यू–१९ एसिया कपमा यस्तो छ नेपालको तालिका

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २० गते १४:४०
यू–१९ एसिया कपमा यस्तो छ नेपालको तालिका

कावासोती । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसीसी यू–१९ एसिया कप शुक्रबारदेखि सुरु हुँदै छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने प्रतियोगिताको यस संस्करणमा नेपालसहित कुल आठ टिमको सहभागिता छ । प्रतियोगिताका सबै खेल यूएईका तीन मैदानमा हुनेछन् । एसीसीले प्रतियोगिताको लागि आईसीसी क्रिकेट ओभल–१, आईसीसी क्रिकेट ओभल–२ र दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान चयन गरेको छ ।

अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा स्थान बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेका थिए ।

प्रतियोगितामा सहभागी आठ टिमलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’ मा नेपालसँगै पाकिस्तान, भारत र अफगानिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् ।

यस्तो छ नेपालको तालिका :

नेपालले मंसिर २२ गते शुक्रबार पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले समूहको दोस्रो खेलमा मंसिर २४ गते आइतबार अफगानिस्तानविरुद्ध खेल्नेछ । आईसीसी एकेडेमी ओभल–२ मा नै हुने यो खेल पनि नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् ।

समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

प्रकाशित : २०८० मंसिर २० गते १४:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI