माननीयज्युहरु निदाउनु भएको कि निदाए जस्तो गर्नु भएको ?

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ १६ गते १६:०७
माननीयज्युहरु निदाउनु भएको कि निदाए जस्तो गर्नु भएको ?

सञ्जय भट्टराई 

संघीयता पछिको कान्छो जिल्ला नवलपुर । २ प्रतिनिधि सभा तथा ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरले प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक सहित ९ जना जनप्रतिनिधि पाएको छ ।

भनिन्छ निदाएका लाई उठाउन सजिलो हुन्छ तर निदाएको अभिनय गरेकालाई उठाउन सकिँदैन । ९ /९ जना जनप्रतिनिधि पाएका नवलपुरका जनताको दुख उस्तै छ, जनताका समस्या चाङ्ग उस्तै छ्न माननीयहरुको निद्रा खुलेको छैन यस्को प्रत्यक्ष उदाहरण नेपालको लाईफ लाईन पुर्व पश्चिम जोडने एक मात्र राष्ट्रिय राजमार्गको नवलपुर खण्डको ६८ किलो मिटरलाई हेरे पुग्छ ।

३ वर्षमा सम्पन्न हुने पर्ने आयोजनाले समयमै काम नसके पछि गत वर्षको साउनमा नेपाल सरकारबाट एक वर्ष म्याद थप पायो, थपिएको एक वर्षको समय सकिदा आयोजनाको प्रगति ३५ प्रतिशतको हाराहारीमा पुग्दा यो सडक भएर दैनिक यात्रा गर्ने हजारौं यात्रु र सडक दायाँबायाँका बस्तिका बासिन्दाले भने निकै सास्ती व्यवहोर्नु परेको छ तर ९/९ जना प्रतिनिधि सभा र प्रदेश सभाका माननीयज्युहरुलाई भने यो समस्याले पटक्कै पिरोलेको छैन ।

दाउन्नेवाट गैडाकोट ६८ किलोमिटर दुरी पार गर्न ४ घण्टा लाग्छ । देशकै लाइफलाइन मानिने ब्यस्त सडकको यो गति हुदा नजिकएको चाडबाडमा के हुने हो ? राजमार्गका खाल्डामा पानी भरीएका कारण दुइपांग्रे सवारी साधनका यात्रुको बिजोग हुने गरेको छ । माटोले पुरेको ठाउमा हिलाम्य सडक छ । हिलोमा गाडि चिप्लीने जोखिम उत्तिकै रहेको छ ।

झरी लाग्दा फोहर पानीले छयापीने र घाम लाग्दा धुलोले मान्छे चिन्नै नसकिने अबस्थामा यात्रुले सास्ती भोगेको भोग्यै छन । यहाँवाट निर्वाचित सांसदले यो सडकको बिजोग भएको हुँदा पनि संघिय संसद र प्रदेश सभा बैठकमा कुरा सम्म उठाएका छैनन । जनसरोकारका बिषयमा यहाँबाट निर्वाचित सांसद सडकको यो बिजोग स्थितिका बारेमा अनभिज्ञ झै छन ।

संघीय सरकारको महत्त्वपूर्ण आयोजनाको रुपमा रहेको यो सडक बिस्तारको काममा ढिला सुस्ती हुँदा संघीय संसदमा गत निर्वाचन यता नवलपुरका सांसदले यो विषय संसद बैठकमा उठाएका छैन्न भने प्रदेश सभाको बैठकमा पनि यो समस्या सांसदहरुको मुख्य विषय बन्न सकेको छैन ।

महेन्द्रराजमार्गको बुटवल नारायणगढ सडक खण्डमा दैनिक १२ हजार भन्दा धेरै गाडि आउजाउ हुन्छ । चाडबाड नजिकिदै गर्दा यो बाटो सम्झेर यात्रा गर्न पर्नेहरु टाउको समाउन बाध्य छन । राजमार्गमा फटाफट काम गर्न सकिने ठाउमा समेत कछुवा गतिमा काम भैरहेको छ ।

१ सय १४ किलोमिटर सडक फराकिलो पार्न चिनिया ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशनले १७ अर्बमा ठेक्का लिएको हो । गत साउन २२ गते काम सम्पन्न गर्न पर्ने ठेकेदारले त्यतिन्जेल २९ प्रतिसत मात्र काम सम्पन्न गरेका कारण सडक बिभागले आउदो साउन ९ गते सम्म फेरी तेश्रो पटक म्याद थपेको छ । भदौ पहिलो साता सम्म यो राजमार्गको काम ३५ प्रतिसत मात्र सम्पन्न भएको छ । यो कामको अनुगमन र चासो दिन सक्ने जिल्ला प्रशासन कार्यालय समेत मुकदर्शक भएर बसेको छ । महेन्द्रराजमार्गमा पर्ने मुख्य बवार र चोक हिलैहिलो र कतै धुलाम्य छ । महेन्द्रराजमार्गको डण्डाबाट पश्चिम दाउन्ने, बर्दघाट सम्मको करिब ४५ किलोमिटर खण्डमा देखिने कामै भएको छैन ।

देशकै व्यस्त मानिने यो सडको दुर्दसा बढदो छ । दाउन्नेदेखि गैडाकोट सम्मको करिब ६८ किलोमिटर क्षेत्रमा १६ वटा मात्र डोजरले काम गरेको छ । हरेक ५ किलोमिटर क्षेत्रमा कम्तिमा ७, ८ वटा हेभि इक्वीपमेन्टले काम नगरे अझै ५ वर्ष सकिन्न सडकका एक इन्जिनियर भन्छन यो सडक चाडो सक्न जनप्रतिनिधिले चासो दिन सक्छन कुरा उठाउन सक्छन उनिहरुलाई चासो नभएपछि यस्तै बेहाल भैरहन्छ ।

अझ अर्को गजब कुरा के छ भने नेपाली कांग्रेस गैंडाकोटको नगर सम्मेलनमा सहभागी हुन आएका कांग्रेस महामन्त्री एवं झापाबाट निर्वाचित सांसद विश्वप्रकाश शर्माले भैरहवा देखि गैंडाकोट सम्मको यात्राको क्रममा सडकको बिजोग देखे पछि संसद बैठकमा र प्रधानमन्त्रीलाई भेटेर कुरा राख्ने बताईरहदाँ जिल्लाका सांसदको मौनता कहिले तोडिने हो त्यो भने थाहा छैन ।

जनप्रतिनिधिको मौनता देख्दा लाग्छ उनिहरु मस्त निद्रामा छ्न भने सडकै कारणले दुख पाएका जनता भने आफ्ना सांसद यो समस्यामा संसदमा बोल्देलान, सरकारलाई दबाब बनाउलान र निर्माण कम्पनीले सडक बिस्तारको कामलाई तिब्र गतिमा अगाडी बढाउला भन्ने झिनो आशामा दुख र सास्ती बोकेर बसिरहेका छ्न ।

नवलपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ डा. शशांक कोइराला, विष्णुकुमार कार्की, समानुपातिक तर्फ विना थनेत, प्रदेश सभा तर्फ महेन्द्रध्वज जिसी, रोशनबहादुर गाहा, पदमा जिसी श्रेष्ठ, लक्ष्मणबहादुर पाण्डे र समानुपातिक तर्फ दमयन्ती रुचाल र विन्दु पौडेल विजयी भएका छ्न ।

प्रकाशित : २०८० भदौ १६ गते १६:०७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI