लघुकथा : जागिर

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २३ गते ८:२७
लघुकथा : जागिर

राजन पाण्डे

साढे १२ बजिसकेको छ। प्रेम सरको आँखामा निद छैन । निद होस् पनि कसरी ! न मनले आराम गरेको छ। न मस्तिष्कले ।

मनमा बेचैनी छ । मस्तिष्कमा तुफान ।
२७ वर्ष अगाडि जागिर सुरु गर्दाको दिन याद आउँछ। विकट हिमाल पहाडमा गएर जागिर गर्दाका दिनहरू याद आउँछ। पार्टीको झोला नबोक्दा बाजुराबाट बाँके सरुवा हुन सात वर्ष कुर्न परेको याद आउँछ। विदेश भ्रमणको नाममा रुपौडिया र सुनौली आफ्नै खर्चमा गएको याद आउँछ। नायब सुब्बा साडु भाइले छ सात वर्षमा घर घडेरी बनाउँदा ससुरालीमा आफूलाई तौलेको याद आउँछ । कस्ता झुम्रासँग बिवाह गरिएछ भनेर श्रीमतीले खसालेको याद आउँछ। छोराछोरीलाई पढाउन खर्च नपुगेर फरक विषय पढ्न बाध्य पारेको याद आउँछ।

पुराना यादहरू कराङ कुरुङ चरा जस्तै लयबद्ध भएर आउँछन् । मनलाई छोएर मुटुलाई छिया पारेर जान्छन्।
काठमाडौँमा पुस महिनाको जाडोमा पनि चिट चिट पसिना आइरहेको छ। एक गिलास पानी खाए । अनायासै लामो शास फेरे । दिउँसोको घटना फिल्मी शैलीमा आँखा अगाडि आइरहेको थियो।
सक्षम इमान्दार कर्मचारीहरू राजनीतिक नेतृत्वको मनपर्दो किन हुन सक्दैनन् ? आफैसँग जवाफ खोजिरहेका थिए।

कतै खरिदमा, कतै कर्मचारी खटनपटनमा कतै सेवाप्रवाहको शैलीमा मन्त्री अनुकूल नबन्दा एक बर्षमा प्रेम सरको तीन पटक सरुवा भएको थियो ।
पछिल्लो पटक प्रधानमन्त्री कार्यालयको छायाँ शक्ति र मन्त्रालयको मन्त्रीको दबावका बीच पनि एउटा खरिद कार्य नियम अनुसार हुनका लागि रोकिरहेका थिए।

आफूले असल नियतले यो खरिदलाई नियमअनुसार गर्न चाहेको कुरा प्रधानमन्त्री समक्ष राख्न चाहन्थे। प्रभाव र दबाब अनुसार गरिए राज्यलाई हुने क्षति र सरकारलाई हुने बदनाम बताउन चाहन्थे ।
एक महिनादेखि प्रधानमन्त्री कार्यालयमा पटकपटक धाइराखे तर प्रधानमन्त्रीलाई भेट्ने अवसर पाएनन् ।
यता मन्त्रीको दबाव र छायाँ शक्तिको उखरमाउलो हतारोले प्रेम सरलाई थिचिरहेको थियो।
बाध्य भएर प्रधानमन्त्रीकै पार्टीको कर्मचारी संगठनका सदस्य मन्त्रालयका ज्वाई ड्राइभरको सहयोग लिन पुगे ।नेपालको कर्मचारीतन्त्रमा पार्टी पिच्छेका कर्मचारी संगठन ।

पार्टी पिच्छेका कर्मचारी संगठनका नेतृत्वले काम नगरिकन सुविधा लिने प्रवृत्ति । ट्रेड युनियनको मर्म विपरीत सरुवा, बढुवा, पुरस्कार, विभूषण, विदेश भ्रमण लगायतका कुरामा भूमिका खोज्ने प्रवृत्तिको प्रेम सर सक्त विरोधी थिए।

तर पनि ड्राइभर पदधारी कर्मविहीन कर्मचारी नेता को पछाडि लागेर प्रधानमन्त्री भेट्नुपर्ने भयो।
ती ड्राइभरले भोलिपल्ट नै बालुवाटार लगेर प्रधानमन्त्री समक्ष भेट्ने अवसर मिलाए ।

प्रधानमन्त्रीसँग पछिल्लो खरिदको विषयको तथ्य कारण र विकल्पहरू सुनाए । आधाआधी सुनाउँदा सुनाउँदै प्रधानमन्त्रीलाई यो विषय जानकारी भएको मेसो पाउन उनलाई धेरै बेर लागेन।
प्रधानमन्त्रीले भन्नुभयो ” परिवर्तित राजनीतिक व्यवस्था अनुसार तपाईँहरूले मन्त्रीलाई सहयोग गरेर जानुपर्छ। मन्त्रीको भावनासँग मिल्ने गरी आफ्नो आचरण, संस्कार, व्यवहार र कार्यशैली निर्माण गर्नु नै गतिशीलता हो। सोही अनुसार गर्नुहोला।”
प्रेम सरसँग न सवाल बाँकी रह्यो। न दिने जवाफ नै ।
बालुवाटार साँच्चै नै उनलाई तातो बालुवा जस्तो लाग्यो। पैतालादेखि शिरसम्म भतभती पोल्यो।
राजनीतिक रूपमा तठस्थ हुनु,
आर्थिक रूपमा सदाचार हुनु,
सामाजिक रूपमा नैतिक हुनु,
आत्मिक रूपमा शुद्ध हुनु,
पेशागत रूपमा व्यावसायिक हुनु,

प्रेम सरको साधना थियो। यी सबै कुराहरूको मूल्य आफैले आफैसँग खोज्दै जागिर छोड्ने निर्णय गरे ।
भोलिपल्ट क्याबिनेटले पटकपटक विवादित सहसचिवलाई सचिवमा बढुवा गरेको समाचार पत्रपत्रिकामा आयो।

प्रकाशित : २०८० मंसिर २३ गते ८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI