No ads found for this position

१० दिनमै पुल निर्माण सक्ने सम्झौता गरेका ठेकेदार फेरि सम्पर्कविहीन

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १६ गते १९:३३
No ads found for this position
१० दिनमै पुल निर्माण सक्ने सम्झौता गरेका ठेकेदार फेरि सम्पर्कविहीन
No ads found for this position

नारायण शर्मा/पूर्वी नवलपरासी

कावासोतीस्थित केरुंगे पुल निर्माणको काम ४ वर्षदेखि अलपत्र पारेका ठेकेदारले यही जेठ २१ गतेभित्र सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाए पनि मंगलबार (१६ गते) सम्म काम नै थालेका छैनन् ।

पुल निर्माणको ठेक्का पारेका चितवनका एडभेन्चर कन्सट्रक्सन प्रालिका संचालक ठेकेदार कमल भट्टले गत शुक्रबार जिल्ला प्रशासन कार्यालयमा यही ‘जेठ २१ गते आइतबारसम्म काम सम्पन्न गर्नेछु’ भनेर लिखित सम्झौता गरेका थिए । तर उनले काम सम्पन्न गर्ने भनेको अन्तिम मिति आउन ४ दिन मात्रै बाँकी छँदा पनि काम नै सुरु भएको छैन । सम्झौता गरेको ५ दिन बितिसक्दा उनले कामदार नै खटाएका छैनन् ।

‘हामीलाई झुक्याए कामै थालेनन् । म अहिले पुल निर्माणको काम हेर्न पुगेको थिएँ । निर्माणस्थलमा कोही पनि छैन । ठेकेदारले फेरि ठगे,’ वडा नम्बर ४ का अध्यक्ष नारायण लोहनीले भने ।

साढे १० करोडमा पक्की पुल निर्माणको जिम्मा लिएका ती ठेकेदारले पुल अलपत्र पारेको समाचार इकान्तिपुरमा प्रकाशन भएपछि सम्पर्कमा आएर काम गर्ने लिखित सम्झौतमा आफैंले हस्ताक्षर गरेका थिए ।

कावासोतीको अठाइस बिगाह र हसौरा जोड्ने पुल निर्माणको जिम्मा उनले ४ वर्षअघि पाए पनि पटकपटक ठेक्का नवीकरण गर्दै बीचमै अलपत्र पारेर सम्पर्कविहीन भएका थिए । तर पछिल्लो पटक ढलान नगरेर उनले पुल अलपत्र पारेको भन्दै कावासोती नगरपालिकाका मेयर विष्णु भुसालले ठेकेदार खोजेर कारबाही गरिपाऊँ भन्दै अघिल्लो साता प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेका थिए ।

त्यसपछि भने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको कार्यकक्षमा वडा अध्यक्षहरुको रोहबरमा उनले १० दिनभित्र काम सक्ने भन्दै लिखित सम्झौतमा हस्ताक्षर गरेका थिए ।

मेयरले प्रजिअलाई पत्र लेखेको समाचार विभिन्न सन्चार माध्यमा प्रकाशन भएको भोलिपल्टै उनी जिल्ला प्रशासनमा आएर सम्झौता  गरेका हुन् । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले भने पुल निर्माणको आयोजनालाई पत्राचार गरेर ठेकेदारलाई कालोसूचीमा राख्न पत्राचार गर्ने बताएका छन् ।

कावासोतीका मेयर विष्णु भुसालले ठेकेदार सम्पर्कमा नआएका कारण कारबाहीका लागि सिफारिस गर्न प्रजिअलाई पुन: पत्र पठाउने बताएका छन् ।

१० दिनभित्र काम सक्ने भनेर ५ दिनअघि नै लिखित सम्झौता गरेर फेरि सम्पर्कमा नआएको भन्दै मेयर भुसालले कारबाही प्रक्रिया अगाडि बढाउने बताए । समाचारका लागि पनि ठेकेदार भट्टलाई फोन गर्दा सम्पर्क हुन सकिरहेको छैन । वडाध्यक्ष नारायण लोहनीले फोन गर्दा भने आफू बुटवलमा भएको र छिट्टै आउने भन्दै अन्य कुरा गर्न चाहेका थिएनन् ।

प्रकाशित : २०८० जेठ १६ गते १९:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI