नवलपुरमा धान उत्पादनमा सामान्य वृद्धि

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १३ गते १६:५३
नवलपुरमा धान उत्पादनमा सामान्य वृद्धि

कावासोती । नवलपुरमा वर्षे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धान खेती हुने क्षेत्रफल घटदै गएको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेका अनुसार जिल्लामा गत वर्षभन्दा यस वर्ष धान खेती भएको क्षेत्रफल १ सय ८८ हेक्टरले घटेको भएपनि उत्पादन भने ९ सय ९ मेट्रिक टनले वृद्धि भएको जानकारी दिए । उनका अनुसार यस वर्ष जिल्लामा १८ हजार ६ सय २८ हेक्टर क्षेत्रफलमा लगाईएको वर्षे धान खेतीबाट ७७ हजार ८ सय ६५ मेट्रिक टन वर्षे धान उत्पादन भएको हो । गत वर्ष जिल्लामा १८ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा लगाईएको वर्षे धान खेतीबाट ७६ हजार ९ सय ५६ मेट्रिक टन वर्षे धान उत्पादन उत्पादन भएको थियो । उत्पादकत्वको हिसाबले यो वर्ष जिल्लामा प्रती हेक्टर ४.१८ मेट्रिक टन धान उत्पादन भएको हो ।

जिल्लामा यस वर्ष खडेरीका कारण क्षेत्रफल घटेको भए पनि वर्षे धान उत्पादनमा सामन्य वृद्धि भएको बताउदै सूचना अधिकारी काफ्लेले किसानले विषेश गरेर साँवा मन्सुली, साबित्री, रामधान, युस-३१२, अनदी लगाएतका जातका धान रोपेका जानकारी दिए ।

यसै बिच कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लामा यस वर्ष चैते धानको उत्पादन र लगाईने क्षेत्रफल गत वर्षको भन्दा बढने प्रक्षेपण गरेको छ । केन्द्रले ०७९/८० मा जिल्लामा १ हजार २ सय २२ हेक्टर क्षेत्रफलमा ६ हजार १ सय ७१ मेट्रिक टन चैते धान उत्पादन भएकोमा यस वर्ष १ हजार ५ सय हेक्टर क्षेत्रफलमा ७ हजार ६ सय ५ मेट्रिक टन चैते धान उत्पादन हुने प्रक्षेपण गरेको हो । यस वर्ष अघिल्लो वर्ष भन्दा थप ४ सय ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती प्रवर्द्धनका लागि बजेट व्यवस्थापन भएको बताउदै सूचना अधिकारी काफ्लेले चैते धान प्रती किसानको आकर्षण बढदै गएको जानकारी दिए ।

प्रकाशित : २०८० मंसिर १३ गते १६:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI