No ads found for this position

धान बालीमा सेतो पुतलीको प्रकोप बढदै जाँदा नवलपुरका किसान चिन्तित

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २१ गते १५:०४
No ads found for this position
धान बालीमा सेतो पुतलीको प्रकोप बढदै जाँदा नवलपुरका किसान चिन्तित
No ads found for this position
कावासोती ।  नवलपुरमा किसानले लगाएका धानबालीमा पुतली (झिँगा) को समस्या बढ्न थालेको छ । धान बालीमा सेतो पुतलीको समस्या बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । कावासोती नगरपालिका क्षेत्रको धान बालीमा पुतलीको समस्या बढ्दो क्रममा रहेको नगरपालिकाका कृषि विकाश शाखा प्रमुख शिवनारायण कुमालले बताए ।‘वडानं ७ देखि १७ सम्मका धान बालीमा पुतलीको समस्या दैनिकरुपमा बढिरहेको छ’। उनले भने, ‘सावित्री र हाइब्रिड जातका धानमा धेरै क्षति भएको पाएका छौँ ।’ धान बालीमा सेतो पुतलीको समस्या देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि अभियान नै चलाएको छ । धान खेतमा पुगेर किसानलाई प्रशिक्षण र व्यवस्थापन विधि सिकाइएको शाखा प्रमुख कुमालले बताए । सेतो पुतलीका कारण धानको पात पहेँलिने समस्या कावासोती र गैँडाकोट नगरपालिकामा जटिलरूपमा फैलिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए ।

‘जिल्लाका आठवटा पालिकामध्ये कावासोती र गैँडाकोटको धान बालीमा पुतली र ढुसीको समस्या फैलिँदो रहेको पाएका छौँ’, उनले भने । जिल्लामा अहिले सुरुवाती चरणमा रहे पनि दिन प्रतिदिन धान बालीमा क्षति फैलिँदो रहेको प्रमुख लामिछानेले बताए । यसवर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । जिल्लामा यो वर्ष ७६ हजार नौ सय ५६ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिए पनि पछिल्लो समस्याले उत्पादन घट्न सक्नेमा उनको चिन्ता थियो ।

‘यी पुतली प्रायजसो पातको पछाडिपट्टिको सतहमा बस्दछन्’, प्रमुख लामिछानेले भने, ‘यो कीराको वृद्धि विकास र क्षति प्राय गरेर चिसो मौसमभन्दा गर्मी मौसममा बढी देखिन्छ । सेतो पुतलीको वयस्कले एकै पटक एक सय ५० वटासम्म सेतो रङ्का फुल पार्छ । यसको बच्चा अन्डाबाट निस्केपछि एकदेखि तीन हप्तासम्म पातमा टाँसिएर बस्ने गर्दछ ।’

नेपालमा मुख्यतया गोलभेँडा, काँक्रो, भण्टालगायत तरकारी बालीमा यस्तो कीराको समस्या देखिए पनि पछिल्लो समय धानमा समेत व्यापक रूपमा क्षति पुर्‍याउन थालेको उनले बताए । यो कीरा वयस्क हुँदा एक मिलिमिटरभन्दा सानो, शरीर हल्का पहेँलो सेतो तथा पखेटा सेतो देखिन्छ । संक्रमित बिरुवा चलाउँदा सेता स–साना कीरा उडेको देख्न सकिने र वयस्कले रोगी बिरुवाबाट भाइरसजन्य रोग स्वास्थ्य बिरुवामा सार्नुका साथै एउटै गाँजमा हजारौँको संख्यामा यसको संक्रमण भएको समेत देखिने प्रमुख लामिछानेले जानकारी दिए ।

‘यो पुतलीको बच्चा र वयस्क दुवै हजारौँ संख्यामा रही धानका कलिला पातको रस चुसेर बिरुवालाई कमजोर बनाउँदछ’, उनले भने, ‘बच्चा अवस्थामा यसले गुलियो पदार्थ उत्पादन गर्छ र यसमा कालो ढुसी विकास हुन गई पातको सतह छोप्दा पातमा प्रकाश संश्लेषण प्रक्रिया अवरुद्ध हुनपुग्दछ ।’

प्रकाशित : २०८० भदौ २१ गते १५:०४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI