मध्यवर्तीको समस्यामा संसदीय समितिको चासो: ऐन संसोधन गर्न सरोकारवालाको जोड

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १५ गते २२:४४
मध्यवर्तीको समस्यामा संसदीय समितिको चासो: ऐन संसोधन गर्न सरोकारवालाको जोड

सन्जय भट्टराई,कावासोती । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका कारण जनताले भोगेका समस्याका विषयमा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले चासो देखाएको छ ।

शुक्रबार नवलपुरको अमलटारीमा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले नवलपुरका स्थानीय तहका जनप्रतिनिधि, निकुञ्जका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, राजनीतिक दल, पर्यटन व्यवसायी, संरक्षणकर्मी, सामुदायिक वन समितिका प्रतिनिधिहरु सँग छलफल तथा राय सुझाव संकलन गरेको छ ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल पार्वती नेतृत्वको समितिले राष्ट्रिय निकुञ्ज ऐन २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ को कारण मध्यवर्ती क्षेत्रका जनतामा परेको समस्या तथा निकुञ्जको संरक्षणको विषय छलफल गरि राय संकलन गरेको हो ।

छलफलमा सहभागी अधिकांश सहभागीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०३० र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावलीका कारण नवलपुरको विकास निर्माणको गति मात्रै रोकिएको नभैइ मध्यवर्ती क्षेत्रमा रहेका बासिन्दाको जनजिविका ठूलो समस्या उत्पन्न भएको बताएका हुन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०३० र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ का कारण निकुञ्ज र मध्यवर्ती प्रभावित क्षेत्रका जनताको जनजिविका र यस क्षेत्रको विकास निर्माणमा ठूलो समस्या उत्पन्न भएकाले तत्काल ऐन र नियमावली संशोधन गरेर अगाडि बढनु पर्ने कुरामा सरोकारवालाहरुले जोड दिएका हुन ।

जनताको सहयोगले संरक्षण भएको निकुञ्ज र मध्यवर्ती क्षेत्रका कारण जनतानै समस्यामा परेकाले नवलपुरका जनताले मध्यवर्ती क्षेत्र खारेजीको मुद्दा उठेको छ्लफलमा सहभागीले बताएका छन ।

छ्लफलमा बोल्दै कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले यस प्रकारका राय सुझाव लिने र छलफल पटक पटक हुने गरेको भए पनि कानुन बनाउने निकायले ऐन, कानुन बनाउदा महत्त्व नदिने गरेको बताए । निकुञ्ज ऐन र मध्यवर्ती क्षेत्रको नियमावलीलाई संशोधन गरेर संरक्षण र जनता मैत्री बनाउनु पर्ने कुरामा जोड दिदै नगरप्रमुख भुसालले क्षतिपूर्ति सम्बन्धि कानुन विभेदकारी भएको बताए । नारायणी नदिले नवलपुर तर्फको जमिन कटान गर्दै धार परिवर्तन गर्दा सिमाना मानिएको नारायणी नदि नवलपुर तर्फ बग्ने गरे पछि जनताको लालपुर्जा भएको जग्गामा पनि निकुञ्जले दाबी गर्दा धेरै जनताको उठिबास हुने गरेको बताउदै नगर प्रमुख भुसालले नदिले कटान गरेको जग्गाको क्षतिपूर्ति दिनु पर्ने कुरा कानुन तथा नियमावलीमा समेटनु पर्ने कुरामा जोड दिएका हुन ।

देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले ऐन तथा नियमावलीका कारण निकुञ्ज र स्थानीय तह बिच समन्वय नहुने गरेको बताउदै ऐन कानुनमा व्यवस्था गरेर निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण र विकासमा स्थानीय तहलाई समेत जोडनु पर्ने धारणा व्यक्त गरेका थिए ।

गैंडाकोट नगरपालिकाकि उपप्रमुख शान्ति कोइरालाले मध्यवर्तीका कारण जनताले दुख पाएको र विकास निर्माणमा अवरोध आएका कारण गैंडाकोटलाई मध्यवर्ती क्षेत्र बाट हटाउईदिन आग्रह गरिन ।

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले निकुञ्जको ऐन र नियमावली संशोधनका विषयमा पटक पटक छलफल भएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली संशोधन भएर संरक्षण मात्रै होइन विकास मैत्री पनि आउने कुरामा आशावादी रहेको बताए । नयाँ ऐन र नियमावली आउँदा नदि जन्य पदार्थको दोहोरो मापदण्ड हटाएर निकुञ्जको समन्वयमा जिम्मा स्थानीय तहलाई दिनु पर्ने तथा राजस्व बाडफाडको व्यवस्था ऐनमा नै हुनु पर्ने कुरामा जोड दिए ।

संरक्षणकर्मी विष्णु अधिकारीले जनताका कारण संरक्षण भएको निकुञ्ज र मध्यवर्तीकै कारण जनता आफै समस्यामा परेका ले निकुञ्जको ऐन, कानुन तथा नियमावली संशोधन गरेर अगाडी बढनु पर्ने बताए । जनताको सहयोगले निकुञ्ज जोगिएको, स्थानीय जनता रक्षक बन्दा शून्य चोरी शिकार वर्ष मनाउन सफल भएकोले जनतालाई सँगै लिएर हिडन सकिएन भने अबको केही वर्षमा निकुञ्जको अस्तित्व नै संकटमा पर्नेकुरामा जोड दिदै अधिकारीले निकुञ्ज सँगसँगै नारायणी नदिको संरक्षणमा ध्यान दिनु पर्ने बताएका हुन ।

मध्यवर्ती क्षेत्र घोषणा हुदा खुसी भएका जनताले अहिले आएर मध्यवर्ती खारेजीको माग उठाउन सुरुगरेको बताउदै अर्का संरक्षण कर्मी डिबि चौधरीले नितिगत व्यवस्था र राज्यको व्यवहारले जनतामा निकुञ्ज र मध्यवर्ती प्रती गुनासो बढदै गएको धारणा राखेका थिए । उनले निकुञ्ज सँगसँगै नारायणी नदिको प्रदुषण रोक्न नसके नारायणी नदि आश्रति जलचर मात्रै नभएर नारायणी नदिकिनारका हजारौं जनता ठूलो समस्यामा पर्ने बताएका हुन ।

छलफलमा चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तर्गतका मध्यवर्ती क्षेत्रका अध्यक्षहरु, पर्यटन व्यवसायी, सामुदायिक वनका प्रतिनिधिहरुले क्षतिपूर्तिको मापदण्ड, मध्यवर्ती क्षेत्रमा व्यवसाय दर्ता र सन्चालन, विकास निर्माणमा अहिलेको ऐन र नियमावली बाधक बनेकाले निकुञ्जको संरक्षण सँगसँगै जनजिविकाको सवालमा नयाँ ऐन र नियमावली बनाउदा गम्भीर भएर लाग्न राज्य र कानुन बनाउने निकायलाई गम्भीर भएर लाग्न आग्रह गरेका छ्न ।

सरकारले राष्ट्रिय निकुञ्ज ऐनलाई संशोधन नगरी नियमावली मात्रै संशोधन गर्न लागेकाले यस क्षेत्रका जनताको राय सहित सरकारलाई ऐन संशोधनका लागि सुझाव दिने बताउदै राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति रावलले सरकारले ऐन संशोधनको विधेयक नल्याए समितिले निजि विधेयकका रुपमा भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०३०लाई संशोधनको काम अगाडी बढाउने बताईन । समितिले भोलि चितवनको माडीमा राय सुझाव संकलन गर्ने छ ।

 

प्रकाशित : २०८० मंसिर १५ गते २२:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI