बालमैत्री वडाको बिद्यालयनै छैनन्, बाल र वातावरणमैत्री

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २ गते १८:२५
बालमैत्री वडाको बिद्यालयनै छैनन्, बाल र वातावरणमैत्री

पवित्रा पराजुली/गैँडाकोट ।

कुमारवर्ती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत राजन शाहीलाई विद्यालयको शौचालय जानै नपरे हुन्थ्यो जस्तो लाग्छ । शौचालयबाट आउने दुर्गन्ध, अनि शौचालयको राम्रो व्यवस्था नभएका कारण उनलाई विद्यालयको शौचालय जान मन लाग्दैन् ।

शौचालयको दुगन्र्ध कक्षा कोठासम्मै आउँछ । अनी त्यही नजिकै रहेको छ, खानेपानीको धारा । खानेपानीको धारा पनि व्यवस्थित छैन् ।
बालबालिकाको लागि दोस्रो पाठशाला हो, विद्यालय । घरपछि सबैभन्दा धेरै समय बालबालिकाले विद्यालयमा समय बिताउने गर्छन् । यही विद्यालयको संरचना बालमैत्री नहँुदा पठनपाठनमा पनि यसले प्रभाव पारेको छ ।

कुमारवर्ती आधारभूत विद्यालयको कक्षा ८ मा अध्यनरत ननिता सुसिलिङ्गलाई विद्यालयको शिक्षा र शिक्षक राम्रो लागे पनि भौतिक संरचना भने खासै चित्त बुझेको छैनन् । पर्याप्त खेल मैदान नहुनु, पानीको राम्रो व्यवस्था नहुने जस्ता कुराले उनलाई विद्यालयको सिकाइमा प्रभाव परेको उनले सुनाइन् । यतिमात्र होईन विद्यालयमा रहेको पुस्तकालय पनि सबै जान पाइदैन । कम्युटर बिग्रीएको लामो समय भएकाले कम्प्युटर चलाउन नपाएको उनको गुनासो छ । यी सबै कुराको राम्रो व्यवस्था भए पढाइमा सहज हुने उनको बुझाई छ ।

गैँडाकोट ११ मा रहेको कुमारवर्ती आधारभूत बिद्यालयमा हाल १६५ जना विद्यार्थी अध्ययनरत छन् । बजेट अभावका कारण विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न नसकिएको विद्यालयले जनाएको छ । शौचालयको सुधारका लागि पनि बजेट अभाव भएको विद्यालयका प्रधानध्यापक गोविन्द आचार्यले बताए । आगामी दिनमा यसलाई सुधार गर्ने उनको भनाई छ । स्थानीय सरकारले सहयोग गरेमा विद्यालयको संरचनालाई बालमैत्री र वातावरणमैत्री बनाउने योजना विद्यालयको रहेको उनले बताए ।
गैँडाकोट ११ का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य गुरु पौडेलले बिद्यालयको भौतिक सुधारका लागि वडाले सहयोग गर्ने बताएका छन् । गैँडाकोट ११ बालमैत्री वडा पनि हो । उनले बिद्यालयलाई पनि बालमैत्री बनाएर विद्यार्थीको लागि काम गर्ने बताएका छन् ।

उज्जवल भबिष्य बनाउनका लागि बालबालिका बिद्यालय पुग्छन् । असल शिक्षा दिनका लागि यहाँको भौतिक संरचना पनि बालमैत्री हुन जरुरी छ । यसमा बिद्यालय, शिक्षक, अभिभावक र सरकार सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित : २०८० जेठ २ गते १८:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI