एउटा पुल र पहिरोले अल्झाएको कालीगण्डकी करिडोरको यात्रा

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख ७ गते ७:५६
एउटा पुल र पहिरोले अल्झाएको कालीगण्डकी करिडोरको यात्रा

बोमलाल गिरी, नवलपुर । नवलपुरको गैँडाकोट कालिगण्डकी चोकबाट सुरु भएर पाल्पाको पिपलडाँडासम्म झण्डै १३२ किलोमिटर कालिगण्डकी करिडोरको झण्डै ९५ प्रतिशत काम सम्पन्न भएर कालोपत्रे भएइसकेको छ ।

पीपलडाँडाबाट राम्दीपुल ३ किलोमिटर, स्याङजाको गल्याङ साढे १७ किलोमिटर, पाल्पा तानसेन बजार २८ किलोमिटर, बुटबल ६२ किलोमिटर र पोखरा ९५ किलोमिटर दुरीमा पर्छ । नारायणघाट–बुटबल सडक खण्ड र मुग्लिङ–पोखरा सडक खण्ड मर्मतको क्रममा रहेकाले यात्रा गर्न कठिन हुँदा धेरै यात्रुका लागि कालिगण्डकी करिडोर अहिले बैकल्पिक मार्ग भएको छ ।

भारतीय ठेकेदार कम्पनी इकेके कन्स्ट्रक्सन प्रालिले झण्डै ५ अर्ब रुपियाँमा ठेक्का लिएर १३२ किलोमिटर सडकको सबै काम सम्पन्न गरी आगामी ६ महिना भित्र करिडोर हस्तान्तरण गर्ने प्रकृयामा रहेको जनाएको छ ।  तर करिडोरमा रहेका केही पहिरो र पुलको काम सन्पन्न नहुँदा यो मार्ग भएर यात्रा गर्नेहररुले सधै त्रासमा हिँड्नु पर्ने भएको छ ।

खासगरी नवलपुरको गैँडाकोट र बुलिङटारको सीमानामा रहेको तरंगा खोलाको पहिरो र पहिरोका कारण पुल बन्न नसक्दा यात्रा त्रासदीपूर्ण भइरहेको नवलपुरका पत्रकार सञ्जय भट्टराईले बताउनुभयो ।  ‘खोलाको गैँडाकोट खण्ड र बुलिङटार खण्डमा दुई तिर दुई ठूलाठूला पहिरो छन्, ती पहिरो रोकथाम नहुँदा र तरंगा खोलामा पुन नबन्दासम्म सधैभरी समाचारको हेडलाई बनिरहने अवस्था छ, पत्रकार भट्टराईले भन्नुभयो, ‘यसले गर्दा वर्षामा मात्र होइन सुख्खा पहिरो झरेर हिउँदमा पनि करिडोर ठप्प हुने अवस्था छ ।’ पहिरोका कारण खोलामा पुन पनि बन्न सकेको छैन । पहिरोले तरंगा खोला नै थुनिन सक्ने र त्यसले पुल पनि क्षति हुन सक्ने भएकाले जग हालेर पनि पुल बनाउने काम अघि बढ्न नसकेको हो ।

 

दोष एकले अर्कोलाई थोपर्दै

पहिरो नियन्त्रण र पुल निर्माणका लागि सम्बन्धित निकायले भने दोष एकले अर्कोलाई थोपरिरहेका छन् । सडक निर्माणको ठेकेदार कम्पनी इकेके कन्स्ट्रक्सन प्रालिले सडकमा गाडी कुद्ने बनाएको र अहिले विभिन्न ठाउँमा मर्मतको काम भइरहे पनि बजेट अभावले पहिरो नियन्त्रणको काम गर्न नसक्ने बताएको छ । ‘पहिरो नियन्त्रणका लागि बजेटले धान्न सक्ने अवस्था भएन, त्यसका लागि छुट्टै अध्ययन गरेर काम गर्नुपर्छ, आयोजनाका कन्ट्याक्ट म्यानेजर रोहित भटराईले भन्नुभयो, ‘हाम्रो तर्फबाट सबै काम लगभग सम्पन्न गरेका छौं, अव ६ महिना भित्रमा सडक सरकारलाई हस्तान्तरण गछौं ।’

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले करिडोरमा ९ वटा पुल बनाउनका लागि चितवनको लोहनी एण्ड सन्स कम्पनिसँग आर्थिक वर्ष २०७४÷०७५ मा ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनीले ८ वटा पुल बनाइसके पनि मुख्य जोखिम रहेको ठाउँ तरंगा खोलामा भने जग हालेर पनि पुन बनाएको छैन ।
ठेकेदार कम्पनीका प्रमुख अशोक लोहनीले निर्माण कम्पनिले पहिरो नहटाइदिएकाले पुल बनाउन नसकिएको बताउनुभयो । ‘पहिरो क्लियर नभएकाले उहाँहरुकै कारण काम हुन सकेन, पहिरो गएको तरंगा खोलामा ट्रयाक खोलेर मात्र गाडी पास गराइयो, कम्पनीका प्रमुख लोहनीले भन्नुभयो, ‘हाम्रा रड लगायतका सामान पनि चोरी भए, त्यसैले काम हुन सकेन ।’

ठेकेदार थप समय माग्दै, सरकार सम्झौता तोड्ने तयारीमा

पुन निर्माणको ठेक्का लिएको लोहनी एण्ड सन्सले तोकिएको समयमा काम गर्न नसकेपछि थप समय माग गरेको छ । ‘हामीले तोकिएको समयमा काम गर्न सकेनौं, त्यसैले सरकारसँग थप समय मागेका छौं, लोहनीले भन्नुभयो, आगामी पुष मसान्तसम्म मागेको समय दिनुभयो भने काम गरेर सकाउँछौं ।’

तर सरकार भने उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने मनस्थितीमा पुगको छ । सडक विभाग मातहतको कालिगण्डकी करिडोर (गैँडाकोट–रामपुर–मालढुंगा) सडक योजना पाल्पाका सूचना अधिकारी अरुण केसीले कम्पनीले सोचेअनुसार काम नगरेकाले ठेक्का सम्झौता तोड्ने प्रक्रियामा पुगेको बताउनुभयो ।
‘समयमा काम नगरेकाले जवाफ माग्दा पनि चित्त बुझ्दो जवाफ आएन, सूचना अधिकारी केसीले भन्नुभयो, ‘पाँच वर्ष बितिसक्दा पनि भौतिक प्रगती ६१ प्रतिशत मात्र देखिएको छ । सामान चोरी भएकाले पुल नबनाएको बताए पनि कम्पनी आफै आर्थिक कारणले गर्न नसकेकोले आलटालको जवाफ दिइरहेको छ ।’

पुलको मात्र नभएर मुख्य समस्या पहिरोको हो । योजनाका सूचना अधिकारी केसीले पुल बनेपछि पहिरो रोकथामका लागि नयाँ बिकल्प खोज्ने बताउनु भएको छ भने पुल निर्माण कम्पनीले पहिले पहिरो रोकथामको काम भएपछि मात्र पुन बनाउने बताएको छ । कुन काम पहिले भन्ने बिबादले यात्रुले भने अझै सास्ती पानु पर्ने भएको छ ।

२०७५ साल मङ्सिर १७ गतेदेखि सुरु गरिएको कालीगण्डकी करिडोरको निर्माण कार्य २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने ठेक्का सम्झौता भए पनि कोरोनाका कारण भन्दै लम्बिएको थियो । तरंगा खोलाको पहिरो नियन्त्रण गरी पुल निर्माण गर्ने हो भने करिडोरको यात्रा सहज हुने स्थानीयको भनाइ छ ।

प्रकाशित : २०८१ वैशाख ७ गते ७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI