ट्रमा सेन्टरलाई राष्ट्रिय प्राथमिकतामा राख्ने योजना आयोगको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन १० गते ८:५६
ट्रमा सेन्टरलाई  राष्ट्रिय प्राथमिकतामा राख्ने योजना आयोगको निर्णय

कावासोती । नवलपुरको देवचुलीमा बन्ने ट्रमा सेन्टरलाई राष्ट्रिय योजना आयोगले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा अगाडि बढाउने भएको छ ।

आयोगको फागुन ६ गते बसेको बैठकले देवचुलीमा निर्माण गरिने भनिएको ट्रमा सेन्टरलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको आयोगका योजना अधिकृत रोशनी कार्कीले जानकारी दिईन ।

आयोगले ट्रमा सेन्टर लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना को रुपमा अगाडि बढाउने निर्णय गरे सँगै स्वास्थ्य मन्त्रालयले २ वर्षका लागि थप स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

चालू आ.वको बजेटबाट ५ करोड विनियोजन भएको र आगामी २ वर्षका लागि थप २४ करोड बजेटको स्रोत सहमतिका अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालय मार्फत पत्राचार भएको हो ।

नवलपुर बासीको बहुप्रतिक्षित योजना ट्रमा सेन्टरका लागी संघीय सरकारले चालु आ.वको बजेटमा ५ करोड विनियोजन गरेको भए पनि ट्रमा सेन्टर निर्माणका लागी जग्गा व्यवस्थापन हुन भने हुन सकेको थिएन । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण भए पछि देवचुलीमा बन्ने भनिएको ट्रमा सेन्टरको जग्गा व्यवस्थापनमा अब प्रक्रिया झंझटिलो नहुने देखिएको हो ।

देवचुली नगरपालिकाको २१ औं कार्यपालिका बैठकले ट्रमा सेन्टरका लागी देवचुली–१७ मा रहेको झराही वृक्षारोपण सामुदायिक वनको २७.४५ हेक्टर जग्गा उपलब्ध गराउन डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

ट्रमा सेन्टरका लागी गत जेठ ८ गते बसेको देवचरली नगरपालिकाको कार्यपालिका बैठकले पहिलो प्राथमिकतामा राख्दै झराही वृक्षारोपण सामुदायिक वनको २७.४५ हेक्टर जग्गा प्राप्तीको लागी डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय सँगै विकल्पको रुपमा हालको देवचुली नगर अस्पताललाई समेत राखेको छ । “जग्गा प्राप्तिको काम नगरपालिकाले अगाडी बढाईरहेका थियौं, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण भए सँगै थप सहज हुने भएको छ”, देवचुलीका नगरप्रमुख हरिप्रसाद न्यौपाने भने ।

नवलपुर बासीको बहुप्रतिक्षित योजनाको रुपमा रहेको ट्रमा सेन्टरलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा अगाडि बढाउने राष्ट्रिय योजना आयोगको निर्णय भएको र केही दिन भित्रै अर्थ मन्त्रालयले आगामी २ वर्षका लागि थप २४ करोड बजेट स्रोत सुनिश्चितता गर्ने नवलपुर क्षेत्र नं १ का संघीय सांसद डा. शशांक कोइरालाले बताए । “केही ढिलो अवश्य भएको हो, तर अब राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा ट्रमाको काम अगाडि बढछ”, कोइरालाले भने ।

प्रकाशित : २०८० फागुन १० गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI