कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १२ गते १९:०४
कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’ को काम मात्र बाँकी रहेको जनाइएको छ ।

कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका प्रमुख शङ्कर पौडेलले गैँडाकोट–राम्दी खण्डमा १६ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको बताए । ‘एक्जिम बैंक अफ इन्डियाको पाँच अर्ब ऋण सहयोगमा यस खण्ड निर्माणको काम सुरु भएको थियो’, उनले भने, ‘योजनाको म्याद यही जेठ ३० गतेसम्म रहेको छ, जम्मा एक सय ३१ किलोमिटर खण्डमध्ये हालसम्म एक सय १५ किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।’ पाल्पामा चार किलोमिटर तथा बाँकी नवलपुर खण्डमा कालोपत्र गर्न बाँकी रहेको योजना प्रमुख पौडेलले बताए ।

‘बाँकी रहेको कालोपत्र तथा रोड मार्किङको काम अबको १५-२० दिनभित्र सकिन्छ’, उनले भने, ‘तर गैँडाकोट–राम्दी खण्डका विभिन्न छ स्थानमा गरी एक हजार आठ सय मिटर खण्डमा पहिराका कारण कालोपत्रको काम गर्न सम्भव छैन ।’ यस खण्डमा ठूला–चार र साना दुई पहिरो रहेकाले यहाँ पहिरो रोकथामसँगै कालोपत्रका लागि पछि ठेक्का आह्वान गरिने योजनाप्रमुख पौडेलले बताए । लामो समय भइसक्दा समेत गैँडाकोटको ढोडेनी क्षेत्रको सडक किनारमा रहेका रूख कटानका लागि वन विभागबाट अनुमति नपाइएकाले रूख नकाटी सडक कालोपत्र गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।

‘सात मिटर चौडाइ रहेको यस सडकमा नवलपुरको गैँडाकोटबाट पाल्पाको राम्दीसम्म नै सवारीसाधन सञ्चालन भइरहेको छ । यस सडकमा रुट परमिट छैन तर स्थानीयवासीको सहजताका लागि सवारीसाधन सञ्चालन भइरहेका छन्’, योजना प्रमुख पौडेलले भने, ‘सडक निर्माणको काम इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डियाले गरेकाले योजनाको म्याद सकिनासाथ पुनः अर्को ठेक्का आह्वान गरेर पहिरो भएको स्थानमा पहिरो रोकथामसँगै कालोपत्र सुरु गरिने छ ।’

योजनाको समग्र प्रगति ५० प्रतिशत

नवलपुरको गैँडाकोटबाट उत्तरमा चीनको कोरला जोड्ने नाकाका रुपमा रहेको यस सडकको दक्षिण खण्डको समग्र प्रगति ५० प्रतिशत सकिएको छ । कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका योजना प्रमुख शङ्कर पौडेलका अनुसार चार सय ४० किलोमिटर लामो यस सडक निर्माणका लागि दुईवटा कार्यालयबाट काम भइरहेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको उनले बताए ।

 

प्रकाशित : २०८० जेठ १२ गते १९:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI