पश्चिम बंगाल, उडिसा र आन्द्र प्रदेशमा सचेत रहन विभागले अलर्ट जारी गरेको छ ।
मोका चक्रवातको प्रभाव यो आँधी तटीय क्षेत्रबाट बंगलादेशतर्फ कति टाढा पुग्छ त्यसमा निर्भर गर्नेछ । विभागले समुद्री जहाज र माछा मार्नेहरूलाई मंगलबारदेखि बाहिर ननिस्कन आग्रह गरिसकेको छ । यससँगै मे ८ देखि १२ सम्म अण्डमान र निकोबार टापुहरू नजिकैको पर्यटन र ढुवानीलाई सीमित गर्न निगरानी गर्न पनि विभागले सम्बन्धित पक्षलाई भनेको छ ।

‘मोका’ को असर नेपालमा पर्छ ?
मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिलेसम्म यकिन भइसकेको छैन । भारतको उत्तर र पूर्वतर्फ यसको असर देखिरहेका कारण अहिले तत्काल यसको असर नेपालमा पर्ने छैन । तर, भोलि (बिहीबार) र शुक्रबार यो चक्रवात कतातर्फ सर्छ र नेपालबाट कति नजिक आइपुग्छ त्यसले निर्धारण गर्ने उनी बताउँछन् । यसले प्रवाहको ट्रयाक परिवर्तन गरेर नेपालबाट कति नजिक आइपुग्छ त्यसका आधारमा मात्र यसले नेपालमा असर गर्छ अथवा गर्दैन भन्न सकिने उनको भनाइ छ ।

प्रकाशित : २०८० वैशाख २७ गते ९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI