भाइरल भइरहेका एआई तस्बिर कसरी बनाउने ? यी हुन् सात विकल्प

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १९ गते ८:२२
भाइरल भइरहेका एआई तस्बिर कसरी बनाउने ? यी हुन् सात विकल्प

कावासोती । पछिलो समय सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलबाट र्निमित तस्बिरहरू निकै चर्चामा छन् । केही शब्द लेखेको भरमा तस्बिर बनाउने अर्थात् टेक्स्ट टू इमेज एआई टुलहरू निकै धेरै बनिसकेका छन् ।

यसको सुरुवात सन् २०२१ मा सार्वजनिक डाल–ई टेक्स्ट टू इमेल मोडेलले गरेको थियो । च्याट जीपीटी निर्माता एआईमा अध्ययन गर्ने संस्था ओपन एआईले नै लेखेका आधारमा तस्बिर सिर्जना गर्ने एआई टुल डाल–ई  बनाएको थियो ।

सबैभन्दा पहिले सन् २०१५ मा टोरन्टो विश्वविद्यालयका अनुसन्धानकर्ताले अलाइन–ड्र नामक टेक्स्ट टू इमेज टुलको सुरुवात गरेका थिए ।

जेनेरेटिभ एआईमा भएको विकासले पछिल्लो समयका एआई टुलहरू शक्तिशाली बन्दै गएका छन् । एआईले बनाइरहेका कति तस्बिरहरू वास्तविकरूपमा खिचिएको फोटो जस्तै र राम्रो कलाकारले कोरेको चित्रसँग मेल खाने किसिमका छन् ।

कुन–कुन एआईबाट बनाउन सकिन्छ तस्बिर ?

हाल इन्टरनेटमा सर्च गर्दा अनेकौँ टेक्स टू इमेज क्रिएटर वेबपेजहरू एवं एआई टुलहरू भेटिन्छन् ।

सबैभन्दा चर्चित, बलिया गुणस्तरीय भनिएका केही एआई टुलहरूमध्ये यहाँ उल्लेख छन् । सबैजसो यस्ता एआई टुलहरूमा आफ्नो इमेलबाट साइन इन गरेर तस्बिर बनाउन सकिन्छ ।

यी टुलहरूले केहीले दैनिकरूपमा र केहीले एउटा मेलबाट सीमित संख्यामा इमेजहरू नि:शुल्क बनाउन दिन्छन् । थप बनाउन शुल्क लिने गर्छन् ।

१. बिङ एआई इमेज क्रिएटर

माइक्रोसफ्टको सर्च इन्जिन बिङले डाल–ई३ को प्रयोग गरेर लेखेको भरमा तस्बिर बनाउँछ । धेरैजसो नेपाली प्रयोगकर्ताले यसै एआईको प्रयोग गरेर तस्बिरहरू बनाइरहेका छन् ।

इन्टरनेटमा बिङ एआई इमेज क्रिएटर सर्च गरेर त्यहाँ इमेलमार्फत वा अन्य सोसल मिडियाका माध्यमबाट आफ्नो अकाउन्ट बनाएर विभिन्न प्रम्प्ट राखेर तस्बिर बनाउन सकिन्छ । यसले नेपाली भाषामा दिएको निर्देशन अनुसार समेत तस्बिर बनाउन सक्छ ।

२. लिओनार्दाे एआई

लिओनार्दाे एआईले पनि शब्दकै भरमा राम्रो तस्बिरहरू बनाउँछ । लिओनार्दाे एआई सर्च गरेर यसको वेबसाइटमा गएर अकाउन्ट बनाएर यो प्रयोग गर्न सकिन्छ ।

आफूलाई चाहिएअनुसारको फोटो बनाउन अक्षरमा लेखेर त्यस्तै प्रम्प्ट वा निर्देशन दिनुपर्ने हुन्छ ।

३. एडोबी फायरफ्लाई

फोटो इडिङका क्षेत्रमा आफ्नो छुट्टै इतिहास रहेको एडोबीले एआईको दौडमा पनि संलग्नता जारी राखेको छ ।

एडोबीको एडोबी फायरफ्लाईमा गएर साइन इन गरी आफ्नो अकाउन्ट बनाएर शब्दका आधारमा तस्बिरहरू बनाउन सकिन्छ ।

४. क्यान्भा एआई इमेज क्रिएटर

क्यान्भाले पनि एआई इमेज क्रिएटर सुविधा थपेको छ । क्यान्भा एआई इमेज क्रिएटरबाट पनि शब्दमा लेखेका भरमा एआईबाट तस्बिर बनाउन सकिन्छ ।

५. पिक्सआर्ट एआई इमेज क्रिएटर

पिक्सआर्टले पनि एआईबाट तस्बिर बनाउन सकिने सुविधा थपेको छ । पिक्सआर्ट टेक्स्ट टू इमेज जेनेरेटरबाट पनि लेखेका भरमा तस्बिर बनाउन सकिन्छ ।

६. ड्रिम डट एआई

अकाउन्ट नबनाएर पनि आर्ट बनाउन सकिनेमध्येको एक वेबसाइट ड्रिम डट एआई हो । यसमा गएर आफूले शब्दमा दिएको प्रम्प्ट अनुसार तस्बिर बनाउन सकिन्छ ।

७. क्रेयोन

क्रेयोन डट कम वेबसाइटमा पनि अकाउन्ट नबनाएरै शब्दमा लेखेर प्रम्प्ट दिएका भरमा तस्बिर बनाउन सकिन्छ ।

यस्तै, नाइटक्याफे, ड्रिमस्टुडियो र मिडजोर्नी एआई टुलबाट पनि शब्दमा लेखेका भरमा तस्बिरहरू बनाउन सकिन्छ ।

 

प्रकाशित : २०८० मंसिर १९ गते ८:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI