बोरामा शव भेटिएको दुई हप्ता बित्यो, परिचय अझै खुलेन

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २० गते १२:४७
बोरामा शव भेटिएको दुई हप्ता बित्यो,  परिचय अझै खुलेन

कावासोती । भरतपुरमा बोरामा बाँधेर खोलामा फालेको दुईवटा शव फेला परेको १५ दिन भएको छ । तर शवको सनाखत अझै हुन सकेको छैन । मंसिर ६ गते बुधबार दिउँसो एक बजे भरतपुर महानगरपालिका–१२ पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलनचोक नजिक केरुंगा खोलाको पुल तल माछा मार्न गएका स्थानीयले शव फेला पारेका थिए । एकजना महिला र एकजना पुरुषको उक्त शव त्यसपछि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

‘हामीले अनेकौं प्रयास गरेका छौं । तर शव कसको हो पहिचान हुन सकेको छैन,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले भने । जुटको बोरामा राखेर खोलामा फालेको हुँदा उनीहरुको हत्या नै भएको प्रहरीको निचोड छ । सो निष्कर्षका साथ अनुसन्धान अगाडि बढाए पनि शवको पहिचान र सनाखत नभएका कारण अरु कुनै पनि विवरणहरू नखुलेको पण्डितले बताए ।

प्रहरीले शवको पहिचानका लागि जिल्ला र देशभर मात्रै नभएर छिमेकी देश भारतका प्रहरी इकाइहरूलाई पनि विवरण पठाएको छ । दिवंगत व्यक्तिहरुले लगाएका कपडा, गहाना, ट्याटु जस्ता विवरणले पनि पहिचान खुल्न नसकेपछि प्रविधिको प्रयोग गरेर उनीहरुको स्केच बनाइ सार्वजनिक गरेको डिएसपी पण्डितले बताए । ती स्केचहरू पनि धेरै ठाउँ पठाएको र सामाजिक सञ्जालहरुबाट पनि सार्वजनिक गरेको उनको भनाइ छ ।

‘हामीले अधिकतम प्रयास गरे पनि शवको पहिचान खुलेको छैन । हाम्रो प्रयास जारी नै छ,’ उनले भने । अन्दाजी ३० वर्ष जतिका देखिने ती महिला र पुरुषको शव अलग अलग जुटको बोरामा बाँधेर खोलामा फ्याकिएको थियो । शरिरको हुलिया हेर्दा मधेसका बासिन्दा या भारतीय नागरिक पनि हुन सक्ने सम्भावना भएका कारण मधेस क्षेत्रमा धेरै नै सोधखोज गरेको र भारतीय प्रहरीलाई पनि जानकारी दिएको पण्डितले बताए ।

‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को प्राविधिक सहयोग लिएका छौं । प्रदेश प्रहरी कार्यालय पनि यो विषयमा खटेको छ । जिल्लाको टिम पनि लागेकै छ । तर भरपर्दो सूचना पाउन सकेका छैनौं,’ पण्डितले भने । यो विषयमा अनुसन्धान गर्दै जाँदा सोधपुछ गर्न हजारजना भन्दा धेरै व्यक्तिलाई कार्यालय ल्याएको उनले बताए । सोधपुछ धेरैजनासँग भए पनि नियन्त्रणमा लिएर कसैलाई हिरासतमा नराखेको उनले बताए ।

त्यसै गरी घटनास्थलभन्दा केही पर रहेका तीनवटा सिसिटिभी क्यामेराका भिडियो विवरणहरू पनि हेरेको उनले बताए । ‘ती फुटेजहरू दुई पटक हेर्‍यौं । फेरि तेस्रो पटक पनि हेर्ने तयारी छ । यो मात्रै हैन हामीले अनेक क्षेत्रमा हेर्ने बुझ्ने, सोध्ने गरेका छौं । कसैका परिवारभित्रका आफन्त, साथीभाइ, कामदार या चिने जानेका कोही सम्पर्कमा नआएको धेरै दिन भएको छ भने प्रहरीमा जानकारी दिन भनेका छौं,’ प्रवक्ता डिएसपी पण्डितले भने ।-कान्तिपुर

प्रकाशित : २०८० मंसिर २० गते १२:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI