राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेपछि हुप्सेकोटको पहाडी भेगमा खुसीयाली

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ ९ गते १६:१७
राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेपछि हुप्सेकोटको पहाडी भेगमा खुसीयाली

यामु कुमाल,
९ जेठ, नवलपुर ।

साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान, एकान्त अनकन्टार । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन्, न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन् । यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको नवलपुरको विकट क्षेत्रका १ सय ६५ घुरधुरीमा अहिले केन्द्रीय प्रशारणबाट विद्युतीकरण भएको छ ।


जिल्लाको पहाडी भेग दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीयवासीहरुमा खुशीयाली छाएको हो । हुप्सेकोट गाउँपालिका ४ रुम्सी, चारघरे र रिताहामा पहिलो पटक राष्ट्रिय प्रशारण लाइन पुगेको छ । वर्षौंदेखि टुकीे र सोलार बालेर दैनिकी चलाउँदै आएका यहाँका जनताका प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित छन् । गाउँमा बत्ती नभएर मोबाइल चार्ज गर्नपनि समस्या हुने गर्दथ्यो । अब भने उक्त समस्या हटेको छ । अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सहज र गाउँ नै उज्यालो भएको स्थानिय मनमाया कानुङ मगर बताउछिन् ।
उहाँभन्नु हुन्छ, “पहिला सोलार र टुकी बाल्दा त धेरै दुख हुन्थ्यो , घरभित्र मात्र हुन्थ्यो गएको पुस महिनामा विजुली आएपछि त गाउँ नै उज्यालो भएको छ ।”

 

यस्तै अर्का स्थानिय जिव वहादुर सिंजाली मगर भन्नु हुन्छ , “गाउँमा राष्ट्रिय प्रशारण लाइन आएपछि त घरमा धनसम्पत्ति आए जस्तै भएको छ । सबै गाउँलेको मुहार उज्यालो भएको छ । जिल्लाको पहाडी भेग विकट त्यहीमाथि बल्ल विजुली बल्यो धेरै खुसी लागेको छ ।”
बिजुली पुग्दा यहाँका जनाताहरुले नयाँ युगमा प्रवेश गरेको महसुस गरेका छन् । केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालन सँगै चारघरेमा ७० , रुम्सीमा ६० र रिताहाका ३५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। घरमा केन्द्रीय विद्युत् बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्न साथै विद्युतीय क्रियाकलापका लागि सहज भएको छ ।

हुप्सेकोट गाउँपालिका ४ रुम्सीमा रहेको एउटा मात्र विद्यालय हुप्सेकोट माध्यमिक विद्यालयलाई पनि विद्युत् विस्तारले राहत प्रदान गरेको छ । विद्यालयका प्रशासनिक कामकाज देखि कम्प्यूटर कक्षा सहजता भएको प्रधानाध्यापक बम वहादुर सारु मगरले बताउनु भयो ।

प्रसारण लाइन गत पुस महिनामा सञ्चालनमा आएको हो । गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ । वषौँ देखी अन्धकार झेल्दै आइरहेका पहाडीभेगका जनताले उज्यालो पाएका छन् । नेपाल विद्युत् प्राधिकरण आरुङखोला वितरण केन्द्रबाट विद्युतीकरण गरिएको हो ।

प्रकाशित : २०८० जेठ ९ गते १६:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI