गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै कांग्रेस सर्वोच्चमा

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २७ गते १९:५६
गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै कांग्रेस सर्वोच्चमा

कावासोती । गण्डकी प्रदेश सरकार गठनविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वाोच्चमा रिट दायर गराएका हुन् ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले गण्डकीमा असंवैधानिक तरिकाले सरकार गठन भएको निष्कर्ष निकाल्दै मंगलबार सर्वोच्च अदालत जाने निर्णय गरेको थियो । प्रदेश प्रमुखलाई विपक्षी बनाइएको रिटमा मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भन्दै आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन पाण्डेले माग गरेका छन् ।

‘विपक्षीहरुले आफूलाई हकै नपुग्ने विषयमा अधिकार क्षेत्रात्मक त्रुटि गरी कार्य गर्नुभएको, अधिकारको प्रयोग गर्दा प्रवृत्त भावना लिई गलत ढंगले प्रयोग गरेको निजहरुको बदनियत र स्वेच्छाचारीताका कारणले निवेदक मेरा उपर भेद्भाव/अन्याय हुन पुगेको, विपक्षीहरुका प्रत्येक काम कारबाहीहरु छलकपटपूर्ण भएको, मुलुकको संविधान कानुन र स्थापित नजिर परम्पराविपरीत देखिएकोले, विपक्षी खगराज अधिकारीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्न रोकी म निवेदकलाई नै उक्त प्रदेशको मुख्यमन्त्री पदमा निरन्तरताका लागि अन्तरिम आदेश सहितको उत्प्रेषणयुक्त परमादेश समेतको आदेश जारी गरी पाऊँ’ रिटमा भनिएको छ ।

‘अधिकारीलाई नियुक्ति गरिएको भनिएको प्रक्रिया आफैमा अत्यन्त गैरसंवैधानिक भएकाले र संविधानतः म आफू अर्को व्यवस्था नहुन्जेलसम्मको लागि सो प्रदेशको मुख्यमन्त्री रहिरहेको र अन्यले बहुमतको दलीय समर्थन जुटाउन नसक्ने अवस्थामा उक्त धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा पुनः नियुक्त हुन पाउने हकसमेत म आफूलाई नै हुँदा विपक्षी सभामुखको पदीय मर्यादालाई दलीयकरण गरी कब्जाको छनक दिने गरी भए, गरिएका निर्णयहरु असंवैधानिक, गैरकानुनी तथा अधिकारक्षेत्रविहीन भएको हुँदा सो निर्णय र निर्णयका आधारमा भए गरिएका सम्पूर्ण काम कारबाहीहरु बदर गरी म निवेदकलाई साविकबमोजिम नै मुख्यमन्त्रीको हैसियतमा कामकाज गर्न दिनु/दिलाउनु भनी सम्मानित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदन गर्न आए‌को छु’ रिटमा भनिएकाे छ ।

उक्त रिटको बुधबार सुनुवाइ हुनेछ ।

प्रकाशित : २०८० चैत २७ गते १९:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI