गैँडाकोटमा शर्माको एकल चित्रकला प्रदर्शनी

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख २९ गते ९:४७
गैँडाकोटमा शर्माको एकल चित्रकला प्रदर्शनी
कावासोती । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटका कलाकार भीमप्रसाद शर्माले एकल चित्रकला प्रदर्शनी गरेका छन् । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबार शर्माले ११औं एकल चित्रकला प्रदर्शनी गरेका हुन् ।

गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा गरिएको सो प्रदर्शनीमा शर्माले कोरेका २७ चित्र राखिएका छन् । यसअघि उनले भारत, जर्मनी, क्यानडा, अफगानिस्तान, डेनमार्क, दक्षिण कोरिया, बङ्गलालगायत देशमा समेत एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् । प्रदर्शनीको कलाप्रेमी तथा चित्रमा रुचि राख्नेहरूले अवलोकन गरेका थिए ।

किसान आर्ट ग्यालरीमा बेला–बेलामा कला, साहित्य तथा संस्कृति संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम हुँदै आएका छन् । कलावती आर्ट काउन्सिल, त्रिवेणी साहित्य प्रतिष्ठान र हामी कलाकार नामक संस्थाको सहयोगमा एकल चित्रकला प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा राखिएका ती यस्ता चित्र हुन् जसमाथि पाँच कविले हरेक चित्रमा कविता कोरेका छन् । शर्माका चित्रमा आधारित रहेर साहित्यकार गोविन्दराज विनोदी, गीता त्रिपाठी, सुमन पोखरेल, गोपी सापकोटा र सुदेश सत्यालले कविता कोरेका छन् ।

साझा प्रकाशनले कविता समेटेर ‘इत्थंविध चित्रः इत्थंविध कविता’ सङ्ग्रह प्रकाशन गरेको छ । ‘विनोदी सरलाई नभेटेको भए म चित्रकार हुने थिइनँ’, शर्माले भने, ‘मैले चित्र कोर्थे । उहाँले चित्र कोर्नुका साथै कविता पनि लेख्नुहुन्छ । चित्रकारको रचनालाई कविले कसरी हेरेको हुँदोरहेछ भन्ने अनुभव गरौँ न त भनेर अन्यलाई पनि कविता लेख्न लगाएर पुस्तकै तयार ग¥यौँ ।’ विदेशका विभिन्न ठाउँमा प्रदर्शनी गरेको भए पनि कलामा साहित्य मिसाएर आफ्नै गाउँ–ठाउँमा गरिएको यो प्रदर्शनी उनलाई खास लागेको छ ।

कोरोना महामारीका समयमा घरमै थुनिँदा कोरेका धेरै चित्र प्रदर्शनीमा राखिएका शर्माको भनाइ छ । ‘यो प्रदर्शनीमा अनुहार देख्न पाउनु हुन्न, मान्छेले काम गरेको भाव देख्न सक्नुहुन्छ’, उनले भने । प्रदर्शनीमा जीवन दर्शन, आध्यात्म, प्रकृति, कोरोनाकालमा भएका घटनालाई चित्रमार्फत देखाइएको छ । रासस

प्रकाशित : २०८० वैशाख २९ गते ९:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI