राजनितिज्ञ सापकोटाको स्मरणमा विविध कार्यक्रम

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १२ गते २१:२३
राजनितिज्ञ सापकोटाको स्मरणमा विविध कार्यक्रम

कावासोती । समाजसेवी एवम् राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्यतिथि विविध कार्यक्रम गरी मनाइएको छ ।

गैँडाकोट ८, नवलपुरमा रहेको सापकोटा निवासमा रक्तदान, स्वर्गीय सापकोटाको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रदर्शन, स्वर्गीय सापकोटामा समर्पित पत्रिकाको विशेषांक लोकार्पण, कवि गोष्ठी, लक्ष्यदीप प्रज्ज्वलनसहितका कार्यक्रम गरि पुण्य तिथि मनाइएको हो ।

स्वर्गीय सापकोटाको योगदानमा आधारित कवि गोष्ठीमा साहित्यकार डा. नवराज लम्साल, हीरालाल कँडेल, लक्ष्मीकान्त शर्मालगायतले कविता वाचन गरेका थिए । कवि गोविन्दराज विनोदीद्वारा सापकोटाको देहावसान हुँदा शवयात्रामा लिखित ‘उहाँमा देशको चिन्ता’ नामक कविताको म्युजिक भिडियोसमेत रिलिज गरिएको छ ।

त्यसैगरी, स्वर्गीय सापकोटाको पुण्य तिथिका अवसरमा उनकै निवासमा कांग्रेस गैँडाकोट ८ नम्बर वडा समितिले रक्तदान कार्यक्रम गर्यो । त्यसक्रममा ३५ जनाले रक्तदान गरेको स्वर्गीय सापकोटाका कान्छाछोरा विजयले जानकारी दिए ।

नवलपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्न पार्टीबाट आफूले पाएको टिकट शशांक कोइरालालाई दिएर निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

१७ माघ २००१ मा बाग्लुङको दमेक, रितिपमा जन्मिएका सापकोटाको ७९ वर्षको उमेरमा गत वर्षको २३ कात्तिकमा निधन भएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष समेत रहेर काम गरेका सापकोटा ०३६ सालमा हालको विजय विकास स्रोत केन्द्रको स्थापनामा प्रमुख उत्प्रेरक थिए । सो संस्थाले अहिले शिक्षा, सूचना संचार र बचत र लघुवित्तको क्षेत्रमा काम गर्दै आएको छ ।

सापकोटा निवासमा सोमबारदेखि सुरु भएको वार्षिक पुण्य तिथिको कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, प्रतिनिधिसभा सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालालगायत उपस्थित भए ।

यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलगायतका नेता पनि सहभागी भए ।

कार्यक्रममा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवं हरिहर सन्न्यास आश्रम देवघाटधामका पीठाधीश एक हजार आठ स्वामी ज्ञानानन्द सरस्वती, मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यलगायतका सन्तहरुको समेत उपस्थिति रहेको थियो । सापकोटाका दुई श्रीमती, सात छोरा, ४ छोरी छन् ।

प्रकाशित : २०८० मंसिर १२ गते २१:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI