No ads found for this position

सुदूर अन्तरिक्षमा फेला परे पृथ्वीभन्दा ठूला छवटा ‘अद्भुत ग्रह’, जीवको अस्तित्व खोजी गर्ने प्रयास जारी

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २० गते १४:०९
No ads found for this position
सुदूर अन्तरिक्षमा फेला परे पृथ्वीभन्दा ठूला छवटा ‘अद्भुत ग्रह’, जीवको अस्तित्व खोजी गर्ने प्रयास जारी
No ads found for this position

कावासोती । अनुसन्धानकर्ताहरूले ब्रह्माण्डमा “सर्वोत्कृष्ट सौर्यमण्डल” फेला पारेको बताएका छन्। विभिन्न आकारका ग्रहहरू भएको हाम्रो सौर्यमण्डल बन्दा ब्रम्हाण्डमा ठूला उथलपुथलहरू भएका थिए। तर अहिले फेला परेको सौर्यमण्डल निर्माण हुँदा त्यस्तो केही नभएको अनुमान गरिएको छ।

पृथ्वीबाट १०० प्रकाशवर्ष टाढा रहेको उक्त ‘सौर्यमण्डल’मा छवटा ग्रह छन्। ती सबैको आकार लगभग उत्रै छ। तिनको उत्पत्ति १२ अर्ब वर्षअघि भएको हो। तर त्यसपछि तिनमा खासै ठूलो परिवर्तन भएको छैन। त्यसैले ती ग्रहहरूको उत्पत्ति कसरी भयो र तिनमा जीवको अस्तित्व छ कि छैन भन्ने अध्ययन गर्न तिनलाई उपयुक्त मानिएको छ।  वैज्ञानिक जर्नल ‘नेचर’ मा यो अनुसन्धान प्रकाशित भएको छ।

हाम्रो सौर्यमण्डल निर्माण हुने प्रक्रिया उथलपुथलयुक्त थियो। उत्पत्तिका क्रममा केही ग्रहहरू एकअर्कामा बज्रिएका थिए र तिनको कक्ष खलबलिएको थियो। अनि बृहस्पति र शनिजस्ता विशाल ग्रहहरू र पृथ्वीजस्ता तुलनात्मक रूपमा साना ग्रहहरू पनि बनेका थिए। अहिले पत्ता लागेको सौर्यमण्डललाई वैज्ञानिकहरूले एचडी ११००६७ (HD110067) नामकरण गरेका छन्। एचडी११००६७ का सबै ग्रहको आकार लगभग उत्रै छ। हाम्रो सौर्यमण्डलमा भएका ग्रहहरूले सूर्यलाई परिक्रमा गर्न लाग्ने अवधि भिन्नाभिन्नै छ। तर एचडी११००६७ मा सबै ग्रहहरू सँगसँगै जस्तो आफ्नो माउतारालाई परिक्रमा गर्छन्।

परिक्रमा कक्षको सबैभन्दा भित्र रहेको ग्रहले तारालाई तीन पटक परिक्रमा गर्दा लाग्ने समयमा त्यसपछि रहेको ग्रहले झन्डै दुई फेरा मार्छ। त्यो क्रम चौथो ग्रहसम्म जारी रहन्छ। त्यसपछि बाँकी दुइटा ग्रहले आफ्नो कक्षमा परिक्रमा गर्ने सापेक्षित गति परिवर्तन भएर ४ः३ को औसत हुन पुग्छ।

ग्रहहरूको यस्तो जटिल अनुक्रम यति स्पष्ट छ कि अनुसन्धानकर्ताहरूले प्रत्येक ग्रह र त्यसले कक्षमा परिक्रमा गर्ने अवधिसँग “ताल र लय” मिल्ने गरी एउटा सङ्गीत नै पनि रचना गरेका छन्। उक्त अनुसन्धानको नेतृत्व यूनिभर्सिटी अफ शिकागोका डा रफाएल लुकेले गरेका थिए। उनले एचडी११००६७लाई एउटा “उत्कृष्ट सौर्यमण्डल” को सङ्ज्ञा दिएका छन्। “ग्रहहरू कसरी उत्पन्न भए भन्ने अध्ययन गर्न यो उपयुक्त छ किनभने यो सौर्यमण्डलको आरम्भ उथलपुथलयुक्त थिएन अनि बनेदेखि नै यो अबाधित छ। “वारिक यूनिभर्सिटीकी डा मारिना लाफार्गा-माग्रो उक्त सौर्यमण्डल “सुन्दर र अद्वितीय” भएको बताउँछिन्।”कसैले पनि पहिला नदेखेको कुरा देख्न पाउनु निकै रोचक छ,” उनले  भनिन्।

के हुन् यी ग्रहका विशेषता?

 

विगत ३० वर्षमा खगोलविद्हरूले हजारौँ सौर्यमण्डल पत्ता लगाएका छन्। तर ग्रहहरूको उत्पत्तिबारे अध्ययन गर्न ती उपयुक्त थिएनन्। ग्रहहरूको समान आकार र समग्र प्रणालीको अक्षुण्ण अवस्थाका कारण खगोलविद्हरूले यो सौर्यमण्डललाई अध्ययनका लागि उपयुक्त मानेका छन्। ग्रहहरूको तुलना गर्दै समानता र विषमता खोज्न सकिने उनीहरू ठान्छन्। त्यसो गर्दा ती ग्रह पहिला कसरी बने र क्रमशः विकसित भए भन्ने चित्र बन्न सक्छ।

उक्त प्रणालीमा एउटा चम्किलो तारा छ जसले ती ग्रहहरूको वायुमण्डलमा जीवहरूको अस्तित्व भए नभएको खोज्न सघाउन सक्छ। छवटै ग्रहलाई खगोलविद्हरूले “उपवरुण” (सब-नेप्च्यून) भनेका छन्। ती ग्रह पृथ्वीभन्दा ठूला तर वरुणभन्दा साना छन्। वरुण पृथ्वीभन्दा चार गुना ठूलो छ। ती ग्रहहरू पृथ्वीभन्दा दुई वा तीनगुना ठूला छन्।

गत सेप्टेम्बरमा अर्को एउटा सौर्यमण्डलमा के२-१८बी (K2-18b) नामक सब-नेप्च्यून ग्रह पत्ता लागेको थियो। त्यो ग्रहको वायुमण्डलमा पृथ्वीमा प्राणीहरूले उत्पादन गर्ने र जीवको अस्तित्वको सङ्केत गर्ने एउटा ग्यास भएको सङ्केत फेला परेको थियो। त्यसैले अहिले नयाँ ग्रहहरू फेला परेको विषयमा धेरैको रुचि बढेको देखिन्छ।

कहिले पत्ता लाग्ला?

 

हाम्रो सौर्यमण्डलमा त्यस्तो सब-नेप्च्यून ग्रह छैन। तर आकाशगङ्गामा त्यस प्रकारको ग्रहको सङ्ख्या धेरै भएको ठानिन्छ। वास्तवमा खगोलविद्हरूलाई ती ग्रहबारे धेरै कम थाहा छ। ती ग्रहमा कति चट्टान, ग्यास वा पानी छ भन्ने अनि त्यहाँ जीवका लागि आवश्यक परिस्थिति उपलब्ध छ कि छैन भन्ने कुरा कसैलाई पनि थाहा छैन। यी कुरा पत्ता लगाउनु यो क्षेत्रको सबैभन्दा ठूलो विषय भएको लुके ठान्छन्। उनका अनुसार एचडी११००६७ फेला परेकाले उनको टोलीलाई ती प्रश्नको उत्तर चाँडै पत्ता लगाउने अवसर जुटेको छ। “यो १० वर्षभन्दा कम समयको कुरा हुन सक्छ,” उनले  भने। “हामीले ती ग्रह चिनेका छौँ, हामीलाई ती कहाँ छन् भन्ने थाहा छ, हामीलाई अरू केही समय चाहिन्छ। तर त्यो भएरै छोड्छ।”

यदि उनको टोलीले अर्को चरणमा अवलोकन गर्दा सब-नेप्च्यून ग्रहहरूमा जीवलाई उपयुक्त हुने अवस्था भएको सङ्केत देखियो भने बसोबासयोग्य सम्भावित संसारको सङ्ख्या बढ्ने छ। अनि पृथ्वीबाहिर पनि जीवको अस्तित्व रहेको सङ्केत पत्ता लाग्ने सम्भावना बढ्ने छ।

अहिले ती छवटा ग्रहमध्ये कुनैमा वा प्रतिस्पर्धी वैज्ञानिक टोलीहरूले पत्ता लगाएका दर्जनौँ अरू सब-नेप्च्यून ग्रहमा “बायोसिग्नेचर” पत्ता लगाउने प्रतिस्पर्धा छ। व्यापक क्षमता भएका टेलिस्कोपहरूको सहयोगमा खगोलविद्हरूले पृथ्वीबाहिर चाँडै जीवको अस्तित्वबारे नयाँ कुरा पत्ता लगाउने अपेक्षा गरिएको छ।

अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाको ‘ट्र्यान्जिटिङ एक्सोप्ल्यानिट सर्भे स्याटलाइट’ (टीईएसएस) र युरोपेली अन्तरिक्ष निकाय ईएसएको ‘क्यारेक्टराइजिङ एक्सोप्ल्यानिट स्याटलाइट’ (किओप्स) प्रयोग गरेर एचडी११००६७ सौर्यमण्डलका ग्रहहरू पत्ता लगाइएको हो।बीबीसी

प्रकाशित : २०८० मंसिर २० गते १४:०९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI