“म मेरो प्रधानमन्त्रीलाई स्थानीय तहका कर्मचारीको अपेक्षा सुनाउन चाहन्छु”
सम्माननीय प्रधानमन्त्रीज्यु,
सादर नमस्कार ।
प्रमज्यू,
देशवासीलाई देशको शासन र प्रशासन निम्छरो महसुस भएका बेला, शासन सञ्चालन गर्ने विधि र वातावरणले आमनागरिकलाई दुखाएका बेला, आफ्ना वारिसेहरूको व्यवहार, विवेक र क्षमता प्रति नागरिकमा आस्था, विश्वास र भरोसा साँघुरिएका बेला पक्कै पनि तपाईंको मन शीतल छैन होला । निद्रा राम्रोसँग परेको छैन होला । के गरौँ कसो गरौँ भन्ने छटपटी ले पक्कै पनि सताएको होला ।
देशको शासन र प्रशासनलाई नागरिकसँग जोड्न । समता र सहभागितालाई जीवनपद्धति बनाउन। असमानताका सबै खाडलहरू पुर्न । नागरिकको हासो सुन्न, आँसु पुछ्न। नागरिकलाई अवसर, सुरक्षा, न्याय, समानता, सेवा र विकासको सही प्रत्याभूति दिलाउन तपाईले नायकत्व गरेको विधि हो संघीयता ।
त्यही विधिलाई संस्थागत गर्न, दिगो बनाउन ,नागरिक मुखी बनाउन आवश्यक पर्ने कानुनको निर्माण गरिंदै गर्दा समावेश हुनुपर्ने विषयहरुका सबालमा आफ्ना मतहरु शालीनता पूर्वक राख्दै गर्दा तपाईंले निर्शेस गरिरहनु भएको प्रहरी प्रशासनको लाठि खाँदै सडकबाट नै यो पत्र तपाईं समक्ष प्रेषित गरेको छु ।
हजुरलाई थाहा छदैछ भगवानले सुनुन् या नसुनन् भक्तले मन्दिरमा घण्टि बजाउन छोड्दैनन् । आज मैले पनि मेरो देशको अभिभावकलाई सुनाउन चाहेकोछु । मलाई थाहा छ । हजुरको व्यस्तता छ । प्राथमिकताहरु फरक छन् । शक्ति,स्रोत र अधिकारले निम्छरा स्थानीय तहका कर्मचारीहरुको कुरा सुन्ने मन र जाँगर होला वा नहोला ।
तथापि भक्तले मन्दिरमा घण्टी बजाए जस्तै मेरो सोंच रुपी शब्दहरुले तपाईंको मनमा घन्टी बजाउन भन्ने अपेक्षा गरेको छु ।
एक अंग्रेजी कवि थोमस रोजले भन्नु भएको छ ‘इग्नोरन्स इज ब्लिस’ । उहाँले भने जस्तै साँच्चै केही पनि वास्ता नगर्दा जति मजा, वास्ता गर्दा हुँदो रहेनछ । वास्ता गर्दा बोल्न मन लाग्छ । लेख्न मन लाग्छ । त्यो नै मन दुखेर दुखाउने कारण बनिदिदो रहेछ । खयर जे भए पनि लेख्ने प्रयास गरेको छु जो सँग अपेछा गरिन्छ, उसै सँग दुखेसो पोखिन्छ ।
बेलायतको तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरलाई एउटा कार्यक्रममा पत्रकारले तपाईंको सफलतामा कसको योगदानलाई ठुलो मान्नुहुन्छ ? भनेर प्रश्न गर्दा उहाले मेरो आलोचकहरूको भन्नु भएछ । कसरी ? भन्ने प्रश्नमा उहाँले मैले बाटो बिराएको बेला सत्ता र शक्तिको उचाइबाट सबैलाई होचो देखेको बेला, स्वार्थमा लिप्त सल्लाहाकारहरूको सल्लाहले मात चढेका वेला, ती आलोचकहरूको आलोचना मेरो लागि मार्गदर्शन भए भन्नु भएको थियो ।
प्रधानमन्त्रीज्यू, हजुरलाई म थ्याचरको भन्दा कम्ती विवेक भएको व्यक्तिव्यको उचाइमा राखेको छैन । यहाँ द्वन्द्वात्मक भौतिकवादको दर्शनमा लामो समय खारिएको मान्छे । थेसिस् -एण्टीथेसि – सेनथेसिस्को क्रियात्मक अवस्थाबाट समाजमा परिवर्तन हुन्छ भन्ने कुरालाई सत्य मानेको मान्छे । त्यसैले म विश्वस्त छु हजुरले आलोचनात्मक चिन्तनलाई सहिष्णुताका साथ स्विकार्नु हुनेछ । सोही स्तरको श्रद्धाको साथमा केही विषयमा विमर्श गर्न अनुमति चाहन्छु ।
‘प्रधानमन्त्रीज्यू, मैले गलत बुझे या सही थाहा छैन । मेरो बुझाइमा लोकतान्त्रिक राजनीतिक व्यवस्थामा विधि र संस्कारको मुहान ससद हो । सरकार हो । राजनीतिक दल हो । ससद सरकार र राजनीतिक दलबाट निसृत हुने चेतना, विवेक, व्यवहार र संस्कारबाट समाज र व्यक्ति प्रभावित हुन्छ । समाजको गति निर्धारण हुन्छ । त्यसैले सरकार राज्य संयन्त्रका सबै निकाय र आम नागरिकको अभिभावक हुनु पर्दछ भन्ने लाग्दछ ।
आज देश संघीयता कार्यान्वयनको दोसाँधमा उभिएको छ। संघीयता कार्यान्वयन गर्ने संरचना र कार्यविधि हरुलाई व्यवस्थित गर्ने कानुनहरु बन्ने प्रक्रियामा रहेको छ । यसै सन्दर्भमा बनेका बिधेयकहरु मन्त्रिपरिषद्मा निर्णय हुने र संसदमा दर्ता हुने प्रक्रियाकै क्रममा विवादहरू, असन्तुष्टिहरू र आन्दोलनहरू क्रमिक रूपमा देखिँदै आएका छन् ।
यस्तै परिवेशको एउटा भोक्ता पात्रको हिसाबले संघीय एकिकृत निजामती सेवा ऐनको शीघ्र आवश्यकता र एनले समावेश गर्नुपर्ने विषयहरु उपर प्रमज्यु समक्ष आफ्ना रायहरु राख्ने अनुमति चाहन्छु:
१) राष्ट्रिय एकता, सुरक्षा, समभाव सहिषुणता र लोकतन्त्रका मूल्यहरुको वितरण गर्ने प्रणाली सार्वजनिक प्रशासन हो । जनजनमा यी मूल्यहरु स्थापित गर्ने काम सार्वजनिक सेवामा कार्यरत कर्मचारी को हो । यसरी हेर्दा राज्यको आदर्श, मार्गदर्शन, नीति र कार्यदिशालाई भुंई सतहमा कार्यान्वयन गराउने स्थानीय तहका कर्मचारीहरुले स्वयंमा सार्वजनिक प्रशासनलाई एकताबद्ध, सुरक्षित, न्यायिक र सहिषुण महसुस गर्न नसक्दा राज्यका आदर्श र मूल्यहरु के सहीरूपमा वितरण हुन सक्लान् ? अवस्य सक्दैनन् । प्रमज्यु विचार पुर्याइयोस् ।
२) प्रमज्यु तपाईंको चाहना छ हुम्लाको विकट गाउँपालिकामा रहेका नागरिकहरूले सहज ढङ्गबाट सेवा प्राप्त गरुन् । विकासको अनुभूती गर्न पाउन । मेरा लागि राज्य छ भन्ने महसुस गर्न पाउनु । प्रमज्यु, एकपटक विचार गर्नुस् त ! तपाईंको चाहनालाई पूरा गर्ने त्यहाँका स्थानीय तहका कर्मचारीहरु हुन् या सिंहदरबारमा बस्ने कर्मचारी हुन् ? यदि हुम्लाको विकट गाउँपालिकामा रहेर सेवा गर्ने ती कर्मचारीहरूको मन चिसियो भने तपाईंको चाहनाले मूर्तरूप लेला? त्यसैले तपाईंको चाहनाको सारथी स्थानीय तहका कर्मचारीहरुले हुम्लाको विकट गाउँपालिकामा रहेर काम गर्दैगर्दा देशको मुख्य सचिव बन्न पाउने सपना देख्न पाउने कि नपाउने ? यदि नपाउने हो भने तपाई आफैमा दशवर्षे जनयुद्धको नायक हुनुहुन्छ । सपना मरेको, अपेक्षा मरेको, भविष्य नदेखेको सेनाले सेनापतिलाई कुन मनोबलका साथमा सहयोग गर्नसक्छ ? त्यो कुराको भोक्ता तपाईं आँफै हुनुहुन्छ । विचार पक्कै पुर्याउनु हुनेछ ।
३) हिजो एकात्मक राज्यव्यवस्था हुँदा राजपत्र अनंकित र अंकित का रूपमा कर्मचारीहरुलाई विभाजन गरियो । जुन विभाजनले कर्मचारीहरुको भावनात्मक मेल र समभावमा ठेस पुर्यायो । त्यसैले तहगत प्रणालीमा जान पर्छ भन्ने कुरा प्रशासन सुधारका सबै आयोगका सिफारिसहरुले सुझाव दिए। तर आज संघीय लोकतान्त्रिक व्यवस्थामा संघीय निजामती सेवा, प्रदेश निजामती सेवा, सरकारी सेवा, स्थानीय सेवाका नाममा यतिका धेरै खाडलहरू खन्दै छौं । विभाजनका रेखाहरु कोर्दै छौं । यसले हाम्रो कर्मचारीतन्त्रलाई, कार्यरत कर्मचारीहरुलाई अंश अंश मा विभाजन गर्नेछ एकता, सुरक्षा, समभाव र सहिष्णुता स्खलित भएर जानेछ ।
अन्तत संविधानले अपेक्षा गरेको तीनै तहबीचको प्रशासनिक साझेदारी, सहयोग र सहकार्यको मर्मलाई प्रहार गर्नेछ । प्रमज्यू विचार पुर्याउनुहोस् ।
४) हाम्रो संविधानले हामीलाई सहकारिता, सहअस्तित्व र समन्वयको भावमा राज्यका संरचनाहरु र सञ्चालन विधिहरू तय हुनुपर्छ भन्ने कुरा निर्देश गरेको छ । प्रमज्यु विचार गरियोस् त! के संघीय सरकारको प्रतिनिधि स्थानीय तहमा जानु र स्थानीय तहमा उहाँहरूको लागि स्थान सुरक्षित हुनु तर स्थानीय तहमा कार्यरत कर्मचारीका लागि प्रदेश र संघमा स्थान सुरक्षित नहुनुले सहकारिता, सहअस्तित्व र समन्वयकोभावलाई जीवित राख्न सक्छ ? हजुरलाई पक्कैपनि थाहा छ । सहकारिता, सहअस्तित्व र समन्वय समान अधिकार प्राप्तिमा हुन्छ । सम्मानपूर्वक स्थान दिनु र लिनु हुन्छ।
प्रमज्यु सोहीअनुसार विचार पुर्याईयोस् ।
अन्त्यमा,
प्रधानमन्त्रीज्यू हजुर हाम्रो अभिभावक हुनुहुन्छ । म हजुरलाई मेरो आमाजस्तै अभिभावक भएको हेर्न चाहन्छु । जसले आफ्नो सन्तानलाई समान रुपमा उत्प्रेरणा दियोस् । सुरक्षा दिनोस् । हौसला दियोस्। काम नगर्ने तर अरुलाई कज्याउने र काम गर्ने सन्तानको पहिचान गरोस् । सन्तानको सुरक्षा, वृत्ति विकास, पहिचान र उच्च मनोबलकाका लागि ढाडस बनोस। संरक्षक बहोस् । प्रेरक बनोस् ।
प्रधानमन्त्रीज्यु, तपाइँको कार्यकाल ऐतिहासिक बनोस् । सुखद बनोस् । संघीयतामा सार्वजनिक प्रशासनको अनुकरणीय व्यवस्थापकको पहिचान बनोस् ।
हामी सधैं तपाईंको साथमा रहनेछौं ।
शुभ दिन
राजन पाण्डे
कावासोती नगरपालिका
२०८०।०६।२२
माइतीघर, काठमाडौ
प्रकाशित : २०८० असोज २३ गते १४:३७
Facebook Comment