नमूना सदरमुकामको ईआईए प्रतिवेदन वन मन्त्रालयमा

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष २९ गते २२:०३
नमूना सदरमुकामको ईआईए प्रतिवेदन वन मन्त्रालयमा

 

कावासोती । शिलान्यास भएको ४ वर्ष पछि नवलपुरको कावासोतीमा बन्ने भनिएको नमूना सदरमुकामको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन शहरी विकास तथा भवन निर्माण विभागले वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ ।

नवलपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विष्णु कुमार कार्कीले शहरी विकास तथा भवन निर्माण विभागले वन मन्त्रालयलाई बुझाएको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा वन मन्त्रालयले राय सुझाव मागेको बताए । “वन मन्त्रालयले ७ दिनको म्याद राखेर ईआईए प्रतिवेदनमा राय सुझाव मागेको छ”, कार्कीले भने, ” अब नमुना सदरमुकाम निर्माणको कामले गति लिनेछ ।” पुस २९ गते देखि एक हप्ताको समय सिमा राखेर वनमन्त्रालय ले ईआईए प्रतिवेदनमा राय सुझाव माग गरेको हो ।

जिल्लामा संघीय र प्रदेश सरकार मातहतका विभिन्न सरकारी कार्यालय र कावासोती नगरपालिकाका कार्यालय समेत एकै स्थानमा स्थापना गरी सेवा प्रवाह गर्ने उद्देश्यसहित जिल्ला सदरमुकामको गुरुयोजना बनाइएको थियो । सोही गुरुयोजना अनुसार विभागले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी पारी स्विकृतिका लागि वन मन्त्रालयमा बुझाएको हो ।

 

प्रतिवेदन अनुसार नमुना सदरमुकाममा कुल ४५ वटा सरकारी भवन बनाउने योजना छ । आयोजनाको अनुमानित लागत २ अर्ब ६८ करोड २८ लाख २७ हजार २४७ रुपैयाँ रहेको छ । नेपाल सरकारको स्वामित्व रहेको जग्गामा सदरमुकाम बनाउन लागिएको छ । भवनसहित स्मृति बाटिका, फुटबल रंगशाला, क्रिकेट रंगशाला, कर्मचारी आवास गृह, अतिथि गृह, पुस्तकालय, पार्किङ स्थल, वेस्ट वाटर ट्रिटमेन्टसहितका संरचना यहाँ बनाउने गुरुयोजनाको लक्ष्य छ । यी भवन सम्बन्धित निकायबाट नक्का पास गरी निर्माण हुने समेत प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : २०८० पुष २९ गते २२:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI