सहमतिपछि होङ्सी सिमेन्ट कारखानामा आन्दोलन रोकियो

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २४ गते १५:३३
सहमतिपछि होङ्सी सिमेन्ट कारखानामा आन्दोलन रोकियो

नारायण शर्मा, पूर्वी नवलपरासी — होंसी सिमेन्ट कारखानाले ४ वर्षदेखि ढुवानी भाडा वृद्धि नगरेको भन्दै व्यावसायीहरूले थालेको आन्दोलनका विषयमा कारखाना व्यवस्थापन र मजदुरहरुबीच वार्तापछि आंशिक सहमति भएको छ ।आइतबार भएको छलफलपछि भाडा वृद्धिका बारेमा आउँदो शुक्रबारसम्म लगानी बोर्डका प्रतिनिधिसँग वार्ता बस्ने सहमति भएको हो । वार्तापछि दुबै पक्ष कारखानाको पहुँच मार्गमा व्यावसायीले अवरोध नगर्ने सहमतिमा पुगेका छन् । ढुवानी व्यावसायीले कारखानाको मुल गेट र सडकमा टिपर तेर्साएर गरेको अवरोध अहिले दिउँसोबाट हटाउने सहमति भएको छ ।

ढुवानी आन्दोलन समितिका उपाध्यक्ष आशीषजंग जिसीका अनुसार काठमाडौंबाट लगानी बोर्डका प्रतिनिधि ल्याएर आगामी शुक्रबारअघि वार्ता गरेर निस्कर्षमा पुग्ने भनेर लिखित सहमति भएको छ । ‘हामी चुनढुंगा र सिमेन्ट ढुवानीको काम गर्दैनौं । राजमार्गमा गरिएको अवरोध एकतर्फी हटाउँछौं,’ जिसीले भने, ‘लगानी बोर्डका प्रतिनिधिसँग छलफल गरेर भाडा वृद्धि गरिएपछि सबैतिरको ढुवानी सेवा सुचारु हुनेछ ।’ नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा कारखाना व्यवस्थापन र ढुवानी व्यावसायीबीच आइतबार बिहान ९ बजेबाट सुरु भएको वार्ता केही बेरअघि टुंगिएको हो ।

वार्तासँगै राजमार्गमा गाडी तेर्साएर गरिएको अवरोध एकतर्फी हटाइने बताइएको छ । सडकमा दोहोरो गाडी राखेर अवरोध गरेकोमा एकातिरका गाडी हटाएर बाटो खोल्ने सहमति भएको जिसीको भनाइ छ ।

व्यावसायीले गत शुक्रबारबाट मुलगेट र सडकमा टिपर तेर्साएर भाडा बढाउन माग गर्दै आन्दोलन गरेका थिए । कारखानाको चुनढुंगा खानी भएको पाल्पाको भुटुकेदेखि कारखानासम्म २८ किलोमिटर दूरी छ । चुनढुंगा खानीबाट कारखानासम्म ढुवानी गर्न ५६ किलोमिटरको दूरी छ । चार वर्षअघिको प्रतिटन ७ सय ७ रुपैयाँ दरमा आज पनि सामान बोक्न बाध्य पारेका कारण आन्दोलनमा होमिएको व्यावसायीहरूले बताउँदै आएका छन् ।

साथै अब प्रतिटन एक सय रुपैयाँ वृद्धिको माग राखिएको जिसीले बताए ।ढुवानीवापतको रकम हरेक १५/१५ दिनमा भुक्तानी दिने सम्झौता भए पनि एक महिनापछि मात्र भुक्तानी दिने गरेको व्यावसायीको भनाइ छ । यहाँ दैनिक ४ सय टिपरले चुनढुंगा बोक्छन् । कारखानाले वार्षिक ३० लाख टन चुनढुंगा ओसार्ने गरेको छ । र त्यति नै खपत पनि छ । खानीदेखि कारखानासम्मको सडक पिच गरे एउटै टिपरले दैनिक ५, ६ खेप गर्नसक्ने व्यावसायी बताउँछन् । हाल दैनिक ४ हजार टन मात्र उत्पादन हुँदै आएको छ ।

प्रकाशित : २०८० भदौ २४ गते १५:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI