चन्द्रमाको सतहमा यसरी बाहिर निस्कियो भारतले पठाएको प्रज्ञान रोभर [भिडियो]

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ८ गते १३:३१
चन्द्रमाको सतहमा यसरी बाहिर निस्कियो भारतले पठाएको प्रज्ञान रोभर [भिडियो]

कावासोती । भारतले चन्द्रमाको दक्षिणी ध्रुवलाई लक्षित गरी पठाएको चन्द्रयान- ३ ले आवश्यक डेटा संकलनको काम शुरू गरेको छ ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन  (इसरो)ले प्रज्ञान नामको रोभर विक्रम ल्यान्डरबाट बाहिर निस्किएर आफ्नो काम गर्न थालेको जनाएको हो ।

६ वटा पाङ्ग्रा र २६ किलो वजन भएको रोभर विक्रम ल्यान्डरबाट बाहिर निस्किँदै गरेको भिडियो समेत इसरोले सार्वजनिक गरेको छ ।

विक्रम नामको ल्यान्डर चन्द्रमामा अवतरण गरेको १४ घण्टापछि इसरोले प्रज्ञान बाहिर निस्किएको जानकारी गराएको हो ।

चन्द्रमाको सतहमा पुगेपछि रोभरले पहिलोपटक आफ्नो सोलार प्यानल खोल्यो। अहिले उक्त रोभर १ सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा अगाडि बढिरहेको इसरोले जनाएको छ ।

१४ दिनको पूर्वनिर्धारित अवधिमा यसले करीब ५०० मिटर यात्रा गरेर चन्द्रमाको सतहमा पानी तथा बहुमूल्य खनिजहरूको सम्भाव्यता अध्ययन गर्ने  इसरोले जनाएको छ ।

अगाडि बढ्ने क्रममा यसले चन्द्रमाको सतहमा इसरोको लोगो र अशोक स्तम्भको छाप समेत बनाएको बताइएको छ ।

१४ दिनपछि दक्षिणी ध्रुवमा पूरै अंध्यारो हुने र तापक्रम पनि -२०० डिग्रीभन्दा तल पुग्ने भएकाले विक्रम ल्यान्डर र प्रज्ञान रोभर दुवै निष्क्रिय हुने इसरोले जनाएको छ ।

हेर्नुहोस्, भिडियो : (Source : ISRO Via The economic times)

प्रकाशित : २०८० भदौ ८ गते १३:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI