नारायणघाट बुटवल सडक : पुर्वी खण्डमा ४७ प्रतिशत भौतिक प्रगति

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन १० गते १४:५८
नारायणघाट बुटवल सडक : पुर्वी खण्डमा ४७ प्रतिशत भौतिक प्रगति

कावासोती । ४२ महिनामा काम सम्पन्न गर्ने गरि सम्झौता भएर २०७५ को चैत महिनामा शिलान्यास भएको नारायणघाट बुटवल सडकखण्डको बिस्तारको काम पुर्वी खण्ड (गैँडाकोट-दाउन्ने) को भौतिक प्रगति ४७ प्रतिशत पुगेको छ ।

पछिल्लो पटक गत साउनमा आयोजनाको पुर्वी खण्डलाई भदौ ११ बाट लागू हुने गरि ३ सय ३० दिनको म्याद थप गरिएको भए पनि थपिएको समयमा काम नसकिने देखिएको हो । थपिएको समय भदौ ११ देखि ६ महिनाको अवधिमा आयोजनाको निर्माण कम्पनीले मात्रै ९ प्रतिशत मात्रै काम सम्पन्न गरेको हो ।

आयोजनाको निर्माण कम्पनीले सरकारसँग गएको साउनमा पुर्वी खण्डक लागि २ वर्षको म्याद थप मागेको भए पनि मात्रै ३ सय ३० दिन पाएको थियो । थपिएको समयमा काम सम्पन्न हुन प्रती महिना ७ प्रतिशतको हाराहारीमा काम गर्न पर्ने हुन्छ तर निर्माण कम्पनीको कामको गति प्रति महिना २ प्रतिशतको हाराहारी छ ।

थप गरिएको म्याद सकिने समय सम्म ७० प्रतिशत मात्रै काम सकिने आयोजनाका पुर्वी खण्डका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए । उनका अनुसार निर्माण कम्पनिले २०८१ को चैत मसान्तसम्म सडक बिस्तारको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

निर्माण कम्पनीले कामलाई तिब्रताका साथ अगाडी बढाएको म्यानेजर झाले दाबी गरे ।पुर्वी खण्डमा दुवै तर्फ गरेर २३ किलोमीटर सडक कालोपत्र सकिएको झाले बताए । बजार क्षेत्र र बस्ती भएका स्थान सँगसँगै जंगल क्षेत्रमा समेत कालोपत्र गर्नेकाम चलिरहेको उनी बताउछ्न ।

झाका अनुसार पुर्वी खण्डमा अहिले ९ सयको हाराहारीमा प्राविधिक र मजदुरले काम गरिरहेका छ्न । पुर्वी खण्डमा रहेका बिजुलीका पोलहरु सार्ने ७० प्रतिशत सकिएको झाले बताए । “अहिले ३३ केभी प्रसारण लाईनका पोलहरु सार्ने काम भएको छ, मार्च महिना सम्म साना ठुला सबै बिजुलीका पोलहरु सारेर सकिन्छ” झाले भने ।

कालोपत्र, बिजुलीको पोल सार्ने काम सँगै पुलको कामलाई पनि सँगसँगै अगाडी बढाएको बताएको छ । झाका अनुसार १२ वटा ठुला पुल मध्ये २ वटा ( केरुङ्गे र झराही खोला)को काम अन्तिम चरणमा पुगेको र ९ वटामा काम भैरहेको हो भने अरुणखोलाको पुलमा काम सुरु गर्न बाकी रहेको छ । पुलका लागि बनाईएका स्ल्याबहरु उठाएर राख्ने मेसिन भारत हुँदै भन्सार सम्म आईपुगेको र अबको १ हप्तामा मेसिन आयोजना स्थलमा आईपुग्ने र ९ वटा पुलको अन्तिम चरणको काम सुरु गरिने झाले बताए । पुर्वी खण्डमा रहेका २२ वटा साना पुल मध्ये २१ वटाको काम सकिसकेको हो ।

निर्माण कम्पनी चाईना स्टेट इन्जिनियरिङ्ग कर्पोरेसनले नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखेर एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ । समयमा काम सम्पन्न नहुदाँ आयोजनाको लागत बढेर १७ अर्ब नाघेको छ ।

आयोजनाका लागि लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ को चैतमा शिलान्यास भएको थियो ।

प्रकाशित : २०८० फागुन १० गते १४:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI