सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाड्ने तयारी

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत ९ गते १३:०९
सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाड्ने तयारी

कावासोती । ९ किलो इलेक्ट्रिक चुरोट (भेप) तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको छ।

महरामा विभिन्न खालको रोग भएकाले उनलाई छाड्ने तयारी रहेको सरकारी वकिल कार्यालय काठमाडौं स्रोतले जनाएको छ।

प्रहरीले गत सोमबार (चैत ५ गते) महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महराको सम्पर्क सुन तस्‍करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेको चार दिनपछि उनलाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको हो।

गत सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदा न्यायाधीश दुर्गाप्रसाद खनाल समक्ष महराले आफूमा ७-८ वटा रोग भएको बताएका थिए। त्यसपछि अदालतले नै उनलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको थियो।

‘निज पक्राउ व्यक्ति स्वयंले आफू टिबी, युरिक एसिड, प्रोस्टेटको बिरामी रहेको भनी उल्लेख गरेकाले आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन समेत दिएको छ,’ आदेशमा भनिएको छ।

डायबिटिज, ब्लड प्रेसर लगायतको पनि समस्याबारे उनले इजलाससमक्ष बताएका छन्।  त्यसयता उनी नर्भिक अस्पतालमा बस्दै आएका थिए। अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। जुन म्याद पनि सकिएको हो।उक्त म्याद सकिएसँगै उनलाई थप म्याद नलिने गरी सरकारी वकिल कार्यालयबाटै छाड्न लागिएको हो। मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ।यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै भरपर्दो व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ,’ उक्त दफामा भनिएको छ।

धरौटी वा जमानीमा छाड्दा वा तारिखमा राख्दा त्यसरी छोडिएको वा तारिखमा राखिएको व्यक्ति उपर मुद्दा चलाउने भएमा त्यस्तो अवस्थामा निज उपस्थित हुने गरी निजको कागज गराउनुपर्नेछ।

त्यसैगरी हाजिर जमानी दिने व्‍यक्तिले हाजिर जमानीमा छोडिएको व्यक्तिलाई अनुसन्धान अधिकारी वा सरकारी वकिल कार्यालयले तोकेको समयमा उपस्थित गराउनुपर्ने भनिएको छ।

त्यस अनुसार उपस्थित नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने भनिएको छ।

सरकारी वकिल कार्यालय काठमाडौंमा महराको दुई दिन बयान लिएर सकिएको छ। बुधबार र बिहीबार सरकारी वकिल कार्यालयमा उनको बयान लिइएको थियो।

बुधबार ३-४ घण्टाको बयान लिइएको थियो। त्यस्तै बिहीबार पनि १२ बजेदेखि ३ बजेसम्म बयान लिइएको थियो।

यसरी दुई दिन बयान लिनेक्रममा उनले आफ्नो सुन तस्करीमा संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका थिए।

‘वाङलाई त्यही फलफूल व्यवसायी भएर चिनेको हो। भेट्न आउँदा पनि फलफूल लिएर आउँथे। मलाई चुरोट भन्सारमा अड्किएको छ त्यसबारे बुझिदिनुपर्‍यो भनेकाले मैले फोन गरेको हुँ। त्यसबाहेक सुनबारे केही थाहा छैन,’ उनले दिएको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकारीले भने।

उनमा रोग भएकाले यसरी दुई दिन बयान लिन पनि रोकिरोकि गर्नुपरेको स्रोतले बताएको छ।  ‘१०-१५ मिनेट कुर्सीमा बस्न पनि गाह्रो भइसकेको रहेछ। बयान लिइरहँदा उनलाई गाह्रो भएपछि उभिएर हिँड्न थाल्नुहुन्थ्यो,’ स्रोतले भन्यो।

महराले आफ्नो सम्पर्क वाङसँग रहेको तर सुनसम्बन्धी कुनै नभएको दाबी गरेका हुन्। त्यसबाहेक अनुसन्धान अधिकारीले पनि फेला नपारेको स्रोतले जनाएको छ।

सुनको अवैध पठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०ले महरामाथि अनुसन्धान गर्न आवश्यक रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।  आयोगले पनि सुन तस्करसँग पटकपटक कुराकानी भएको औल्याएको थियो। जसपछि उनीमाथि अनुसन्धान गर्न आवश्यक रहेको भनिएको थियो। त्यसबाहेक केहीले दिएका बयानसँग मेल नखाएको भन्ने समेत उल्लेख गरेको थियो।

‘फोन सम्पर्क भएको भनिएको छ। तर प्रमाणको आधारमा कुराकानी भएको बाहेक अन्य देखिएको छैन,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘अरूले पनि पोलेका छैनन्।’सेतोपाटीबाट

प्रकाशित : २०८० चैत ९ गते १३:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI